प्रदीप भट्टराई
नेपालमा पनि ग्रेगरियन पात्रो पल्टियो । सन् २०२४ विदा भएर सन् २०२५ आयो । जनवरी १ लाई नयाँ वर्षको पहिलो दिनका रूपमा धुमधामसँग स्वागत गरियो । सरकारले यसलाई औपचारिकता नदिए पनि जनस्तरमा यसको प्रयोग बढ्दै गएको छ ।
यसको पछाडि भूमण्डलीकरणको प्रभाव त छँदै छ, देशमा बढ्दो क्रिस्तानिकरणको टिकल डाउन प्रभाव पनि मिसिएको छ । नयाँ पुस्ताका लागि क्रिशमश र लगत्तै आउने ग्रेगरियन नयाँ वर्षले टिकटक, रिल र इन्स्टाग्रामका लागि फोटो÷भिडियो–अपको ब्याक ड्रप दिन्छ । यसले पनि वैशाख १ माथि जनवरी १ को संस्कृति भारी हुँदै आएको हो ।
सन् २०२५ ले खाता खोलिसकेको यतिबेला पनि केपी शर्मा ओली नै नेपाली मिडिया कन्टेन्ट उत्पादनको अग्रपङ्क्तिमा छन् । ओलीले एमालेमा मच्चाएको कोतपर्व र त्यसले सिर्जना गरेको क्रिया–प्रतिक्रियाका कारण चर्चामा छन् । उनको ‘कंगारू कोर्ट’ले कारबाही गरेका भीम रावल, बिन्दा पाण्डे र उषा तिम्सेना पनि मिडिया कन्टेन्टका सह–उत्पादक बनेका छन् । यसैबीच, उनीहरूमाथि एमाले स्थायी समितिले गरेको कारबाही केन्द्रीय समितिले अनुमोदन गरेको छ ।
ओलीको यो कारबाहीलाई लिएर एमालेको सिंगो पार्टी पङ्क्ति नै तरङ्गित भएको छ । केन्द्रीय समितिको बैठकमै पनि विरोधको झिनो स्वर सुनिएको छ । पार्टीका तल्ला कमिटी र पार्टी पङ्क्तिबाट पनि यसरी एमाले बलियो नहुने भनाइहरू बाहिरिएका छन् ।
खासगरी पार्टीबाट निष्कासित एमाले नेता भीम रावलको गृहप्रदेश सुदूरपश्चिममा विरोधका अलि बाक्लै स्वरूहरू सुनिए । यसबाट एमाले पार्टीभित्र चिन्ता गर्ने र बाहिर विरोधीहरूलाई कुरा गर्ने विषय ‘टकिङ पोइन्ट’ मिलेको छ ।
कारबाहीपछि ओलीको आफ्नै पनि बैचैनी बढेको जस्तो देखिन्छ । त्यसको बलियो प्रमाण हो, विद्यादेवी भण्डारीसँगको लामो एकान्त बैठक । पार्टी सदस्यता नवीकरण गरेर एमालेमा फर्केकी पूर्व राष्ट्रपति भण्डारी ओलीको पछिल्लो रवैयाप्रति असन्तुष्ट भएको बताइन्छ । रावल–पाण्डे–तिम्सेना कारबाहीले त्यो असन्तुष्टि अरू चुलिएको छ । त्यही असन्तुष्टि सम्बोधन गर्न ओली भण्डारीकोमा गएको अनुमान गर्न गाह्रो छैन । यद्यपि, उनीहरूबिच भएको कुराकानीको खास विवरण बाहिर आएको छैन ।
पार्टी केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन नै नपढी बालुवाटार जान भनेर हिँडेका ओली सिधै भण्डारी निवास चण्डोल पुगेका थिए । पहिलो ढाँटेर गए, दोस्रो दुई घण्टाभन्दा बढी बिताए– यसले पनि मामला अलि गम्भीर नै रहेको संकेत गर्छ ।
यसै पनि, आगामी महाधिवेशनमा विद्यादेवी एमाले अध्यक्ष हुन चाहिरहेको एमालेभित्रकै बजार चर्चाले ओलीको कन्सिरी तताएकै छ । कम्तीमा अरू २० वर्ष पार्टी अध्यक्ष रहने घोषणा गरिसकेका ओलीलाई पनि राम्ररी थाहा छ कि, विद्यादेवी सजिलै पार लगाउन सकिने ‘खड्को’ हैनन् ।
