क्यानडामा ट्रयुडो फर्किए सत्तामा

सत्तामा फर्किएपछि मतदातालाई अभिवादन गर्दै ट्रयुडो साथमा श्रीमती । तस्बिर : एजेन्सी

क्यानडामा जस्टिन ट्रयुडो पुन: सत्तामा फर्किएका छन् । तर, यसपटक उनी पहिलेजस्तो बहुमतको सरकार हैन, अल्पमत सरकारको नेतृत्व गर्दै सरकारमा फर्केका हुन् । 

सोमबार सम्पन्न क्यानडाको ४३औं संघीय चुनावले त्रिशंकु संसद दिएको छ । यसअघि १८६ स्थान जितेर स्पष्ट बहुमतमा रहेको लिबरलले २९ स्थान गुमाएको छ । १५७ स्थानमा खुम्चिएको ट्रयुडोको पार्टी संसदमा सबैभन्दा ठूलो दल भएको छ  । 

यसैगरी प्रमुख प्रतिपक्षी कन्जरभेटिव पार्टीले २३ स्थान बढी जित्दै संसदमा १२१ स्थान पुर्याएको छ । तर, यो ठूलो सफलताले पनि उसलाई संसदको ठूलो दल बनाउन सकेन । यससपाली पनि उसले प्रतिपक्षमै बस्नुपर्ने भयो । 

क्षेत्रीय पार्टी ब्लक क्युबेकसियस अनपेक्षित सफलताका साथ तेस्रो स्थानमा आइपुगेको छ । उसले २२ स्थानमा थप सफलता हात पारेर संसदमा ३२ स्थान बनाएको छ । 

यसअघि तेस्रो स्थानमा रहेको न्यु डेमोक्रेटिक १८ स्थान गुमाउँदै २४ स्थानका साथ चौथो नम्बरमा पुगेको छ ।

यसपटक ग्रीन पार्टीले थप एक स्थान जित्दै जीतको संख्या ३ पुर्याएको छ । एक स्थान निर्दलीय उम्मेद्वारको पक्षमा गएको छ । 

पिपुल्स पार्टीको संसदीय खाता नै बन्द भएको छ । यस पार्टीका अध्यक्ष बर्नियरले आफ्नो परम्परागत सिट पनि गुमाएका छन् । 

प्रमुख पार्टीका सबै अध्यक्षले आआफ्नो जीत सुनिश्चित गरेका छन् । तर, लिबरल सरकारका कहेी महत्वपूर्ण मन्त्रीहरू पराजित भएका छन् ।

क्यानडाको ‘हाउस अफ कमन्स’मा १० प्रोभिन्सबाट ३३५ र तीन टेरिटोरीबाट एक/एक जना गरी ३३८ सांसद निर्वाचित हुन्छन् । बहुमतका लागि १७० स्थान आवश्यक पर्छ । यसअघि १८६ स्थानका साथ सत्तामा आइपुगेको ट्रयुडोको लिबरलले यसपटक १५७ स्थान मात्र जितेर ठूलो दल बन्न सक्यो ।

 

यो पनि पढ्नुहोस् 

क्यानडामा ट्रयुडो नै फर्कने प्रारम्भिक संकेत

क्यानडामा भोलि निर्वाचन : फर्केलान् त ट्र्युडो फेरि सत्तामा ?

क्यानडामा संघीय चुनाव : नेपालीभाषीको भोट कसलाई ?

क्यानडाको यसपटकको निर्वाचन परिणामले यहाँ पनि पुरातनवादी तथा क्षेत्रीयतावादी हावा चलेको संकेत मिलेको छ । कन्जरभेटिवले २३ स्थान  र ब्लक क्युबेकले २२ स्थान थप जित्नु त्यसैका प्रमाण हुन् । सिट संख्यामा दोस्रो भए पनि सबैभन्दा बढी मत कन्जरभेटिव पार्टीले पाएको छ । उसले ३४.४ प्रतिशत मत प्राप्त गर्दा सबैभन्दा धेरै संसदीय स्थान जितेको लिबरलले ३३.१ प्रतिशत मत मात्र जित्न सक्यो ।

क्यानडाको यसपटकको निर्वाचनमा दुई ठूला प्रोभिन्समा लिबरल बढारिएको छ । ३४ स्थान रहेको अल्वर्टामा ३३ स्थान कनर्जरभेटिवले जित्दा बाँकि १ स्थान पनि न्यू डेमोक्रेटकिले जितेको छ । यसअघि यस प्रोभिन्सबाट चारजना लिबरल चुनिएका थिए । यसपटक ती सबै स्थान गुमेका छन् । यसैगरी १४ स्थान रहेको सास्काचुनमा पनि पूरै कन्जरभेटिव भएको छ । यसअघि एक स्थानमा जित हात पारेको लिबरलले यसपटक त्यो स्थान पनि गुमायो ।

प्रकाशित मिति: : 2019-10-22 18:04:54

प्रतिकृया दिनुहोस्