गैरआवासीय नेपाली संघ (एनआरएन)को नयाँ नेतृत्व चयनको लागि मतदान प्रक्रिया सम्पन्न भएको छ । मतदानमा २३५९ मत खसेको छ । करीब दुई हजार ४ सय मतदाता सहभागी थिए ।
बिहीबार बिहान १० बजेबाट हायत होटलमा मतदान प्रक्रिया सुरु भएको थियो । मतदान प्रक्रिया सकिएलगत्तै अहिले मुचुल्का उठाउने काम भइरहेको छ । करिब १ घण्टापछि मतगणना सुरु हुनेछ ।
बुधबार निर्धारित समय भन्दा करिब तीन घण्टा ढिलो बेलुका ८ बजे मतदान सुरु भएको केहीबेरमै कम्प्युटरमा समस्या आएको भन्दै मतदान स्थगित भएको थियो । त्यसपछि बिहीबार बिहान १० बजेबाट पुनः मतदान सुरु गरिएको थियो । भोटिङ मेसिनको सट्टा मतपत्र प्रयोग गरी मतदान गरिएको हो।
आगामी दुई वर्षका लागि कुमार पन्त र कुल आचार्यको प्यानल चुनावी मैदानमा उत्रिएका छन्। ४ जना उपाध्यक्ष पदका लागि ९ जनाको उम्मेदवारी परेको छ।
त्यस्तै महिला उपाध्यक्षमा सपिला राजभण्डारी र रविना थापा प्रतिस्पर्धामा छन्। महासचिवमा जानकी गुरुङ र हेमराज थापाको उम्मेदवारी परेको छ। दुई जना सचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ। कोषाध्यक्ष पदमा तीन जना प्रतिष्पर्धामा छन्। सोमनाथ सापकोटा, महेशकुमार श्रेष्ठ र सुदन थापाको कोषाध्यक्षमा उम्मेदवारी परेको छ।
महिला संयोजकमा प्रमिला खड्का बस्नेत, भोमादेवी लिम्बु र संगीता मरहट्टा उम्मेदवार छन्। युवा संयोजकमा हिमाल गुरुङ, स्वतन्त्रप्रताप थापा र सुदीप कार्कीबीच मतदान हुने भएको छ। अफ्रिकाको क्षेत्रीय संयोजकमा रोशन थापा निर्विरोध चयन भएका छन्। अफ्रिकाक्षेत्रको महिला संयोजकमा मनकला थापा विष्ट उम्मेदवारी छिन्।
बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् ।