जोर्डनसँग फेरि हार्‍यो नेपाल !

फाइल तस्बिर

विश्वकप छनोट २०२२ अन्तर्गत चौंथो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

जोर्डनको घरेलु मैदानमा मंगलबार भएको समूह बी अन्तरगतको खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको हो ।  पहिलो हाफ घरेलु टोलीसँग गोलरहित बराबरी खेलेको नेपालले खेलको ५६ औं मिनेटमा गोल खायो ।

नेपालका डिफेन्डर दिनेश राजवंशीले जोर्डनका खेलाडीलाई डिबक्समा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । जसमा जोर्डनका फेरास शेल्बाइहले गोल गरे ।

यस्तै नेपालले दोस्रो गोल ७७ औं मिनेटमा खायो । उसका लागि अहमेद अल इर्सानले चिप गोल गर्दै अग्रता २–० बनाए।

त्यसपछि खेलको ८८ औं मिनेटमा जोर्डनले अग्रता ३–० बनायो । जोर्डनको लागि  बाहा फैसलले तेस्रो गोल गरे ।

नेपाललाई हराएसँगै जोर्डनले ३ खेलमा ७ अंक जोडेको छ । जोर्डन समूहको दोस्रो स्थानमा छ । अंक तालिकामा अष्ट्रेलिया शीर्ष स्थानमा छ ।अष्ट्रेलियाले ३ खेलमा ३ जितसहित ९ अंक जोडेको छ ।

४ खेलमा ३ अंक जोडेको नेपाल अंक तालिकाको चौंथो स्थानमा छ ।तीन खेलमा पराजित ताइपे अंक विहिन रहदै पुछारमा रहेको छ ।

प्रकाशित मिति: : 2019-10-15 23:41:11

प्रतिकृया दिनुहोस्