प्रदीप भट्टराई
नेपाली राजनीतिका पछिल्ला दुई कमजोर कडी हुन्- केपी ओली र आरजु देउबा । गिरीबन्धु टी स्टेटमा ओली र भुटानी शरणार्थी प्रकरणमा श्रीमती देउबा डामिने डिलमा पुगिसकेपछि यिनै दुई कमजोर कडीले दुक्की जुट बनाएर दुईमुखे सरकार बनाएका छन् । एउटा मुख उत्तरतिर फर्केको छ, अर्को मुख दक्षिणतिर । उत्तरतिर फर्केको एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री छन् भने दक्षिणतिर फर्केको कांग्रेस सभापतिकी श्रीमती आरजु देउवा परराष्ट्रमन्त्री । जुन सरकारको प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको राजनीतिक मुख नै दुईतिर फर्केको हुन्छ, त्यो सरकारको परराष्ट्र नीति एउटै हुन सक्दैन । अझ त्यसमा पनि यिनीहरूको मुख त परस्पर विरोधी देश र राज्य शक्तिहरूतिर फर्केको छ । यस्तो अवस्थामा उनीहरूको परराष्ट्र नीति र प्राथमिकता स्वभावतः फरक हुन्छ र परराष्ट्र नीतिको दिशा, गति र गन्तव्य पनि हुँदैन ।
यो दुईमुखे सरकार नेपालमा दुई ठूला राजनीतिक शक्तिहरू कांग्रेस र एमाले मिलेर बनेको हो । विचारका हिसाबले यो कुनै पाइन बिना जोडिएको कमजोर सरकार भए पनि अंक गणितका हिसाबले यो ज्यादै बलियो सरकार हो । भारत कहिले पनि नेपालमा शक्तिशाली सरकार देख्न चाहँदैन । अझ त्यसमाथि पनि नरेन्द्र मोदी त फुटेको आँखाले पनि नेपालमा शक्तिशाली सरकार देख्न चाहँदैनन् । भारतीय शासकहरूको चाहना नै नेपालमा उनीहरूको इशारामा नाच्ने कठपुतली सरकार बनाउने र त्यसबाट सिर्जित अस्थिरतामा खेल्ने र रमाउने हो ।
नेपालका राजनीतिक दल र उनीहरूले बनाउने सरकारलाई पनि भारतीय शासकहरूको त्यो अभिष्ट घाम जतिकै छर्लङ्ग छ । तर, उनीहरू त्यो कोर्स करेक्सन गर्नेतिर भन्दा पनि सजिलै प्रयोग हुने उम्मेद्वारी–प्रतिस्पर्धामा छन् । यो एक किसिमको बोल कबोल जस्तै छ । अर्थात्, उनीहरूको प्रतिस्पर्धा अप्ठ्यारो हुनेतिर हैन, सजिलो हुनेतिर छ । नेपालका तर्फबाट भारतलाई दिन सकिने ‘सामान’को सूची सानो छ । नगदीमा दिने भनेको रोजीछाडी जलविद्युत आयोजना हो भने उधारोमा दिने भनेको चीनतिर नफर्कने बाचा हो । यिनै दुईका लागि परस्परमा प्रतिस्पर्धा हुन्छ ।
भारतको यो अनिष्ट नेपालका बहुमत जनताका लागि प्रिय छैन । त्यसैले नेपालको आन्तरिक राजनीतिमा भारत विरोधी राष्ट्रवादको ठूलो बजार छ । सिधै भन्दा नेपालमा चुनाव जित्नका लागि भारतको विरोध गर्नुपर्छ तर सरकारमा पुग्न र टिक्न भारतको समर्थन अनिवार्य चाहिने परिस्थिति सिर्जना गरिएको छ ।
यो परिस्थिति भारतको चाहना भए पनि त्यो सिर्जना गर्ने पात्र र प्रवृत्ति चाहिँ नेपालकै राजनीतिक दल र तिनका नेताहरूले गरेका हुन् । त्यसमा पनि कम्युनिष्ट नेताहरूले त अतिरिक्त मात्रामै बल लगाएका छन् । दलको नाममा कम्युनिष्ट, इष्ट देवता मार्क्स–लेनिन–माओ, तीर्थस्थल चीन र मत आधार भारतविरोधी जनता भएपछि त्यसो गर्नु उनीहरूको एक किसिमको बाध्यता पनि हो ।
