बीएल ब्रेकिङः विप्लवका कमाण्डर ओलीको ल्यापटप र डायरीमा के छ?

तस्बिरः बिएल

विप्लव समूहका मध्यब्यूरो कमाण्डर हेमन्तप्रकाश ओली 'सुर्दशन'का साथबाट प्रहरीले पार्टीको गोप्य दस्तावेज बरामद गरेको छ। उनी शनिबार बिहान काभ्रेको खानीखोला- ७ मिल्चेबाट पक्राउ परेका हुन्। उनीसँगै अन्य ८ जना सहकर्मी पनि पक्राउ परेका छन्।

उनीहरूलाई पक्राउ गर्न महानगरीय अपराध महाशाखा र प्रहरीको विशेष ब्यूरोले संयुक्तरूपमा अप्रेशन जारी राखेको थियो।

उनीहरूलाई पक्राउ गर्नुअघि चैत ४ र ५ गते गरी ओलीका सहयोगी नुर बिकलगायत ४ जना काभ्रे र भक्तपुरबाट पक्राउ परेका थिए।

उनीहरूको बयान र टेलिफोन ट्रयाकका आधारमा प्रहरीले ओली काभ्रेमै रहेको अनुमान गर्दै अप्रेशन जारी राखेको थियो।

प्रहरी स्रोतका अनुसार ओलीबाट बरामद भएको ल्यापटप र डायरीमा पार्टीका महत्वपूर्ण जस्तावेज र भावी कार्ययोजना फेला परेको छ।

‘ओलीले धेरै बोलेका छैनन्, तर उनीबाट बरामद भएको ल्यापटप र डायरीमा फेला परेको दस्तावेजले धेरै कुरा खुलाएको छ’, प्रहरी उच्च स्रोतले बीएलसँग भन्यो।

स्रोतका अनुसार बरामद ल्यापटपमा पार्टीका भावी रणनीतिबारे दस्तावेज र पार्टीले गरेका र गर्न बाँकी रहेका कामहरुको बिवरणलगायत फोटो,भिडियो र केही कार्ययोजना छन्।

स्रोतले भन्यो,‘ल्यापटप मात्र होइन दुईवटा डायरी फेला परेका छन् त्यसमा केही महत्वपूर्ण कुरा छन्। जुन कुरा उनी धेरै नबोले पनि प्रमाणले बोलेजस्तै हो।’

स्रोतका अनुसार फेला परेको डायरीमा पार्टीले गर्ने कार्य र दैनिक हिसाव कितावसमेत राखिएको छ।

डायरीमा प्रचण्डलगायत तत्कालिन माओवादीले जनातालाई धोका दिएको र जनतालाई त्यो कुराको जानकारी गराउनेजस्ता उल्लेख छन्।

त्यसैगरी डायरीमा पूर्वमाओवादी लडाकु र प्रचण्डबाट रूष्ट बनेका नेता कार्यकर्ता र पूर्वजनमुक्ति सेनालाई पार्टीमा समावेस गराउने त्यसका लागि के कस्तो कदम चाल्ने भन्ने बारेमा उल्लेख छ ।

सरकारले पार्टीलाई दबाउन खोजे त्यसको प्रतिकार गर्ने र त्यसका लागि के-कस्ता रणनीति बनाएर अघि बढ्ने भन्ने जस्ता बुँदा पनि प्रहरीले बरामद गरेका डायरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ।

कमरेड सुदर्शनलाई ४ मुद्दा

शनिबार काभ्रेबाट पक्राउ परेका मध्यब्यूरो कमाण्डर ओलीसहित  ९ जनालाई प्रहरीले ४ वटा मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

उनीहरूलाई हातहतियार तथा खरखजना, विष्फोटक पदार्थ, राज्यविरुद्ध र कर्तव्य ज्यानमा मुद्दा चलाएर अनुन्धान अघि बढाएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए।

उनीहरुलाई ८ दिन थुनामा राखी अनुसन्धान अघि बढाउन जिल्ला अदालत लतितपुरले प्रहरीलाई अनुमति दिएको छ।

प्रकाशित मिति: : 2019-03-24 23:35:13

प्रतिकृया दिनुहोस्