सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालको उपाधि जित्ने सम्भावना सकिएको छ । नेपाल र घरेलु टिम सिंगापुरबीच बुधबारको खेल वर्षाका कारण रद्ध भएपछि नेपाल उपाधि होडबाट बाहिरिएको हो । वर्षाले गर्दा नेपाल र सिंगापुरबीचको खेल टस समेत नभई रद्ध भएको थियो ।
बराबरीसँगै नेपाल र सिंगापुरले एक एक अंक बाडेका छन् । नेपालले चार खेलबाट तीन अंक बनाएको छ । यस सिरिजअन्तर्गत यसअघि सम्पन्न पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै सिंगापुरलाई नौ विकेटले पराजित गरेको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल जिम्बाब्वेसँग ४० रनले पराजित भयो ।
अन्तिम खेल खेल्नुअघि सिरिजमा जिम्बावे चार अंक र सिंगापुरले तीन अंक बनाएको छ । बिहिबार हुने यी दुई टोली बीचको विजेताले उपाधि जित्नेछ ।