बाहिरबाट हेर्दा आफैँले पार्टी उपाध्यक्ष र राष्ट्रपति बनाएकी विद्यादेवीको खड्कोसँग डराउनुपर्ने स्थितिमा ओली छैनन् । एमालेको तल्लो नभए पनि माथिल्लो नेतृत्वको लगभग ओमालेकरण भइसक्यो । पार्टीमा जो कोहीलाई पनि उठबस गराउने स्थिति छ ।
काँग्रेससँगको सात बुँदे वैतरणी तरेर लगभग दुई तिहाइको सरकार प्रमुख भएका छन् । सर्वोच्च अदालत, अख्तियार, निर्वाचन आयोग लगभग सबैतिर उनका जोजोम्यानहरू भर्ती छन् । सारा बिचौलियाहरू आफ्नो पछाडि फालिम लागिसके । पैसाको कुनै कमी छैन । जनतालाई सजिलै घाँस हाल्न सक्ने वाकपटुता पनि छ ।
तर, यी सबै भएर पनि ओली यति धेरै तन्नम, कमजोर र असुरक्षित यसअघि कहिल्यै भएका थिएनन् । यतिबेला उनी सर्वसाधारण जनताको आँखामा पूरै गिरेका छन् । विश्वसनीयताको पारो सबैभन्दा तल छ । यसबीचमा उनको छवि एक गफाडी जोकरको रूपमा बनेको छ ।
उनका कुरा कोही पनि पत्याउन तयार छैनन् । सामाजिक सञ्जालमा सबैभन्दा बढी गाली खाले र ट्रोल हुने उनै हुन् । गणतन्त्र आइसकेपछि चारपटक प्रधानमन्त्री भैसकेका ओलीले गणतन्त्र नै गन्हाउने बनाइसके ।
देशभित्रका कुनै पनि राजनीतिक दल उनलाई विश्वास गर्ने स्थितिमा छैनन् । हरेक दिन कसैलाई न कसैलाई तथानाम भनिरहेकै हुन्छन् । कुनै पनि राजनीतिक दल धोका खान बाँकी छैनन् । हरेक दिन उच्चपदस्थ कर्मचारी भेला पारेर निर्देशन दिए पनि कोही पालना गर्न तयार छैन ।
देशभित्र मात्र हैन, देशबाहिर पनि उनले विश्वसनीयता गुमाइसके । उनी सरकारको नेतृत्वमा पुग्दा छिमेकी देशहरू मुन्टो बटार्न थालेका छन् । टाढाका देशहरूलाई पनि उनको अनुहारले आकर्षण गर्न छोडिसक्यो । टाढै जानै पर्दैन, उनको कारण भारतसँगको सम्बन्ध अरू चिसिएको छ । मरिहत्ते गर्दा पनि न मोदीले उनलाई भारत भ्रमणको निम्तो दिए, न त भारतीय प्रधानमन्त्री मोदीलाई तीनपल्ट निम्तो दिँदा पनि आउने कार्यक्रम नै तय गरे ।
भारतलाई देखाउन निम्तो मागेरै चीन गएका उनको उत्तरतिरको भ्रमण पनि विगतका तुलनामा फिक्का रह्यो । अमेरिकामा मानव तस्करीका गर्न नक्कली भुटानी शरणार्थी प्रकरण सुरु गरेका ओलीले त्यसलाई निस्तेज पार्न सरकार बनाएको ठान्ने अमेरिकाका लागि ओली सफा अनुहार हैनन् । युरोपेली देशहरूका लागि त ओली समावेशी लोकतन्त्रप्रति नै विश्वास नभएका खलपात्र हुन् ।
ओली आफैँ पनि पछिल्लोसमय एमालेलाई चौतर्फी घेराबन्दीमा पारिएको बताइरहेका छन् । तर, यो किन र कसरी भयो ?, भनेर चाहिँ साँचो कुरा बताइरहेका छैनन् । साँचो कुरा के हो भने एमाले घेराबन्दीमा परेकै हो ।
यसपटक मात्र हैन, यसअघि संसद् विघटन गर्दा पनि घेराबन्दीमा परेकै हो । तर, यो सबै ओलीको धोकाधडी, एकलकाटेपन र उदण्ड स्वभावका कारण भएको हो । उनको यही पात्र र प्रवृत्ति रहने हो भने ओली त सकिन्छन् नै, उनीसँगै एमाले पनि सती जान्छ । आखिर कुनै न कुनै विन्दुमा त यो ओली अत्याचारविरुद्ध एमालेजनको पनि विवेकको बिर्को खोलिन्छ । त्यो दिन ओली इतिहासमा एक अभिसप्त पात्रको रूपमा दर्ज हुनेछन् ।
ओली ठाउँ नपाउँदा त कसैलाई छोड्दैनन्, ठाउँ पाउँदा त छोड्ने कुरै भएन । पछिल्लो समय ओलीको निशानामा रवि लामिछाने परे । केहीलाई रविलाई ओलीले अलि बढी नै गरेको जस्तो लागेको पनि हुन सक्छ । तर, यस्तो लागेको रविको निर्दोषताको कारणले हैन, केही कारण हुनसक्छ भने त्यो ओलीको अतिवादी प्रवृत्ति नै हो ।
त्यसो त, एक अमेरिकी नागरिककै रूपमा भिसा लिएर नेपाल गएका बेला नै नेपाल टेलिभिजनमा जागिर दिने ओलीले रविलाई उपप्रधान तथा गृहमन्त्री बनाउनसम्म ठूलै गुन लगाए । उनैको जोडबलमा रविले दोहोरो राहदानीको मुद्दाबाट उन्मुक्ति पनि पाए ।
यो पृष्ठभूमि हेर्दा ओली रविको लागि देब्रे थिए र भरसके भन्न सकिन्न । तर, ओलीको अतिवादी प्रवृत्तिका कारण केहीलाई ओली पूर्वाग्रही भएकै कारण रविमाथि कारबाही भएको लाग्न सक्छ । तर, स्थिति त्यस्तो हैन । रवि यो स्थितिमा पुग्न उनी स्वयं जिम्मेवार छन् । एक सामान्य नागरिक भएका भए रविले यतिबेलासम्म केही महिना हैन, केही वर्ष नै जेलमा कटाइसकेका हुन्थे ।
अन्तत: ओलीले दोहोर्याइकन भने, संविधान संशोधन २०८३ मा हैन, २०८७ मा हुन्छ। एमाले केन्द्रीय समितिको बैठकमा उनलाई यो सत्य ओकल्दा ओली सरकार ६ महिनाको भैसकेको थियो।धेरैलाई थाहा थियो, संविधान संशोधन एमाले-कांग्रेस सत्ता गठबन्धनको वहाना मात्र थियो।
संविधान संशोधनको कुरा
एमाले- कांग्रेस सत्ता गठबन्धनको लागि सातबुँदे सहमति बनाइएको थियो । सहमतिको पहिलो बुँदामा राष्ट्रिय सरकार गठन र दोस्रो बुँदामा संविधान संशोधन थियो । ओलीले पहिलो बुँदा त सरकार गठनकै दिन धोती लगाइदिएका थिए, दोस्रो बुँदा पनि एमाले केन्द्रीय समितिको बैठकको क्रममा धोती लगाइदिए । उनले अहिले संविधान संशोधन नहुने मात्र भनेनन्, २०८७ मा मात्र संविधान संशोधन हुने भनेर दोहोर्याइकन भने ।
ओलीलाई यो सत्य ओकल्न सरकारमा पुगेपछि पनि ६ महिना लाग्यो । यद्यपि, सत्य के थियो भने कांग्रेस-एमाले गठबन्धन संविधान संशोधनका लागि बनेकै थिएन । यो बन्नुको मूलकारण ओलीलाई गिरीबन्धु टीस्टेट जग्गा प्रकरण र आरजुलाई नक्कली भुटानी शरणार्थी प्रकरणबाट जोगाउनु थियो । सातबुँदे त सत्ताको बैतरणी तार्ने एउटा बहाना मात्र थियो । ओलीले टालाटुली बटुली गरेर सरकारको पक्षमा दुई तिहाई बहुमत जुटाए पनि त्यो संविधान संशोधनका लागि थिएन । साना दलहरू सम्भावित अर्को गठबन्धननमा नजाउन्जेल भनेर लगाइएको तगारो मात्र थियो ।
