निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी रोशनी शाहीले आफू ‘डिप्रेसन’को विरामी भएको भन्दै प्रहरीमा निवेदन दिएकी छन् ।
स्रोतका अनुसार बुधबार महानगरीय प्रहरी वृत्त तिनकुनेमा आफू डिप्रेसन विरामी भएको र मिडियामा आएको विषय आफूलाई थाहा नभएको भन्दै लिखित निवेदन नै दिएकी छन् । शाहीले सोमबार राति आफ्नो कोठामा आएका महराले बलात्कार प्रयास गरेको र आफूले प्रतिवाद गर्दा कुटपिट समेत गरेको आरोप लगाएकी थिइन् ।
यससँगै निवर्तमान सभामुख महरामाथि भइरहेको छानविन रोकिने देखिएको एक प्रहरी अधिकृतले बताए ।
मंगलबार बिहान बसेको नेकपा सचिवालय बैठकले पदबाट राजीनामा दिन महरालाई सुझाव दिएको थियो। महराले मंगलबार नै उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए । उनले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए ।
बुधबार संसद सचिवालयले महराले राजीनामा दिएकाले पद रिक्त भएको सूचना पनि निकालेको छ ।सचिवालयका सचिव भरतराज गौतमले एक प्रेस विज्ञप्ती जारी गर्दै उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको जानकारी दिएका छन् ।
त्यसको केही समयपछि नै संघीय संसदको सचिवालयले वेबसाइटको होमपेजबाट समेत महराको नाम हटाएको छ।यसअघि पेजमा सभामुख र उपसभामुखको फोटोसहितको प्रोफाइल लिंक राखिएको थियो ।