पर्यटनमन्त्री भट्टराई र इकाओ नेतृत्वबीच भेटवार्ता, प्रतिवन्ध फुकाउन आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र इकाओ नेतृत्वबीच भेटवार्ता । तस्बिर : नेपाली राजदूतावास

नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज क्यानडाको मन्ट्रियलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (इकाओ) काउन्सिलका सभापति डा. ओलुमुइवा बेनार्ड अलिउ र इकाओका महासचि डा. फाङ लिउसँग शिष्टाचार भेट गरेका छन् ।

इकाओको ४०औं महासभामा नेपाली प्रमण्डलको नेतृत्व गर्दै सहभागी भैरहेका मन्त्री भट्टराईले महासभाकै क्रममा उनीहरूलाई संयुक्त रूपमा भेटेका हुन् ।

भेटका अवसरमा मन्त्री भट्टराईले नेपालले पछिल्लो समय हवाइ सुरक्षाका लागि चालेका कदमका बारेमा बताउँदै हवाइ दुर्घटनाको संख्यामा आएको उल्लेख्य कमीका बारेमा पनि जानकारी दिएका थिए ।

यो पनि हेर्नुहोस् 
नृत्यबाट काठमाण्डौमा सुदूरपश्चिमलाइ चिनाउने देवु

उनले इकाओका सबै नियम अधिनियमप्रति नेपाल प्रतिवद्ध रहेको बताउँदै नेपाली विमान सेवामाथि अलि उदार हुन आग्रह गरेका थिए । उनको संकेत नेपाली विमान सेवालाई युरोेपेली आकाशमा कायमै रहेको प्रतिवन्ध फुकाउनुपर्नेतिर थियो । उनले नेपाल भ्रमण वर्ष २०२० मनाउन लागेको जानकारी गराउँदै सभापति डा. अलिउ र महासचि डा. लिउलाई निम्ता पनि दिए ।

भेटका अवसरमा नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरू पनि रहेका थिए ।

आजै मन्त्री भट्टराईले इकाओको ४०औै महासभालाई सम्बोधन गरेका थिए ।

महासभामा भाग लिन सेप्टेमबर २४ मा मन्ट्रियल पुगेका भ्ट्टराई सेप्टेम्बर २९ मा नेपाल फर्कने कार्यक्रम रहेको बताइएको छ । 

प्रकाशित मिति: : 2019-09-26 11:02:17

प्रतिकृया दिनुहोस्