लिओनल मेसी बार्सिलोनाका लागि च्याम्पियन्स लिग र कोपा डेल रेभन्दा ला लिगा अति महत्त्वपूर्ण रहेको बताएका छन् मेसीले घरेलु लिगमा राम्रो गरेपछि मात्र अरू प्रतियोगितामा सफलता हात पार्ने सम्भावना रहने बताए ।
उनले भने, ‘हामीलाई थाहा छ कि ला लिगा अति महत्वपूर्ण छ किनकि त्यसले नै हामीलाई च्याम्पियन्स लिग र स्पेनिस कपमा प्रतिस्पर्धी बनाउँछ ।’
ला लिगामा राम्रो गर्न नसक्दा च्याम्पियन्स लिगमा राम्रो गर्न कठिन हुने उनले बताए । ‘च्याम्पियन्स लिग हाम्रा लागि विशेष हो र हामी हरेक वर्ष जित्न चाहन्छौं ।’उनले भने,’ ‘यो सत्य हो कि हामी सधैं च्याम्पियन्स लिगबारे कुरा गर्छौं तर ला लिगा र स्पेनिस कपलाई बिर्सिएका छैनौं र हामी सबै उपाधि जित्न चाहन्छौं।’
यो सिजन बार्सिलोना ला लिगाको उपाधि लगातार तेस्रोपटक जित्न चाहन्छ । तर, खराब सुरुवात गरेको ऊ लिगको दोस्रो स्थानमा छ र लिडर रियल मड्रिडभन्दा तीन अकंले पछाडि छ ।
मेसीले बार्सिलानाबाट १० पटक ला लिगाको उपाधि जितेका छन् भने चारपटक च्याम्पियन्स लिग र र ६ पटक कोपा डेल रेको उपाधि उचालेका छन् युरोपमा भने बार्सिलोनाले पछिल्लोपटक २०१५ मा च्याम्पियन्स लिगको उपाधि उचालेको थियो ।
त्यसपछि फाइनलमा पुग्न सकेको छैन । गत सिजन सेमिफाइनलको पहिला लेगमा ३–० को अग्रता लिएको बार्सिलोना दोस्रो लेगमा लिभरपुलसँग ४–३ ले पराजित भयो ।यो सिजन समूह चरणमा बोरुसिया डर्टमुण्डसँग गोलरहित बराबरी खेलेको उसले इन्टर मिलानलाई २–१ ले हरायो र ४ अंकका साथ समूह एफको दोस्रो स्थानमा छ ।