यो दिल्ली दौडमा सबैभन्दा धेरै समय खर्च गरेका नेपाली कम्युनिष्ट नेता हुन् ओली । यसका लागि उनले ‘रअ’का हाकिमहरूसँग राम्रै उठबस गर्नुपरेको थियो । यतिसम्म कि ओलीले प्रधानमन्त्री हुँदा प्रधानमन्त्री निवास बालुवाटारमा ‘रअ’का हाकिमका लागि मध्यरातमै रातो कार्पेट ओछ्याएका थिए । कुनै समय नेकपा (एमाले) को भारतीय कार्ड मानिने ओलीकै बलमा ‘राष्ट्रविरोधी’ भनिएको महाकाली सन्धि भएको थियो ।
तर, यति हुँदाहुँदै पनि नेपालमा ओलीको छवि भारत विरोधी Ps राष्ट्रवादीको छ । संविधान जारी भएको समयमा भारतले लगाएको भनिएको नाकाबन्दीको बेला उनी प्रधानमन्त्री थिए र त्यसविरूद्ध उभिनुपर्ने परिस्थिति सिर्जना भयो । फलतः उनी जे हैनन्, त्यही भएको छवि बन्यो । त्यही छवि जोगाउनका लागि उनी नेपालमा हुँदा उग्र भारत विरोधी र भारत जाँदा भारत प्रेमी बनिरहे ।
उनको यो दोहोरो चरित्रले केही समय मोदीको शंकाको सुविधा पाए पनि अब त्यो एक छली कुरा साबित भएको छ । र, उनी मोदीको ‘गुड बुक’बाट हटेका छन् । यतिसम्म कि ओलीलाई बालुवाटार छिराउने कांग्रेससँग पनि उनी खुसी छैनन् । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाइवालेलाई राखी बाधेकी आरजु परराष्ट्रमन्त्री भएकै कारण उनी ओली सरकारसँग काम चलाऊ व्यवहार गरिरहेका छन् ।
सामान्यतः नेपालमा प्रधानमन्त्रीले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्छन् । यो एक किसिमको सनातन जस्तै भएको छ । पछिल्लो समय यसको राजनीतिमा अर्थ पनि लगाउन थालेको छ । त्यो के भने नेपालको सरकार भारतले चाहेको रहेछ, यो सरकार केही समयसम्म चल्छ । साँच्चै भन्ने हो भने नेपालका प्रधानमन्त्रीको भारत भ्रमण सरकारको स्थायित्व परीक्षण गर्ने एक किसिमको लिटमस टेस्ट नै भएको छ ।
त्यसैले पनि नेपालका प्रधानमन्त्री चनाखो भएर भारत भ्रमणको निम्तो पर्खने, त्यसका लागि प्रयत्न गर्ने र केही समय लागे पनि भारतबाटै विदेश भ्रमण सुरु गर्ने गर्छन् । केही सीप लागेन भने मात्र अरू देशतिर लाग्छन् । त्यो पनि भरसक कुनै देशको औपचारिक भ्रमणभन्दा पनि राष्ट्र संघको महासभा वा अरू कुनै अन्तर्राष्ट्रिय निकायका बैठक हुने गर्छन् । अझ चीनको औपचारिक भ्रमण त गर्दै गर्दैनन् भने पनि हुन्छ ।
यसपटक प्रधानमन्त्री ओलीका लागि त्यही ‘लगभग नगर्ने’ खालको अप्ठ्यारो विकल्प रोज्नुपरेको छ । उनी मंसिर १७ गतेदेखि चीनको चार दिने औपचारिक भ्रमण गर्दै छन् । यो भ्रमणका लागि ओली–देउवाको निर्देशनमा आरजुले एजेण्डा तयार गर्दैछिन् । त्यसका लागि केही दिन अगाडि एउटा कार्यनिर्देश नै जारी भएको थियो । प्रधानमन्त्रीको भ्रमणका लागि सत्तारूढ दलका नेताको समेत लिखित निर्देशनमा परराष्ट्रमन्त्रीले भ्रमण योजना बनाउनुपर्ने अवाञ्छित परिस्थिति यसअघि कहिल्यै आएको थिएन । यसले पनि दुईमुखे सरकारको अप्ठ्यारो दर्शाउँछ ।
ओलीको यसपटकको चीन भ्रमणको केन्द्रमा बीआरआई थियो । तर, बीआरआई कसरी अगाडि बढाउने भन्ने विषयमा कांग्रेस र एमालेबीच नै सहमति नभएपछि यो विषय अब थन्को लागेजस्तो छ । कांग्रेस बीआरआईको नाममा अनुदान मात्र लिने अडानमा छ ।
