पर्वतका अनिश थापा चौंथो पटक बने लिगलिगेका राजा

बिएल

पर्वतका अनिश थापा चौंथो पटक दशौं लिगलिगे दौड जिते राजा बन्न सफल भएका छन्। उनी चेपे र मर्स्याङ्दीको दोभानबाट लिगलिगकोटसम्मको १३.८ किलोमिटर दुरी ५७.५५ मिनेटमा पार गर्दै थापा लिगलिगे दौड जितेर लिगलिगे राजा बन्न सफल भएका हुन्।

सोही दुरी १ घण्टा एक मिनेट ८ सेकेण्डमा पार गरी डोटी जिल्लाका खगेन्द्रबहादुर भाट दोस्रो बन्न सफल भएका छन्। एकघण्टा एक मिनेट ३४ सेकेण्डमा पार गरी लम्जुङका रामजी बस्नेत तेस्रो भएका छन्। निर्धारित दुरी एकघण्टा दुई मिनेट २२ सेकेण्डमा पार गरी सन्दीप ढकाल चौथो बन्न सफल भएका छन्।

लिगलिगे दौडमा प्रथम हुनेलाई यस वर्षदेखि एक दिनका लागि लिगलिगे राजाका साथै एकवर्षका लागि पालुङ्टार नगरपालिकाको सद्भावना दूत पनि घोषणा गरिने भएको छ। बिहीबार एक समारोहको आयोजना गरी दसौं लिगलिगे राजा र पहिलो सद्भावना दूत घोषणा गर्ने कार्यक्रम रहेको पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुनेलाई राष्ट्रिय सभाका प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले ६० हजार १ सय रुपैयाँ, लिगलिगे राजाको र पालुङ्टार नगरपालिकाको सद्भावना दूतको दर्जा, श्रीपेच, पगरीमा सजाउने, मेडल र प्रमाणपत्र पुरस्कार दिइने कार्यक्रम रहेको मेयर कँडेलले जानकारी दिए। साथै उनलाई राजकीय सम्मानका साथ पालुङटार नगर परिक्रमा गराइने कार्यक्रम रहेको उनले बताए।

यस्तै, दोस्रो हुनेलाई ३५ हजार १ सय रुपैयाँ, तेस्रो हुनेलाई २५ हजार १ सय रुपैयाँ, चौथो हुनेलाई १५ हजार र पाँचौ हुनेलाई १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा छैठौं हुनेलाई सात हजार, सातौं हुनेलाई पाँच हजार, आठौं हुनेलाई चार हजार, नवौं हुनेलाई तीन हजार र दशौं हुनेलाई नगद दुई हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार दिइने आयोजकले जनाएको छ।

सबै पुरस्कारको व्यवस्था नेपाली सेनाले गरेको रणसिँह दल गणका प्रमुख सेनानी उज्ज्वल केशीले जानकारी दिए।

प्रकाशित मिति: : 2019-10-03 11:56:47

प्रतिकृया दिनुहोस्