क्यानडामा ४३औं निर्वाचन : थाहा पाउनुहोस् १६ तथ्य

क्यानडाको संघीय चुनाव : ट्र्युडोको ‘लिबरल’ र चिअरको ‘कन्जरवेटिभ' आम्नेसाम्ने । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

गर्मीमा शितल प्रदान गर्ने वृक्ष हो– मेपल । रंगीविरंगी भएर फुलेका बेला मनमोहक देखिने मेपल क्यानडामा सर्वसलुभ छ । राष्ट्रिय झण्डामै फर्फराउँछ– मेपलको पात ।

यो छायाँदार वृक्षले जाडोयाम लाग्नेबेला रङ फेर्छ । हिउँ पर्ने बेलासम्म पात झरेर वृक्ष मात्र बाँकि रहन्छ– ठिङ्ग । खसेका पात जोडिदैनन् तर नयाँ पलाउँछन् । त्यसनिम्ति वृक्षले झुक्दै नझुकी हावाहुरी, हिउँ र माइनस ३०/४० डिग्रीसम्म ओरालो झर्ने चिसोसँग संघर्ष गर्नुपर्छ ।

मेपलका वृक्षले त्यसरी रङ्गीन पातहरु गुमाइरँदा यसपल्ट क्यानडामा भने संघीय निर्वाचन हुनेछ–   आगामी चार बर्षलाई नयाँ सरकार चुन्न ।

‘फल सिजन’को मध्य भनौं, अक्टोबर २१ भोट हाल्ने दिन । ‘हाउस अफ कमन्स’ अर्थात् संसदको तल्लो सदनका लागि यो क्यानडाको ४३ औं निर्वाचन हो, जो ४/४ बर्षमा हुन्छ ।

देशको ताला चाबी कसलाई सुम्पिने भन्ने नागरिकले टुंगो गर्ने राजनीतिक मौका हो– निर्वाचन । क्यानेडियन नागरिकले भविष्यको नक्सा कोर्ने एउटा अवसर पनि हो यो ।

यसपल्टको निर्वाचनले शान्ति, एकता र सहिष्णुता कायम गर्दै क्यानेडियनलाई शितलता प्रदान गर्ने सरकार दिलाओस्– मेपलको वृक्षजस्तै ।

किनकी, झण्डै चार करोड क्यानेडियनलाई जोड्ने राष्ट्रिय चिन्ह यही मेपलको पात हो ।

१० प्रोभिन्स र तीन टेरिटोरी भएको क्यानडामा एकै दिन निर्वाचन हुनेछ । भोट खसाल्न ठ्याक्कै एक महिना बाँकी रहँदा निर्वाचनको प्रचार प्रसार तीब्र छ । चुनावी दौडमा उत्रिएका नेता कार्यकर्तासहित सभा र भेट गर्न व्यस्त छन् ।

आरोप प्रत्यारोपसँगै ‘यो राम्रो र ऊ नराम्रो’ टाइपका भाषण व्याप्त छन् । नेपालमा झैं आममानिसले चुनावलाई ‘चियागफ’ नबनाए पनि कतिपयले यहाँ ‘कफीगफ’ बनाएका छन् ।

यसपल्ट पनि निवर्तमान प्रधानमन्त्री ट्र्युडोको ‘लिबरल’ र एण्ड्रिउ चिअरको ‘कन्जरवेटिभ पार्टी अफ क्यानडा’बीच नै मुख्य चुनावी प्रतिस्पर्धा हुँदैछ ।

यो पनि हेर्नुहोस्
दोस्रो विश्व युद्दका योद्दाः पदक नपाएको झोकमा पल्टन छोडे।

पढ्नुहोस्, ‘ब्रेक एण्ड लिंक्स’द्वारा तयार पारिएका क्यानेडियन निर्वाचनका १६ तथ्य ।

१, यो नेपालको प्रतिनिधिसभा भनेजस्तै क्यानडाको ‘हाउस अफ कमन्स’का लागि हुँदै गरेको निर्वाचन हो । ‘हाउस अफ कमन्स’ क्यानडाको संसद हो । राजधानी अटोवामा संसद बैठक हुन्छ ।

२, यहाँको संसदीय निर्वाचनमा नेपालमा जस्तै ‘पहिलो हुने निर्वाचित हुने’ प्रणाली अपनाइएको छ । अर्थात्, प्रतिस्पर्धीमध्ये जसको बढी भोट आयो उसैलाई विजयी घोषणा गरिन्छ ।  

३, यसपल्ट ४३ औं संसदीय निर्वाचन हुँदै गरेको हो । गर्भनर जनरल जुली पेयटले सेप्टेम्बर ११ मा विधिसम्मत अघिल्लो संसद विघटन गर्दै अक्टोवर २१ लाई निर्वाचन घोषणा गरेकी हुन् ।

४, १८ बर्ष उमेर पुगेका क्यानेडियन नागरिकले निर्वाचनमा मतदान गर्न पाउनेछन् । त्यसनिम्ति परिचय खुल्ने किसिमका फोटोसहितका परिचयपत्र अनिवार्य भनिएको छ ।  

५, ‘हाउस अफ कमन्स’मा ३३८ सिटका लागि निर्वाचन हुन लागेको हो । १० प्रोभिन्सबाट ३३५ र तीन टेरिटोरीबाट एक/एक जना गरी ३३८ सांसद निर्वाचित हुनेछन् ।

६, सबैभन्दा धेरै सिट अन्टारियो प्रोभिन्समा छ । १२१ सिटका लागि यहाँ चुनाव हुनेछ । प्रिन्स एड्वार्ड आइसल्याण्ड प्रोभिन्सबाट भने चार सांसद मात्रै निर्वाचित हुनेछन् ।

७, यस्तै, क्युबेकमा ७८, ब्रिटिश कोलम्बियामा ४२, अल्बर्टामा ३४, सास्काचुनमा १४, मानिटोवामा १४, नोभास्कोसियामा ११, न्यु ब्रन्सविकमा १० र न्यु फाउण्डल्याण्ड एण्ड ल्यावराडोर प्रोभिन्समा ७ सिटलाई प्रतिस्पर्धा हुनेछ ।

८, नर्थवेष्ट, युकोन र नुनाबुत, यी तीन टेरिटोरीबाट एक/एक सांसदले ‘हाउस अफ कमन्स’मा प्रतिनिधित्व गर्नेछन् ।

९, तीनसय ३८ मध्ये एक सय ७० सिट जित्ने दलको बहुमत हुनेछ । अघिल्लोपल्टे ‘लिबरल पार्टी अफ क्यानडा’ले एक सय ८४ सिट जितेर जष्टिन ट्र्युडो नेतृत्वमा बहुमतको सरकार बनाएको थियो ।

१०, यसपल्ट पनि निवर्तमान प्रधानमन्त्री ट्र्युडोको ‘लिबरल’ र एण्ड्रिउ चिअरको ‘कन्जरवेटिभ पार्टी अफ क्यानडा’बीच नै मुख्य चुनावी प्रतिस्पर्धा हुँदैछ ।

११, ‘लिबरल’, ‘कन्जरवेटिभ’ र ‘न्यु डेमोक्रेटिक पार्टी’ तीन मात्र त्यस्ता पार्टी हुन्, जसले सबै अर्थात् तीन सय ३८ क्षेत्रमै उम्मेदवार खडा गरेका छन् ।

१२, सन् २०१५ को निर्वाचनमा ‘लिबरल’ १८४ सिटसहित पहिलो स्थानमा थियो भने ‘कन्जरवेटिभ’ र ‘न्यु डेमोक्रेटिक’ले त्रमशः ९९ र ४४ सिट हासिल गरेका थिए ।

१३, यसपल्ट पनि ट्र्युडो क्युबेकस्थित पापिन्यउ, चिअर सास्काचुनको रेजाइना क्युएप्पल र ‘नेशनल डेमोक्रेटिक फ्रण्ट’का जगमीत सिंह ब्रिटिश कोलम्बियाको बुरनाबे साउथ क्षेत्रबाट चुनाव लड्दैछन् ।

१४, चुनावमा माथिका तीनसहित ‘ब्ल्क क्युवेस्वा’, ‘ग्रीन पार्टी अफ क्यानडा’, ‘पिपुल्स पार्टी अफ क्यानडा’ र ‘प्रोग्रेसिभ क्यानेडियन पार्टी’ले पनि उम्मेद्वार खडा गरेका छन् ।

१५, क्यानडाका जल्दाबल्दा विषय आप्रवासन, जलवायु परिवर्तन, बच्चाको लालनपालन, स्वास्थ्य, कर, पाइपलाइन, रोजगारी आदिलाई चुनावी मुद्दा बनाएर उम्मेद्वारहरु प्रतिस्पर्धामा छन् ।

१६, सर्वेक्षणले ‘लिबरल’ र ‘कन्जरवेटिभ’वीच कडा टक्कर हुने देखाएका छन् । सर्वेक्षणमा सहभागीमध्ये कतिपयले कुनै पनि पार्टीले स्पष्ट बहुमत नल्याउने पनि बताइरहेका छन् ।

प्रकाशित मिति: : 2019-09-22 03:49:18

प्रतिकृया दिनुहोस्