प्रदीप भट्टराई
अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले शपथ लिएका छन् । यसअघि ४५औँ राष्ट्रपतिको रूपमा पहिलो कार्यकाल पूरा गरेका ट्रम्पको यो दोस्रो कार्यकालका लागि शपथ हो । सन् २०२० को चुनावमा पराजित उनी २०२४ मा चुनाव जितेर पुनः राष्ट्रपतिमा फर्केका हुन् । यस्तो इतिहास बनाउने उनी दोस्रो अमेरिकी राष्ट्रपति हुन् ।
यसअघि स्टेफेन क्लिभल्याण्डको नाममा यस्तो अजीव–इतिहास बनेको थियो । सन् १८८५ मा अमेरिकाको २२औँ राष्ट्रपति भएका उनी सन् १८८९ मा पराजित भएर सन् १८९९३ मा २४औँ राष्ट्रपतिका रूपमा ह्वाइट हाउस फर्केका थिए । यो आजभन्दा १३२ वर्ष पहिलेको एक दुर्लभ घटना थियो । ट्रम्पले १३२ वर्षपछि त्यो दुर्लभ इतिहासको पुनरावृत्ति गराएका छन् ।
नेपाली कथनमा भन्दा ह्वाइट हाउसको ओभल अफिसमा १३२ वर्षपछि खोलो फर्किएको छ । यो खोलो वर्षाको भेल जस्तो देखिएको छ । यसले उसको वरिपरि भएका ‘राता’लाई आफूसँगै घिसारेको थियो नै, टाढा टाढा भएका ‘नीला’लाई पनि बगाएको छ । तर, यतिले नै हो यो भेल नदी भयो भन्न सकिने अवस्था छैन । यसको गति र चापको निरन्तरता र स्थायित्वले नै त्यसको निर्णय गर्नेछ । तर, अब के होला? कसो होला ? भन्ने चासो र चिन्ता भने बढेकै छ ।
यो चासो र चिन्ता अमेरिकामा त छ नै, बाँकी विश्व पनि यसबाट मुक्त छैन । यसको मूल कारण ट्रम्पको उग्र अमेरिकीवाद, चुनावी प्रतिबद्धता र सामान्यतः अनुमान र प्रक्षेपण नै गर्न नसकिने उनको स्वभाव हो ।
पहिलो दिनदेखि नै तानासाह हुन्छु भनेर घोषणा गरेका ट्रम्पले त्यसको छनक भने दिएका छन् । शपथ लिएको केही समयपछि नै एक सय भन्दा बढी कार्यकारी आदेश नै जारी गरे । यसबाट अमेरिकामा फेरि एकपटक कानूनको भन्दा पनि आदेशको शासन सुरु भयो । आदेशको शासन भनेको एक किसिमको तानासाही नै हो ।
लोकतन्त्रको आवरणमा अहिले विश्वको शासन व्यवस्था यही बाटो भएर अगाडि बढिरहेको छ । अझ ट्रम्प त अमेरिकी कंग्रेसका दुवै च्याम्बरमा बहुमतसहित ह्वाइट हाउस फर्केका हुन् । यसपटक उनले कलेज इलेक्ट्रल मतको बहुमत मात्र हैन, जनमतको पनि बहुमत जुटाएका छन् । प्रस्तुत पृष्ठभूमिमा स्वभावैले अतिवादी उनी एक निर्वाचित तानासाह हुनु अस्वाभाविक पनि हैन ।
अमेरिकामा ट्रम्पको दुन्दुभि बजेको बेला हो यो । अहिले उनीसँग टक्कर लिने सामथ्र्य कोहीसँग पनि छैन । नोभेम्बर ५ को आमनिर्वाचनमा भएको ठूलो पराजयले प्रतिपक्षी डेमोक्रेट पार्टीको शीर निहुरेको छ । उसले सानो स्वरमा बढीमा भन्ने भनेको ‘हेरौं कसरी पूरा हुँदारहेछन् चुनावी वाचा ?’ मात्रै हो ।
उसलाई लागेको होला, ट्रम्पले चुट्कीको भरमा समाधान गरिदिन्छु भनेका सारा समस्या समाधान हुँदैनन् । त्यसपछि जनतालाई भन्न सक्छ, हामीले त भनेकै थियौ, ‘ट्रम्प ढाँट हो । उसले चुनाव जित्नका लागि झुटो वाचा गरेको थियो ।’ यो क्रम बढ्दै जाँदा उसले खुच्चिङ पनि गर्न सक्छ । उसलाई त्यसको फाइदा सन् २०२२ मा हुने मध्यावधि चुनावमा हुन सक्छ ।
