७८ लाख घुस लिएका पूर्वआयुक्त पाठक ७८ लाख नै धरौटीमा रिहा

तस्बिरः बीएल

सेवाग्राहीसँग घुस लिएर भ्रष्टाचारको मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन्।

उनी विशेष अदालतको आदेश बमोजिम ७८ लाख धरौटी बुझाएर बुधबार साँझ रिहा भएका हुन्।

७८ लाख रुपैयाँ घुस मागेको भिडियो सार्वजनिक भएपछि अख्तियारको आयुक्तबाट राजिनामा दिएका पाठक बुधबार विशेष अदालतमा हाजिर भएका थिए।

विशेष अदालतले बुधबार नै पाठकलाई घुस लिएको विगो रकम बराबर नै धरौटी माग गरेर रिहा हुन आदेश दिएको थियो।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले उक्त धरौटी रकम माग गरेको हो।

पाठकको धरौटीका लागि नेपाल बंगलादेश बैंक ग्यारेन्टी बसेकालेले उनी तारेखमा रिहा भएको विशेष अदालतका उपरजिष्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए।

बैंक ग्यारेन्टी बुझाएर रिहा भएका पाठक अदालतकाे तारिखमा रहनेछन्।

नेपाल इन्जिनियरिङ कलेजको विवाद सुल्झाउने घुसकाण्डमा मुछिएपछि पदबाट राजीनामा दिएका पाठकविरुद्ध अख्तियारले नै अनुसन्धान गरेको थियो। २०७५ चैत १२ गते उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो।

पाठकलाई घुस दिने चाँगुनारायण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने फरार छन्।

 

प्रकाशित मिति: : 2019-05-15 20:03:53

प्रतिकृया दिनुहोस्