राष्ट्रपति सी सवार हुने रुटमा दिउँसो १ बजेदेखि राति ९ बजेसम्म पैदल यात्रु बाहेक अरुलाई रोक

बिएल

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ शनिबार दिउँसो नेपाल आउँदै आउँदैछन्। २३ वर्षपछि चीनबाट हुन लागेको राष्ट्रपति भ्रमणलाई नेपालले उच्च प्राथमिक्तामा राखेको छ।यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए ।

सीको स्वागतका लागि नेपाल सरकारले भव्य तयारी गरेको छ । सीको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल पुग्नेछन् ।सी शनिबार अपराह्न ०४ः३०–०५ः३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्रिभुवन विमानस्थलमै सीको स्वागतमा नेपाली सेनाले २१ तोपको सलामी दिइने छ । यसअघि राजकीय भ्रमणमा आउने विशिष्ठ पाहुनालाई टुँडिखेलमा सलामी दिइने गरिएपनि यसपटक सुरक्षाका कारण त्रिभुवन विमानस्थल मै दिइन लागिएको हो ।

सी विमानस्थलबाट होटल सोल्टी जानेछन् । त्यसपछि शीतल निवासमा भेटवार्ता हुनेछ । काठमाडौं प्रहरीका अनुसार, सीको सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गरिनेछ भने सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइनेछ ।सार्वजनिक यातायातका साधनलाई पनि दिउँसो १ बजेदेखि राति ९ बजेसम्म सी सवार हुने रुटमा सञ्चालन नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सीको भ्रमण हुने रुटको निरीक्षण गरेका छन् । प्रधानमन्त्रीले त्रिभुवन विमानस्थलदेखि सोल्टीमोर्डसम्मकै सडकको निरीक्षणसहित सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।

केहि अप्रिय घटना हुनसक्ने अवस्थालाई मध्यनगर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।सीको नेपाल भ्रमणमा सुरक्षाका लागि भनेर ५० जना चिनियाँ सुरक्षाकर्मी काठमाडौं आइसकेका छन्।

 

प्रकाशित मिति: : 2019-10-12 11:48:52

प्रतिकृया दिनुहोस्