सोमबार, ०८ जुन २०२६

‘पुस्तक: सोच फराकिलो बनाउने, जीवन बदल्ने साथी’

तेजन खड्का

तेजन खड्का

काठमाडौं
News Image
• • •

झापा बिर्तामोडकी लिला अनमोल नेपाली साहित्य आकाशमा चिरपरिचित नाम हुन्।

‘अनमोल’ साहित्य लेखनमा मात्र होइन, सञ्चार क्षेत्रमा पनि उत्तिकै क्रियाशील छिन्। बिर्तामोडमै बसोबास गर्दै साहित्यलाई मलजल गर्न उल्लेख्य भूमिका खेलिरहेकी उनले कविता संग्रह ‘बासुरी’, गजल संग्रह ‘दुख्छ’ र कविता संग्रह ‘अन्तिम कुमारी रात’ प्रकाशित गरेकी छन्। 

राष्ट्रिय कविता महोत्सव २०६७ मा प्रथमसहित विभिन्न पुरस्कार तथा सम्मानले सम्मानित भइसकेकी अनमोलसँग बीएल मिडियाका लागि पत्रकार तेजन खड्काले गरेको पुस्तक–अन्तर्वार्ता:

पछिल्लो पटक पढेर सकाएको पुस्तक कुन हो? अहिले के पढ्दै हुनुहुन्छ?

मैले भर्खरै सुशीला कार्कीले लेख्नु भएको आत्मकथा ‘न्याय’ पढेर सकेँ। उहाँको संघर्ष, मेहनत र अनुभव पढ्दा महिला सशक्तीकरणको आभास हुन्छ। त्यसैगरी जिद्दु कृष्णमूर्तिको Freedom from the Known पनि पढेँ। अहिले भने पारिजातको शिरीषको फूल पुनः पढ्दै छु। हरेक पटक पढ्दा यसमा नयाँ दार्शनिक पाटाहरू भेटिन्छन्।

तपाईंलाई मन पर्ने विधा? अध्ययन गर्ने समय, स्थान र वातावरणबारे बताइदिनुहोस् न।

मलाई विशेषगरी कविता र आख्यान (उपन्यास र कथा) तथा दर्शनका पुस्तकहरू मन पर्छन्। कविता र गजलमा पनि मेरो गहिरो रुचि छ। म प्रायः बिहानको समय वा राति सुत्नुअघि पढ्न रुचाउँछु। मलाई शान्त र एकान्त ठाउँ मन पर्छ– झ्यालको छेउमा बसेर, जहाँबाट अलिकति बाहिरी प्रकृति देखियोस्, त्यस्तो वातावरणमा डुबेर पढ्नुको मज्जा नै बेग्लै हुन्छ।

अध्ययनका लागि दैनिक कति समय छुट्याउनुहुन्छ?

लिला अनमोलः म दैनिक कम्तीमा १ देखि २ घण्टा पठनका लागि छुट्याउने प्रयास गर्छु। कामको व्यस्तता भए पनि सुत्नुअघि केही पृष्ठ नपढी चित्त बुझ्दैन।

तपाईंका प्रिय तीन पुस्तकका नाम? ती पुस्तक मन पर्ने कारण?

Freedom from the Known— यो दार्शनिक कृति हो। यसमा मनका बन्धन (डर, विश्वास, परम्परा) बाट कसरी मुक्त हुने भन्ने कुरा बुझ्न सकिन्छ। ‘साँचो स्वतन्त्रता’ के हो भन्ने आभास दिलाउँछ।

सुधिर शर्माको प्रयोगशाला— जहाँ बाह्य शक्तिहरू (भारत, चीन, अमेरिका आदि)ले आफ्नो प्रभाव परीक्षण गर्ने ठाउँजस्तो चित्रण गरिएको छ। राजनीतिक अस्थिरता, सत्ता संघर्ष, भूराजनीतिक दबाब र सचेत नागरिकको आवश्यकता यसले प्रस्ट्याउँछ।

हर्मन हेस्सेको Siddhartha— आत्म–खोज र आध्यात्मिक शान्तिको यात्रा बुझ्न यो पुस्तकले सधैं प्रेरित गर्छ।

पुस्तकले तपाईंको व्यक्तित्व र जीवनमा ल्याएको सबैभन्दा ठूलो परिवर्तन के हो?

पुस्तकले मलाई धैर्यवान र सहनशील बन्न सिकाएको छ। फरक–फरक परिवेशका पात्रहरू र तिनका संघर्ष पढ्दा अरूप्रतिको ‘समानुभूति’ बढ्छ। यसले मेरो सोच्ने दायरालाई फराकिलो बनाएको छ र जीवनलाई हेर्ने नयाँ दृष्टिकोण दिएको छ।

पुस्तक किन पढ्ने?

पुस्तक सूचनाको स्रोत मात्र होइन, यो मस्तिष्कको व्यायाम र आत्माको खुराक पनि हो। अरूको जीवनको अनुभवबाट सिक्न, आफ्नो कल्पनाशीलता बढाउन र आफूलाई अझ राम्रो मानिस बनाउन पुस्तक पढ्नु आवश्यक छ। यो यस्तो यात्रा हो, जहाँ नहिँडिकन पनि संसार घुम्न सकिन्छ।

डिजिटल युगमा पठन संस्कृति जोगाइराख्न के गर्नुपर्ला?

डिजिटल प्रविधिको विकास चुनौती मात्र होइन, अवसर पनि हो। पठन संस्कृति जोगाउन डिजिटल र भौतिक पुस्तकबीच सन्तुलन कायम गर्नुपर्छ। ई–बुक वा अडियो बुकलाई पनि पठनकै हिस्साको रूपमा स्वीकार्नुपर्छ। पढेका पुस्तकबारे छलफल गर्ने, बालबालिकालाई सानैदेखि प्रेरित गर्ने र पुस्तकालयलाई प्रविधिमैत्री तथा आकर्षक बनाउने जस्ता उपाय प्रभावकारी हुन्छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!