आएन है, आएन। छोरा आएन...।
बारम्बार टाउको हल्लाएर यसै बक्बकाइरहेकी थिइन्।
जो आउँछ सायद आफ्नै सन्तान हो कि भन्ने लाग्दो हो उनलाई।
त्यसैले त ‘आएन... आएन’ है भन्दिहुन् बारम्बार।
स्कार्फले टाउको छोपी सल ओडेकी उनलाई हेर्दा लाग्थ्यो सन्तानको मायाले छटपटाइरहेकी छिन्। सन्तान आउने आशा पालेर बसेकी छिन्।
उनका आँखा गेटतिरै थिए। केही भन्न खोजेरहेकी थिइन्। त्यो भन्दा उनीसँग अर्को कुनै शब्द नै थिएन। बस, उनका आँखाले कसैलाई खोजिरहेका थिए। कसैलाई बोलाइरहेका थिए।
आएन है भन्दा एक मनले म आएँ आमा भन्न मन लागेको थियो। तर, हिम्मत आएन। उनको आँखामा आँखा जुधाउन सकिनँ।
म अर्को पट्टी फर्किएँ, अर्को गेटबाट भित्र छिरें। उनले के सोचिन सायद उनैलाई थाहा होला।