अमेरिकी मूलधारको मिडियालाई लिगेसी मिडिया भन्ने नयाँ नाम दिइएको छ । चुनावको बेला लगभग सबैजसो लिगेसी मिडिया ट्रम्पको विपक्षमा थियो । घोषणा गरेर होस् वा नगरेर धेरैले कमला ह्यारिसकै पक्ष लिएका थिए । तर, ट्रम्पले जिते । जो जित्छ, उही शिकन्दर हुने भएकाले हार्ने र उसको पक्षमा लाग्नेहरूको स्वर सानो वा बोल्ती नै बन्द हुने हो ।
अहिले अमेरिकाको लिगेसी मिडिया एक किसिमको नुन खाएको कुखुराजस्तो झोक्राएको अवस्थामा छ । अझ यो अवस्थालाई सातो हराएर लय नपक्रेको अवस्था पनि भन्न सकिन्छ । ट्रम्पले भनेकै थिए, ‘मेरो विरूद्धमा लाग्ने मिडिया अमेरिका र अमेरिकी जनताका शत्रु हुन् । उनीहरूसँग बदला लिइने छ ।‘ बुझ्नुपर्ने चुरो कुरो के हो भने मूलधारका मिडियाको बल र चारो दुवै पैसा हो । अहिलेको वैश्य युगमा पैसा भनेको बजार हो र बजार भनेको जनता ।
अहिलेको अमेरिकी जनतामा ट्रम्प ब्रान्डको एक छत्र छ । यस्तो अवस्थामा ट्रम्प देब्रे भए भने लिगेसी मिडियाको चारो नै नबच्न सक्छ । यस्तो अवस्थाबाट गुज्रिरहेका मिडियाहरूको प्रतिपक्षी भूमिका स्वतः निम्सरो हुन्छ । यद्यपि, सानै स्वरमा भए पनि उनीहरू अमेरिकी चरित्र, हित र जिम्मेवारीको कुरा भने गर्न छोडेको छैनन् ।
अहिले अमेरिकामा तनाव र अनिश्चितताको पारो ह्वात्तै बढेको छ । यो पारो बढाउन महँगी, बेरोजगारी त कारण थिए नै, त्योभन्दा पनि जब्बर कारणका रूपमा ट्रम्प थपिएका छन् । यसको असर दुवै कित्तामा छ । ट्रम्पवादीहरू सारा दाउहरू आफ्नो पक्षमा पल्टिन्छ भन्ने ठानिरहेका छन् । यो अव्यवहारिक अपेक्षाको एक एक गरेर बिस्तारै अवसान हुनेछ । त्यसले उनीहरूमा अर्कै किसिमको निराशा, हतासा र कुण्ठा जन्माउने छ । त्यसले के परिणाम दिन्छ ? अहिले नै भन्न सकिने अवस्था छैन ।
अर्कोतिर, ट्रम्प विरोधीहरूमा एक किसिमको भय र अनिश्चितता छ । त्यसको सबैभन्दा ठूलो निशानामा गहुँगोरो अनुहार भएका ‘ब्राउन फेस’ छन् । उनीहरू कुनै पनि बेला अपराधीका रूपमा करार भएर देश निकाला हुन सक्छन् । अमेरिकी नागरिकका रूपमा प्राप्त अङ्गीकृत नागरिकता समेत अध्ययनको विषय हुन सक्छ भनेर त्रासको खेती गरिएको छ ।
ट्रम्प.२ को नेपाल–प्रभाव
ट्रम्प.२ सुरु भएसँगै अमेरिका आएर यतै बस्ने सोच बनाएका नेपालीहरूको अमेरिकी सपनामाथि आकाश खसेको छ । उनीहरू अब अमेरिकी सपनाको ‘बाटो बन्द’ भएको ठानेर निराश छन् । माथिल्लो बाटो भएर आउनेहरू अमेरिका बस्ने सोच बदल्न बाध्य छन् ।
