क्रान्तिका नाममा परम्परागत पहिचान र रीतिरिवाजलाई तोड्न हुँदैन: उपप्रधानमन्त्री पोखरेल

फाइल तस्बिर

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सांस्कृतिक क्रान्तिका नाममा परम्परागत पहिचान र रीतिरिवाजलाई तोड्न नहुने बताएका छन्।

विजया दशमीका अवसरमा हाँडीगाउँमा त्रिशक्ति युवा क्लबले आज आयोजना गरेको दुर्गा पूजा समारोहमा उपप्रधानमन्त्री पोखरेलले कसैले पनि कसैको आस्था र विश्वासमा प्रहार गर्ने काम गर्न नहुने बताए ।

उपप्रधानमन्त्री पोखरेलले भने, “मानिसको आस्था र विश्वासको सम्मान गर्नुपर्छ । धर्म, संस्कृति हाम्रा पुर्खाको देन हो, त्यसको संरक्षण गर्नु हाम्रो दायित्व हो ।”

पूर्वअर्थमन्त्री रामशरण महतले समाजको सांस्कृतिक परम्परा जोगाउन क्लबले गरेको प्रयास धेरैका लागि अनुकरणयोग्य भएको बताउनुभयो । हाम्रो परम्परागत धर्म, संस्कृति पनि समृद्धि र पहिचानका आधार रहेको उल्लेख गर्दै उहाँले सरकारले पनि यसबारे अलि गम्भीर हुनुपर्दछ भन्नुभयो । साहित्यकार रोचक घिमिरेले हाँडीगाउँ संस्कृति र धार्मिक परम्पराले समृद्ध रहेको बताए ।

प्रकाशित मिति: : 2019-10-02 22:19:15

प्रतिकृया दिनुहोस्