राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट हेलिकोप्टर चढेर विमानस्थल पुगेकी छन् ।म्यानमारका समकक्षी विन मिन्टको निमन्त्रणामा म्यानमार जान लागेकी राष्ट्रपति भण्डारी बिहान ११ बजे हेलिकोप्टरमार्फत विमानस्थलमा उत्रिएर त्यसतर्फ प्रस्थान गरेकी छन् ।
यसअघि सडक मार्ग भएर विमानस्थल जाने गरेकी राष्ट्रपति भण्डारी म्यानमार जाने क्रममा बुधबार बिहान हेलिकोप्टरमार्फत विमानस्थल पुगेकी हुन् ।
त्यसअघि ९ बजेर ४० मिनेटदेखि १० बजेर ४० मिनेटसम्म शिवपुरी, बालुवाटार, नक्साल भगवती, ज्ञानेश्वर, रातोपुल, गौशालालगायतका ठाउँमा राष्ट्रपतिको सवारी हुने भन्दै बाटो खाली गरिएको थियो ।
यता राष्ट्रपति भण्डारीको सुरक्षालाई मध्यनगर गर्दै बिहान १० बजेर २० मिनेटदेखि १० बजेर ५० मिनेटसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान तथा अवतरण बन्द गराइएको थियो।सडक मार्ग नभएर राष्ट्रपति किन हेलिकोप्टरमार्फत विमानस्थल गइन् भन्नेबारे राष्ट्रपति निवासले केही बताएको छैन ।
म्यानमार रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नाका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्ने जनाइएको छ । यङ्गोनमा राष्ट्रपति भण्डारीले ऐतिहासिक एवं सांस्कृतिक महत्त्वका स्थानको भ्रमण गर्नेछिन् ।
राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहने मन्त्रालयबाट सोमबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपतिको प्रतिनिधिमण्डल बुधबार बिहान नेपाल एयरलायन्सबाट बैंकक हुँदै म्यानमारको राजधानी नेपित पुग्नेछ ।