तल्लो बाटो त अब लगभग बन्द नै हुने भएकाले उनीहरूले अमेरिकी सपना नै देख्न छोड्नुपर्ने हुन्छ, छोड्नेछन् । यद्यपि, जसरी भए पनि अमेरिका पु¥याइन्छ, अमेरिका पुगेपछि सबै ठीक हुन्छ भनेर ठग्ने मानव तस्करहरूको जालमा सोझा साझा नेपाली पर्ने सम्भावना भन्ने निमिट्यान्ने हुने देखिँदैन ।
सरकारी कोणबाट हेर्दा, ट्रम्पको ध्यान बढी अमेरिकामै केन्द्रित हुँदा नेपालमा त्यति बढी अमेरिकी चलखेल नहुन सक्छ । तथाकथित अमेरिकी सपनाको सम्भावित भ्रूणहत्याले धेरै नेपालीले त्यो सपना देख्न छोड्छन् । परिणामस्वरूपः नेपालबाट भइरहेको बौद्धिक तथा पूँजी पलायनमा केही समयकै लागि भए पनि राम्रैसँग तगारो लाग्छ ।
यसैगरी, अर्को सकारात्मक पक्ष भनेको नेपालमा बढ्न सक्ने डलर रेमिट्यान्सको हो। अबको केही समय अमेरिकामा बस्ने सम्भावना सकिदैगएको वा बस्न असुरक्षित महसुस भएका नेपालीहरूले जतिसक्दो बढी पैसा नेपाल पठाउँछन् । अमेरिकी डलरको भाउले कीर्तिमान बनाएको बेला त्यसले नेपालको विदेशी मुद्राको सञ्चिती बढाउन सक्छ । तर, चनाखो हुनुपर्ने कुरा के छ भने त्यो पैसा धेरैजसो हुण्डी वा साटफेरको रूपमा मात्र नेपाल आउन सक्छ । त्यसो हुँदा नेपाली बजारमा मुद्रास्फीति बढ्न पनि सक्छ ।
यसका अतिरिक्त तल्लो बाटो बन्द हुँदा अमेरिका आउनेहरूलाई चर्को ब्याजमा ऋण लगाउनेहरूको गोरखधन्दा पनि बन्द हुने छ । अब त्यो पैसा बैंकिङ च्यानलमा आउने हुँदा त्यसबाट नेपाली अर्थतन्त्र अरू चलायमान हुन सक्छ । त्यसबाट पनि नेपाली अर्थतन्त्रमा सकारात्मक योगदान पुग्न सक्छ ।
ट्रम्प.२ ले नेपालमा सकारात्मक असर मात्र पार्दैन, केही नकारात्मक असर पनि पार्छ । ‘अमेरिका पहिलो’ नीतिका कारण बाँकी विश्व अमेरिकाका लागि दोस्रो हुन्छ । त्यो मेसोमा नेपाल पनि पर्छ । परिणामस्वरूपः नेपालले पाउँदै आएको अमेरिकी सहयोगराशीमा ठूलो मात्रामा कटौती हुन्छ । नेपालले निर्यातमा पाउँदै आएको भन्सार सुविधामा पनि कटौती हुन्छ । यसले अहिले अमेरिकासँग नाफामा रहेको व्यापार फेरि घाटामा जानेछ ।
ट्रम्पको अमेरिकी पहिलो नीतिका कारण अमेरिकी डलर अरू बलियो हुनेछ । यसले भारतीय रुपैयाँलाई बढी कमजोर बनाउँदा नेपाली रुपैयाँ पनि स्वतः कमजोर हुन्छ । त्यसले महँगो डलर तिरेर आयातमा आधारित अर्थतन्त्रमा टिकेको नेपाल अरू थप अप्ठ्यारोमा पर्छ । देशमा मुद्रास्फीति र महँगी अरू बढ्छ । यद्यपि, रेमिटेन्स बढ्ने हुँदा त्यसले केही राहत दिन सक्छ ।
स्तम्भको मैजारोमा…स्तम्भको मैजारो गर्दा यति भन्नैपर्ने हुन्छ, ट्रम्प.२ सुरु भएसँगै अमेरिका अर्को चार वर्ष विश्वभूमण्डीयकरणको लिकबाट बाहिरिने खतरा बढेको छ । त्यो भनेको अमेरिका कोरा राष्ट्रवादको नाममा एक्लिने हो । त्यसबाट अन्ततः अमेरिका अमेरिका जस्तो हुँदैन, ट्रम्पेरिका हुन्छ । यसो हुँदा त्यसको असर अमेरिका भित्र त पर्छ नै, त्यसको ट्रिकल डाउन संसारभर पर्छ । त्यही संसारको एउटा देश नेपालमा पनि त्यसको छिटो नपर्ने कुरै हुँदैन । छिटो कस्तो र कत्रो ?, त्यसको दिशा र दशा भने समयकै ऐनामा हेर्ने हो । बाँच्नपर्छ, बाँचे देखिन्छ ।
