तिहारमा देउसी भैलो लगायतका कार्यक्रमा सहभागिता हुँदा स्थानीय प्रशासनबाट अनुमति लिन गृह मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनबाट पाएको समयको परिपालन गरि देउसी भैलो खेल्न र उक्त कार्यक्रमलाई मनोरञ्जनको रुपमा मात्रै लिनको लागि आग्रह गरेको छ । कुनै पनि समूहबाट दबाबमूलक माग राख्ने, समयपूर्व नै पत्रचार गर्ने कार्य नगर्न समेत मन्त्रलायले अग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ 'नेपाली भाषा, धर्म संस्कृति र सभ्यतालाई बिकृत तुल्याई समाजमा नकारात्मक असर पार्ने खालको गीत, संगीत तथा श्रव्य–दृश्य सामग्रीहरुको उत्पादन, प्रशारण र बिक्रि बितरण समेत नगराउन सम्बन्धित सबैमा अनुरोध गर्दछौं । सो विपरीत कार्य कोही कसैले गरे प्रचलित कानून अनुसार कारवाही गर्ने व्यवस्था हुन मातहातका निकायलाई निर्देशन गरिएको छ ।'
तिहारको समयमा यात्रुलाई सहज हुनेगरी आवागमन, सुपथ मूल्यमा गुणस्तरयुक्त खाध्ययनको सहज उपलब्ध, शान्ति सुव्यवस्था र सुरक्षा गर्नका लागि मन्त्रालयले सबै निकायहरुलाई आवश्यकताअनुसार २४ औं घण्टा परिचालित हुन निर्देशन दिएको विज्ञप्तीमा जनाएको छ ।
सार्वजनिक विदाका दिनहरुमा समेत नियमित बजार अनुगमन भइरहने र यात्रुका लागि सहायता कक्षको समेत स्थापना गर्ने मन्त्रालयले जनाएको छ ।
प्रज्वलनशील पदार्थ प्रयोग र उत्पादनमा कडाइ
गृह मन्त्रालयले प्रज्वलनशील पदार्थ प्रयोग, आयात तथा उत्पादनमा पूर्ण प्रतिबन्ध लगाएको जनाउँदै यस्ता गतिविधि गरे कारवाही हुने जनाएको छ । दिपावली मनाउने क्रममा भूइँचम्पा, पटाका, आतिसबाजी जस्ता विष्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्य र सुरक्षामा प्रतिकूल असर पर्ने, घाइते हुने र आगलागी भएर जनधनको क्षति हुने भएकाले त्यस्ता विष्फोटक र प्रज्वलनशील पदार्थको उत्पादन, आयात, खरीद, बिक्रीवितरण नगर्न र नगराउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।
कसैले यस्तो गतिविधि गरेको पाइएमा कानून बमोजिम कारवाही हुने मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । कुनै गुनासो वा कानून विपरीतको कार्य भएमा नजिकको सुरक्षा निकायमा खबर गर्न आग्रह गर्दै मन्त्रालयले अनुचित फाइदाका लागि हुने अवाञ्छित गतिविधिको निगरानी भइरहेको उल्लेख गरेको छ । ठगी गर्ने, कानून मिच्ने, लागुऔषको प्रयोग, प्रतिबन्धित मदिराको अवैध बिक्री जस्ता गतिविधि गरेको पाइएमा कानून अनुसार कारवाही हुनेसमेत मन्त्रालयले जनाएको छ ।