नेपाल प्रहरीले सवारी दुर्घटनाबाट अङ्गभङ्ग मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुनसरीमा सवारी दुर्घटना गरेर फरार पिकअफ भ्यान सवारीका धनी तथा चालक ३३ वर्षीय अशोक कार्कीलाई आइतबार पक्राउ गरी आज जेल चलान गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले सुनसरी जिल्ला अदालतको फैसलाअनुसार पाँच वर्ष कैद सजाय र रु पाँच हजार जरिवानापछि फरार कार्कीलाई कोटेश्वरबाट पक्राउ गरिएको जानकारी दिए ।
कार्कीले बा १ च ८६१० नं को पिकअफ भ्यान चलाएका थिए । पक्राउ कार्कीलाई आज काठमाडौँ जिल्ला अदालतमार्फत जेल सजायका लागि सुन्धारा जेल पठाइएको ब्यूरोले जनाएको छ ।