नेपाली डायस्पोरामा त्रास र अनिश्चितता
अमेरिकामा विभिन्न कागजी वा कागजविहीन अवस्थामा ठूलो सङ्ख्यामा नेपालीहरू रहेका छन् । कागजी अवस्था भन्नाले अङ्गीकृत नागरिकका रूपमा रहेका नेपाली–अमेरिकीहरू, स्थायी नेपाली नागरिककै रूपमा स्थायी बसोबास गरिरहेका ग्रीनकार्डवाहकहरू, कामदार भिसा, विद्यार्थी भिसालगायत अन्य भिसामा रहेकाहरू, अस्थायी बसोबासको सुविधा पाएका टीपीएसबाहकहरू र शरणका लागि आवेदन दिएर मुद्दाको प्रक्रियामा रहेकाहरू भन्ने बुझ्नुपर्छ ।
अनि, कागजविहीन भन्नाले कुनै पनि कानुनी कागज बिना अमेरिकामा लुकेर बस्ने खाँटी नेपालीहरू बुझ्नुपर्छ । यद्यपि, यस्तो खाँटी अवस्थाका नेपालीहरूको सङ्ख्या खासै उल्लेख्य छैन । तर, यो महत्त्वपूर्ण छ किनभने ट्रम्पको आँखाका कसिङ्गर नै यो वर्गका ‘ब्राउन फेस’ हुन् । त्यो ‘फेस’ हुनु नेपालीहरूको लागि अभिसाप नै हो ।
सबै ‘ब्राउन फेस’ नेपालीको मनोदशा उही हो । तर, सानो सङ्ख्यामा उग्र ट्रम्पवादी भएका नेपालीहरू भने मूतको न्यानो तापिरहेका छन् । उनीहरू आफूलाई कागजपत्रवाला खाँटी अमेरिकी ठान्छन् र त्यो अवस्थामा नभका नेपालीलाई सकभर पस्नै नदिने, अनि पसिसकेकालाई चाँहि गोर्खेलौरी लगाएर नेपाल पठाउनुपर्ने ठान्छन् ।
यसमा उनीहरूको तर्क छ, ‘आउरे भाउरे जस्तो पनि नेपाली अमेरिकामा आएपछि आफ्नो के महत्व भयो र?’ यसरी आफूलाई खाँटी अमेरिकी ठान्नेहरूले आफ्नो ब्राउन फेस परिवर्तन गर्न नसकिएको र त्यसको असर के हुन्छ भन्ने चाँहि हेक्का राखेका छैनन् ।
अझ गम्भीर कुरा त के छ भने ट्रम्प समावेशी (डिइआइए) सोचका घोर विरोधी हुन् । यसबाट ब्राउन फेस नेपालीले पाउँदै आएको सानो आरक्षण पनि गुम्ने छ । यसको प्रत्यक्ष प्रभाव सङ्घीय र राज्य स्तरमा प्राप्त हुने नोकरी, व्यवसाय र अन्य सुविधाहरूमा पर्छ ।
त्यसका बारेमा ट्रम्पवादीहरूलाई थाहा छैन नै, बाँकीलाई पनि मनग्य चेतना छैन । यस अतिरिक्त ट्रम्पको पक्षपोषण गर्ने अतिवादी क्रिश्चियनहरूका कारण अन्य धर्मको अभ्यास र गतिविधिमा पनि प्रभाव पर्छ । त्यसको छाया असर हिन्दू र वौद्ध धर्मवालम्वी नेपालीहरूले भोग्नुपर्छ । यी धर्मवालम्वीहरूले सामुदायिक केन्द्र निर्माण वा सञ्चालनका नाममा पाउँदै आएको सानो सुविधा पनि गुमाउँछन् ।
समग्रमा अमेरिकामा रहेका ‘ब्राउन फेस’ नेपालीहरू ट्रम्पकालमा अरू वर्णका अमेरिकीझैँ छाती खोलेर मानसिक रूपमै हामी अमेरिकी भन्न सक्ने अवस्थामा हुँदैनन् । व्यक्तिगत र व्यावसायिक रूपमा अरू बढी असुरक्षा महसुस हुने छ । फलतः उनीहरू थप अल्पसङ्ख्यक चुनौतीहरू भोग्न अभिसप्त हुनेछन् ।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया