सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले बुधबार साँझ घरेलु टोली सिंगापुरसँग खेल्दैछ ।
सिंगापुरस्थित इण्डियन एसोसिएशनको मैदानमा हुने खेल नेपाली समयाअनुसार साँझ ५ः१५ बजेबाट सुरु हुनेछ। यस प्रतियोगिताको उपाधि जित्नका लागि नेपाललाई बुधबारको खेल जित्नैपर्ने दबाब छ ।
सिंगापुर नेपालसँग पहिलो खेलमा बेहोरेको हारको बदला लिन चाहन्छ । यस सिरिजअन्तर्गत यसअघि सम्पन्न पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै सिंगापुरलाई नौ विकेटले पराजित गरेको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल जिम्बाब्वेसँग ४० रनले पराजित भयो ।
त्यस्तै सिरिजको दोस्रो खेलमा सिंगापुरले जिम्बाब्वेलाई पराजित गरेको थियो । नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा छ । यसअघि तीन खेल खेलेको नेपालको दुई अङ्क छ । त्यस्तै शीर्ष चार अङ्क जोडेको जिम्बाब्वे शीर्ष स्थानमा छ ।
आयोजक सिंगापुर दुई खेलमा दुई अङ्क जोडेर तेस्रो स्थानमा छ । सिंगापुरले अन्तिम खेल भोलि जिम्बाब्वेसँग खेल्नेछ । डबल राउन्ड रोबिनका आधारमा खेलाइएको यस सिरिजको शीर्ष टोलीले उपाधि जित्नेछ ।