नेपाली कांग्रेसका निलम्बित सांसद अफ्ताव आलममाथि थप अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ।
जिल्ला अदालत रौतहटका ५ नम्बर न्यायधिश चित्रबहादुर गुरुङको एकल इजलासले सात दिनको म्याद थप गरेको हो।बम विस्फोटमा परेका घाइतेहरूलाई इँटाभट्टामा जलाएर मारेको आरोपमा पूर्वमन्त्री आलम १२ वर्षअघिको घटनामा दोस्रो पटक आइतबार पक्राउ परेका थिए।
राजनीतिक संरक्षणका आधारमा ‘मुद्दा नचल्ने’ भनी महान्यायाधिवक्ता कार्यालयले गरेको त्यति बेलाको निर्णय उल्ट्याउनु र अनुसन्धान गर्नु भनी सर्वोच्च अदालतले आदेश दिएकोसमेत झन्डै साढे सात वर्षपछि उनलाई प्रहरीले पक्रेको हो ।
संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते आलमका काका पूर्वमन्त्री शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो । आलम त्यति बेला रौतहट–२ मा कांग्रेसका तर्फबाट उम्मेदवार थिए । राजपुरफरहदवाको वडा ४ स्थित आलमको घरछेवैको इद्रिसको घरमा विस्फोट हुँदा केही युवा घाइते भएका थिए ।
‘घटना सार्वजनिक हुने डरले आलमले सहयोगीसँग मिली बम विस्फोटका घाइतेलाई नजिकको इँटाभट्टाको आगोमा हाली जलाए,’ प्रत्यक्षदर्शीले बयानमा भनेका छन् । मिसिलअनुसार स्थानीय व्यक्ति र घटनाका प्रत्यक्षदर्शीले ‘आगोमा हाली जलाएर आततायी किसिमबाट कर्तव्य गरी हत्या गरेको’ बताएका थिए । आलमकै कारिन्दा शेख भदैईले नारायणसिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई आलमको घर लगेका थिए ।
अरू युवा पनि त्यसरी नै बोलाइएका थिए । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले निवेदक नारायणसिंह र विपक्षी महान्यायाधिवक्ताको कार्यालयसमेत भएको २०६५ सालको ३८ नम्बरको उत्प्रेषण रिट निवेदनमा २०६९ जेठ १६ मा भएको आदेश कार्यान्वयन भयो भएन भनी जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको थियो ।