सेवाग्राहीसँग ७८ लाख घुस लिने अख्तियारका पूर्वआयुक्त पाठक अदालतमा

तस्बिरः एजेन्सी

घुस लिएको अभियोग लागेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन्।

अहिले उनको बयान विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू द्वारिका जोशी र प्रमोद कुमार श्रेष्ठ वैद्यको इजलासमा चलिरहेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।

अदालतले उपस्थित हुन पठाएको समायावधि भित्रै पाठक अदालतमा उपस्थित भएका हुन्।

सेवाग्राहीसँग ७८ लाख रूपैयाँ घुस लिएको भन्दै तत्कालिन अख्तियार आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले नै चैत १२ गते मुद्दा दायर गरेको थियो।

आयोगले घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएर विशेष अदालतमा अभियोग पत्र बुझाइएको थियो।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र त्यसको (ज) अनुसार कारबाही माग गरिएको छ। त्यसमा दफा २४ अनुसार थप सजाय माग गरिएको छ। कसुर प्रमाणीत भए यी दुवै कानुन अनुसार पाठकले ९ देखि ११ वर्षसम्म कैद भुक्तान र ७८ लाख नै जरिवाना तिर्नुपर्ने छ। त्यसमाथि उनले घूस लिएको रकम बराबरको सम्पत्ति जफत हुने छ।

न्यौपानेले भने ७८ लाख जरिवाना र ६ देखि ८ बर्षसम्म कैद सजाय भोग्नुपर्ने छ।

प्रकाशित मिति: : 2019-05-15 15:31:26

प्रतिकृया दिनुहोस्