किर्ते दस्तखत गरी रकम झिक्ने विद्यालय सहयोगी पक्राउ
काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट किर्ते दस्तखतका आधारमा चेक साटेर रु चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन्। मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साटेर उक्त रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताए। विद्यालयको बैंक खाता प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको थियो। तर, विद्यालयले बैंकबाट नियमित रकम भुक्तानी लिने र चेकबुक लिने काममा कार्यालय सहयोगी मल्लिकलाई खटाउने गरेको थियो।
बिएल संवाददाता - झापा