अहिलेको संविधानका प्रावधान चलाउन थाल्ने बित्तिकै राजनीतिक समीकरण नै भताभुङ्ग सुरु हुन्छ । त्यसको सुरूवात सत्ता गठबन्धनबाटै हुन्छ । एमाले र काँग्रेसको संस्थापन पक्ष अहिले संविधान व्यवस्था भएको शासकीय स्वरूप, समावेशी चरित्र र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने भनिरहेको छ । आफैँमा पेचिला यी विषयमा ती पार्टीहरूमा समेत एक मत छैन । अझ, विपक्षमा रहेका पार्टीहरू त सहमतिका लागि लगभग भेटै नहुने समानान्तर स्थितिमा छन् ।
अझ धेरै मानिसहरू त अहिलेको समस्या संविधान नभएर दलहरूको शीर्ष नेतृत्व हो भनिरहेका छन् । उनीहरूले तोकेरै तीन ठूला दल कांग्रेस, एमाले र माओवादीको तिनचुले सत्ता सिन्डिकेटकै कारण संविधानका सारा प्रावधानहरू कुँजे भएको आरोप लगाइरहेका छन् । संविधान अनुसार कानून निर्माण नै भएका छैनन्, अनि कसरी लागू हुन्छ संविधान ?, भनेर प्रश्न उठाउनेहरूको सङ्ख्या पनि ठूलो छ । यो त जनतालाई उल्लु बनाउने कुरामात्र हो ।
संविधानविद्हरू भन्छन्, संविधान भनेको तत्कालीन समयमा विद्यमान राज्यका शक्तिहरूको मोलतोलको दस्ताबेज हो । यसरी हेर्दा २०७२ सालमा जे जस्ता शक्तिहरू नेपालमा थिए र ऊनीहरूबिचको सन्तुलन थियो, अहिलेसम्म पनि त्यसमा खासै फरक आइसकेकै छैन ।
उनीहरूका दृष्टिकोण र अडानमा फरक आइसकेको छैन । धेरै कुरा गर्नै पर्दैन, कांग्रेस अहिले पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा छैन, माओवादी अहिले पनि प्रत्यक्ष कार्यकारी राष्ट्रपतिकै पक्षमा छ । पहिले जस्तै अहिले पनि एमालेको कुनै पक्ष नै छैन, अन्तमा ऊ काँग्रेसकै कित्तामा जाने हो । यिनै अडानका बीच त्यतिबेला सौदाबाजी गरेर संविधान बनेको थियो ।
संविधान आफैँमा साध्य हैन, साधन मात्र हो । यसलाई चलायमान बनाउने राज्यका सबै शक्ति र अङ्गहरूले आआफ्नो जिम्मेवारी र भूमिका निर्वाह नगरेपछि संविधानले काम गर्दैन, यो एक कागजको खोस्टो मात्र हुन्छ । अहिले नेपालमा भएको त्यही हो ।
खासगरी तीन ठूला दलका सुप्रिमोहरूले नेपालको संविधानलाई थाङ्नाको पुतली जस्तो बनाएका छन् । उनीहरू आफूलाई जिम्मेवार र जवाफदेही बनाउने कामकाजी संविधान बनाउनै चाहँदैनन् । अहिले उनीहरूले गरेको संशोधनको कुरा पनि सत्ता परिवर्तनको बहानाबाजी मात्र थियो । यो सरकार संविधान संशोधनका लागि बनेकै हैन, ओली–आरजुलाई गिरीबन्धु–नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल जानबाट जोगाउन बनेको हो ।
यद्यपि, संविधान संशोधनका नाममा ओलीले गफ दिइरहेकै छन्, देउवा प्रधानमन्त्री हुने उधारो आशामा मौन सहमति जनाइरहन्छन् । एमाले र काँग्रेसलाई विषयान्तर गरेर जनता अल्मल्याउने बहानाबाजी मिल्छ । केही प्रक्रियाहरू अगाडि बढ्लान् पनि । तर, अहिलेको विभाजित स्थितिमा शासकीय स्वरूप, समावेशी चरित्र र निर्वाचन प्रणाली जस्ता अहम् विषयमा सहमति भएर संविधान संशोधन होला भन्ने कुनै वाञ्छनीय आधार देखिँदैन ।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया