काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी अहिले म्यान्मारको राजकीय भ्रमणमा छिन्। राष्ट्रपतिको यो भ्रमणका लागि सरकारले नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज 'लुम्बिनी' चार्टर गरेको छ। चार्टर गरिएको विमान १५८ सिटे हो।
भ्रमण दलमा राष्ट्रपति भण्डारीसहित २४ जना यात्रु छन्। यो चार्टर उडान बैंककदेखि म्यान्मारका लागि गरिएको निगमले जनाएको छ। चार्टरपछि म्यान्मार पुगेको यो जहाज हिजै काठमाडौं फर्किसकेको निगम स्रोतले जानकारी दियो।
काठमाडौंदेखि बैंककसम्म भने यही जहाजमार्फत राष्ट्रपति सहितको टोली सेड्युल्ड फ्लाइटमै यात्रा गरेको निगम स्रोतले जनाएको छ।
निगमका अनुसार चार्टर उडानको दर जहाजको प्रकार र प्रति घण्टाको हिसाबले निर्धारण गरिँदै आएको छ। यसका लागि प्रति घण्टा ११ हजार पाँच सय डलर (करिब १४ लाख रुपैयाँ) खर्च लाग्छ।
निगमका अनुसार बैंकक-म्यान्मार उडान समय करिब सवा घण्टा(एक घण्टा १३ मिनेट)को रह्यो। निगमले दिएको भाडादरअनुसार एकतर्फी चार्टर उडान गर्दा करिब १६ लाख रुपैयाँ शूल्क लाग्ने देखिन्छ भने दुई तर्फी चार्टर उडान गर्दा करिब ३२ लाख रुपैयाँ शूल्क लाग्छ।