बिएल संवाददाता
नेपाल र चीनको सीमाना हुँदै भोटेकोशी नदीमा हालै गएको विनाशकारी बाढी तथा पहिरोको वैज्ञानिक अध्ययन गर्न चिनियाँ वैज्ञानिकहरूको टोली नेपाल आइपुगेको छ।
नेपाली वैज्ञानिकसँग मिलेर विपद्को स्रोत, विकासक्रम र प्रभावको स्थलगत अध्ययन गर्न चिनियाँ वैज्ञानिकहरू नेपाल आएका हुन्।
गत अगस्ट २६ मा नेपालको उत्तरी क्षेत्रमा हिमनदी भत्किँदा सुरु भएको हिमपहिरो तथा माटो–ढुंगाको बहाव सीमापार फैलिएको थियो। त्यसबाट चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको ग्यिरोङ बन्दरगाहसहित नेपालतर्फ १०० किलोमिटरभन्दा बढी क्षेत्रमा क्षति पुगेको थियो।
चीन युनिभर्सिटी अफ जियोसाइन्सेस (बेइजिङ)को नेतृत्व तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को सहकार्यमा संयुक्त वैज्ञानिक अभियान सञ्चालन हुन लागेको हो। अभियानमा नेपाल र चीनका १० भन्दा बढी विश्वविद्यालय तथा अनुसन्धान संस्थाका ५० भन्दा बढी वैज्ञानिक सहभागी छन्।
चिनियाँ वैज्ञानिक टोली आइतबार सिचुआन प्रान्तको छेन्दुबाट नेपालका लागि प्रस्थान गरी काठमाडौं आइपुगेको हो। करिब २० दिन सञ्चालन हुने अभियानमा नेपालको विपद्को स्रोत क्षेत्रदेखि चीनमा प्रभावित क्षेत्र तथा हिमालयबाट बग्ने नदी प्रणालीका तल्लो तटीय क्षेत्रसम्म अध्ययन गरिनेछ।
वैज्ञानिकहरूले ड्रोन, हेलिकोप्टर तथा स्थलगत भूगर्भीय नक्सांकन र नमुना संकलनमार्फत विपद्को क्रमिक विकासको अध्ययन गर्नेछन्। प्रारम्भिक हिम–चट्टान खस्ने घटनाबाट कसरी मलबे बहाव, मलबे बाढी हुँदै बाढीको रूप लियो भन्ने विषयमा वैज्ञानिक पुनर्निर्माण गरिनेछ। त्यसैगरी, विपद्को मार्गमा भएको भूक्षय, ढुंगा–माटोको बहाव, सञ्चय तथा नदी प्रणालीमा परेको प्रभावसमेत अध्ययन गरिनेछ।
विपद् सीमापार फैलिएकाले कुनै एक देशमा मात्रै गरिएको अध्ययनबाट यसको पूर्ण शृंखला पहिचान गर्न कठिन हुने वैज्ञानिकहरूको भनाइ छ। त्यसैले नेपालको स्रोत क्षेत्रमा गरिने संयुक्त स्थलगत अध्ययनले विपद्को सुरुवाती घटनादेखि चीनसम्म पुगेको प्रभावको समग्र शृंखला पहिचान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
अध्ययनबाट प्राप्त निष्कर्षले विपद्को वैज्ञानिक पुनर्निर्माणसँगै चीनको ग्यिरोङ बन्दरगाहको पुनःस्थापना तथा पुनर्निर्माणमा समेत वैज्ञानिक आधार उपलब्ध गराउने अपेक्षा गरिएको छ।
साथै, जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढ्दो विपद् जोखिम व्यवस्थापनका लागि समेत अध्ययन उपयोगी हुने बताइएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया