रोमान्चक खेलमा सिंगापुरसँग जिम्बाब्वे स्तब्ध, नेपाल शीर्ष स्थानमा उक्लियो

तस्बिरः एजेन्सी

सिंगापुरमा जारि त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा घरेलु टोली सिंगापुरले जिम्बाब्वेलाई स्तब्ध पारेको छ। टेस्ट राष्ट्र जिम्बाम्बेविरूद्ध खेलेको पहिलो खेलमै  सिंगापुरले जित हात पार्दै ईतिहास रचेको हो।

इन्डीएन एसोसिएसन मैदानमा वर्षाले ढिलो सुरू हुँदा १८ ओभरमा घटाइएको खेलमा सिंगापुरले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो।

१३औं ओभरमा १४२/२ को बलियो स्थितिमा पुगेको जिम्बाब्वेले लगातार ३ विकेट गुमाउँदा १६ ओभरमा १६५/५ को स्थितिमा पुगेको थियो। त्यसपछि सिंगापुर खेलमा हाबी भयो। अन्तिम २ ओभरमा जितको लागि १७ रन आवश्यक रहँदा १७ औं ओभर बलिङ गरेका जनक प्रकाशले मात्र ७ रन खर्चेर २ विकेट लिएका थिए।

जिम्बाब्वेको लागि कप्तान सन विलियम्सले सर्वाधिक ६६ रन बनाए जुन क्रममा मात्र ३५ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। यस्तै ओपनर रेगिस चकाभाले मात्र १९ बलमा ६ चौका र ३ छक्का मदतले ४८ रन बनाए। टिनोटेण्डाले ३२ रन बनाए।

सिंगापुरको बलिङमा अमजद मेहबुब र जनक प्रकाशले २/२ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने क्रममा निर्धारित १८ ओभरमा सिंगापुरले ९ विकेट गुमाएर १८१ रन बनाएको थियो।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सिंगापुरले बनाएको यो तेस्रो ठूलो योगफल हो। नेपाल बिरुद्ध यसै वर्ष टी-२० विश्वकप छनोट प्रतियोगितामा सिंगापुरले सबैभन्दा धेरै १९१ रनको योगफल बनाएको थियो।

सिंगापुरको लागि कप्तान टिम डेभिड र मनप्रित सिंहले समान ४१ रन बनाए। डेभिडले २४ बलमा ४ छक्का र २ चौका तथा सिंहले २३ बलमा १ छक्का र ४ चौका प्रहार गरे। यस्तै ओपनर रोहन रंगराजनले २२ बलमा ८ चौका मदतले ३९ रन बनाए। जिम्बाब्वेको बलिंगमा रायन बर्लले सर्वाधिक ३ विकेट लिए। यस्तै रिचर्ड नगर्भाले २ तथा नेभिल्ले माडजिभा र सिङ विलियम्सले १/१ विकेट लिए।

सिंगापुरसँग जिम्बावे पराजित भएपछि नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले २ खेलबाट २ अंक जोडेको छ ।दोस्रो स्थानमा झरेको जिम्बावेले २ खेलमा २ अंक जोडेको छ । २ अंक नै जोडेको सिंगापुर तेस्रो स्थानमा छ।

सिरिज अन्तर्गत चौथो खेल सोमबार नेपाल र जिम्बाबे बीच हुनेछ। खेल नेपाली समय ५:१५ बजे सुरु हुनेछ।

प्रकाशित मिति: : 2019-09-29 22:19:04

प्रतिकृया दिनुहोस्