कांग्रेसको यो अडान भनेको घुमाउरो पाराले भारत र अमेरिकालाई खुसी पार्ने प्रपञ्च हो । नत्र अरू देशको ऋण भने अलकत्र पाएजस्तै लिने कांग्रेसका लागि चीनको ऋण चाहिँ अछुत हुनुपर्ने वस्तुगण कारण छैन । बीआरआईप्रति ओली स्वभाविक रूपमा नरम छन् र अनुदान र ऋण दुवै लिने पक्षमा छन् । तर, यही कारण उनी भारतलाई चिढाएर सिंहदरबारबाट बाइबाइ हुन चाहँदैनन् ।
चीन ओलीको यो भ्रमणको मूल एजेण्डाबाट बीआरआईलाई किनारा लगाउन चाहँदैन । यदि नेपालले अनुदान मात्र स्विकार्ने कुरा गरेर चीनको चाहनामा चोट पु¥यायो भने चीनले यो भ्रमणमा चिसो पानी खन्याइदिने सम्भावना ह्वात्तै बढेर जान्छ ।
त्यसपछि भ्रमण सफल हुने त कुरै छोडौँ, यसपछि नेपाल र चीनबीचको सम्बन्धमै थप चिसोपन ल्याउन सक्छ । यसै पनि नेपालमा वाम धुवीकरण चाहने चीनलाई ओलीले पटक पटक वामपन्थी दलहरू फुटाएर निराश बनाइसकेका छन् । पछिल्लोपटक बनेको बाम सरकार हटाएर कांग्रेससँग बनाएको यो गठबन्धन सरकार पनि चीनको रोजाइ हैन ।
कांग्रेसका लागि यो गठबन्धनमा रहनु एक किसिमको बाध्यता मात्र हो । ऊ एमालेको स्थायी प्रतिद्वन्द्वी हो । २०८४ को चुनावमा ऊ एमालेसँगै आम्नेसाम्ने हुने हो । त्यसैले यो सरकारकी परराष्ट्रमन्त्री श्रीमती देउवाले अतिरिक्त मेहनत गरेर ओलीलाई सफल बनाउने सम्भावना नै रहँदैन । त्यसमा पनि उनी चीनलाई फुटेको आँखाले पनि देख्न नचाहने कित्ता र पृष्ठभूमिबाट आएकी हुन् । यी सारा साइनो र पृष्ठभूमिकी श्रीमती देउवाले बीआरआईमा अनुदान र ऋणको कित्ताकाट गरेर भाँजो हालेको पनि ओलीलाई असफल बनाउन नै हो । कांग्रेसमा एकछत्र भएकी उनले चाहने हो भने यो विषयलाई अर्को कोण पनि दिन सक्थिन् ।
कति प्रयास गर्दा पनि दक्षिणको निम्ता नपाएपछि उत्तर लागेका ओलीले चीन भ्रमण नगरेको भए पनि हुन्थ्यो । किनकि, पछिल्लो अवस्था हेर्दा यो भ्रमण ओली र उनको दल एमालेका लागि मात्र हैन, नेपाल र चीनबीचको सम्बन्धमा पनि अप्ठ्यारो पार्ने दिशातिर गइरहेको छ । ओलीले देउवालाई सजिलै बीआरआईका पक्षमा उभ्याएर आफ्नो चीन भ्रमणलाई सफल बनाउने र भ्रमणको निम्ता नदिने भारतलाई देखाउने ठानेका थिए ।
तर, उनले सोचेजस्तो भएन । एकपछि अर्को प्रतिकुलता सिर्जना हुँदै जाँदा ओलीका लागि अब यो भ्रमणलाई कसरी कम भन्दा कम खराब बनाएर सक्याउने भन्ने ध्याउन्न मात्र बचेको छ ।
प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री श्रीमती देउबा पछिल्लो राजनीतिका परिदृश्यका दुक्की जुट हुन् । गिरीबन्धु टी स्टेट र भुटानी शरणार्थी प्रकरणले बनाइदिएको यो दुक्की जुट अहिले चीन भ्रमणको तयारीमा छ।यो भ्रमण सुरू गर्नुअघि नै बीआरआई गिजोलिएको छ र यो एक फ्लप शो हुने सम्भावना बढेको छ।
यही बीचमा ओलीले सत्तारूढ दल कांग्रेसबाट त अपेक्षित सहयोग पाएनन् नै, प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डबाट पनि ठूलो प्रहार खप्नु प¥यो । उनले भारतको एक प्रमुख दैनिक हिन्दुलाई विशेष अन्तर्वार्ता दिँदै ओलीले चाइना कार्ड खेल्न चीनको भ्रमण गरेको बताइ दिए ।
देशको पूर्व प्रधानमन्त्री भैसकेका र प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका प्रचण्डले यस्तो अन्तर्वार्ता दिनु हुन्थ्यो कि हुँदैनथ्यो, त्यो बेग्लै प्रश्न हो । तर, प्रचण्डले भनेको चाहिँ सोह्रै आना सत्य हो । किनकि, यो भ्रमण ओलीले भ्रमणको निम्ता नदिने भारतलाई देखाउन वा दबाबमा ल्याउन खेलेको ‘चाइना कार्ड’ नै थियो । ओलीको यो कार्ड नांगेझार मात्र भएन, ढुस पनि भयो ।
नेपालीमा एउटा भनाइ नै छ, ‘लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ सात बल्ड्याङ’ । वाचाल ओलीले धेरै लाटाहरूलाई पटक पटक एक बल्ड्याङ लडाइरहेका थिए, यसपटक उनी आफैँ सात बल्ड्याङ हुने वाला छन् । यसअघि उनी आफैँ धामी आफैँ बोक्सी जस्ता थिए । उनी एउटा गर्थे र अर्को भाष्य बनाउँथे । उनको त्यो सबै चाल बिस्तारै नांगेझार भइसक्यो । उनले यस बीचमा सबैभन्दा बढी विश्वसनीयता गुमाइसकेका छन् । अरूको पनि विश्वसनीयता गुमेकाले उनी तैरिरहेका मात्र हुन् ।
अहिले ओली आफैले भनेजस्तै चौतर्फी घेराबन्दीमा छन् । देशभित्र माओवादी, रास्वपादेखि, बालेन हुँदै दुर्गा प्रसाई समेतले उनलाई छोडेका छैनन् । भारत त दाहिना थिएन नै, चीन पनि बायातिर सर्दैछ । यही बीचमा उनी एलन मस्कसँग भर्चुअल कुराकानीको अर्को चटकतिर लागेका छन् ।
उनले देखाउन खोजेको चटक चाहिँ अब ट्रम्प दाहिना हुनेवाला छन् भन्ने हो । यसबाट उनी चीन र भारतलाई आफू ट्रम्पसँग पहुँचमा पुगेको देखाउन चाहन्थे । यो कमजोर चटकले पनि उनी भ्रान्त भइरहेका छन् भन्ने देखाउँछ । यद्यपि, यो चटकको पनि मिडिया ट्रायल भइरहेकै छ । तर, यो ट्रायल बलुन उनको पक्षमा फुट्दैन भन्ने निश्चित छ ।
घुम्दै फिर्दै रूम्जाटार भनेझै, ओलीको आसन्न चीन भ्रमणबाटै बिट मारौं । उनको यो भ्रमणको दिन जति जति नजिकिदैछ, यो एक कोरा औपचारिकता मात्र हुने सङ्केतहरू बढ्दै छन् । प्रचण्डले भनेजस्तै भारतलाई देखाउन खेलिएको उनको यो चाइना कार्डको 'साइड शो' त भइसक्यो नै, ढुस हुने सम्भावना पनि बढ्दो छ । यदि त्यसो भयो भने उनको बालुवाटारको बसाइ पनि छोट्टिन सक्छ ।
वैचारिक हिसाबले नै परस्पर कित्तामा रहेका एमाले र कांग्रेसको दुईमुखे सरकार नेपालको राजनीतिक समस्या समाधानको ‘प्रेस्कृप्सन’ हैन । सही प्रेस्कृप्सन भनेको वैचारिक आधारमा दुई दलीय ध्रुवीकरण नै हो । ओलीको सेखी र ढिपी सकिएर जति छिट्टो उनको घैटामा घाम लाग्छ, त्यसपछि नेपाल त्यही बाटोमा हिड्ने छ । धेरै दल, कृत्रिम गठबन्धन र स्वतन्त्रको च्याँखे दाउ नेपालको राजनीतिक समाधान हैन, समस्या हो । यो सत्य जति जाँडो नेपाली जनताले बुझ्छन्, त्यति नै छिटो नेपाल समृद्ध र नेपाली सुखी हुने सही मार्गमा हुनेछन् ।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया