राष्ट्रसङ्घका उपमहासचिव डा कनेम नेपालको दुईदिने औपचारिक भ्रमणमा

फाइल तस्बिर

संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोष (युएनएफपीए)का कार्यकारी निर्देशक तथा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव डा नतालिया कनेम नेपालको दुईदिने औपचारिक भ्रमणमा आएकी छिन् ।

सन् २०१७ मा युएनएफपीएको कार्यकारी निर्देशक पदमा नियुक्त भएकी डा कनेम पहिलोपटक नेपाल भ्रमणमा आएकी हुन्। उनका साथमा एशिया र प्रशान्तका लागि युएनएफपीएका क्षेत्रीय निर्देशक वियोन एण्डरसन र युएनएफपीएका चिफ अफ स्टाफ पियो स्मिथ पनि रहेका छन् ।

यस वर्ष युएनएफपीएको ५० औँ वार्षिकोत्सव तथा जनसङ्ख्या र विकाससम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (आइसीपिडी) को २५औँ वार्षिकोत्सव मनाइँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवसित कार्यकारी निर्देशक डा कनेमले छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।

साथै, कार्यकारी निर्देशक डा कनेमले नेपाल सरकारका उच्चपदस्थ अधिकृत, यहाँस्थित राष्ट्रसङ्घमा कार्यरत कर्मचारी, विकास साझेदारका प्रतिनिधिसँग अलग–अलग भेटवर्ता गर्नुहुने यहाँस्थित युएनएफपीएमा कार्यरत सञ्चार तथा पैरवी अधिकृत सन्तोष क्षेत्रीले जानकारी दिए ।

आइसीपिडी सम्मेलनमा नेपालले जनाएको प्रतिबद्धताको हालसम्म कार्यान्वयन, नेपालले यौन तथा प्रजनन स्वास्थ्य, शिशु तथा मातृमृत्युदर घटाउन गरेका प्रयास, परिवार व्यवस्थापन, परिवार नियोजनका साधनको पहुँच विस्तार क्षेत्रमा कुराकानी हुने जनाइएको छ ।

सन् १९७१ देखि नेपालले युएनएफपीएसित सहकार्य गर्दै आएको छ । यौन तथा प्रजनन स्वास्थ्य, परिवार नियोजनका साधन पुहँच पु¥याउन, किशोरी शिक्षा, बालविवाह तथा महिला हिंसा अन्त्य, जनसङ्ख्या व्यवस्थापनलगायतको क्षेत्रमा नेपाल सरकारलाई युएनएफपीएले आर्थिक एवं प्राविधिक सहयोग निरन्तर गर्दै आएको छ ।

प्रकाशित मिति: : 2019-10-20 13:04:40

प्रतिकृया दिनुहोस्