पहाडकी रानी दार्जिलिङमा यसपटक पनि 'कमल' फुल्ने भयो'रे !

पहाडकी रानी दार्जिलिङमा यसपटक पनि कमलको फूल नै फुल्ने आँकलन गरिएको छ।अप्रिल १८ मा भएको दोस्रो चरणको निर्बाचनमा दार्जिलिङका गोर्खेहरूले तेस्रोपटक कमलको फूल फुलाउने गरी मतदान गरेको अनुमान गरिएको छ। 

१४ लाख ३७ हजार १ सय २६ मतदाता रहेको दार्जिलिङको बहुमत मतदाता गोरखा छन्। उनीहरूको मन जित्नेले नै मत जित्ने निश्चित छ। 

दार्जिलिङलाई राष्ट्रिय दल भारतीय जनता पार्टी, भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस आई) र पश्चिम बंगालको क्षेत्रीय दल त्रिणुमल कांग्रेसले प्रतिष्ठाको विषय बनाएर आआफ्ना उम्मेद्वार उठाएका थिए। यसअघि २००९ र २०१४मा कमल  फुलाएको भारतीय जनता पार्टीले पहिलो पटक नेपाली मुलका राजुसिङह विष्टलाई उम्मेद्वार बनाएको थियो।मणिपुरका यी युवा व्यवसायी भाजपाको मातृसंस्था राष्ट्रिय स्वयसेवक संघ(आरएसएसए)का सदस्य हुन्। 

यसैगरी पश्चिम बंगालको सत्तारुढ दल तृणमूल कांग्रेसले अम्मरसिंह राईलाई निर्वाचनमा उठाएको छ। दार्जिलिङका विधायक राईलाई त्यहाँको सत्तामा ममता बेनर्जीले  स्थापित गरेको विनय तामाङ घटकको गोर्खा जनमुक्ति मोर्चाको समर्थ रहेको छ। 

भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस आई)ले कांग्रेसका पश्चिम बंगाल राज्यका कार्यकारी अध्यक्ष  शंकर मालाकारलाई उम्मेद्वार बनाएको छ। माइती गरा-नक्सालवारी क्षेत्रबाट पश्मिम बंगाल राज्यसभा सदस्य रहेका मालाकार कांग्रेसका ठूला नेता हुन्। 

यसअघि लगातार दुईपटक जितेको र गोरखाल्याण्ड मुद्दालाई पनि सम्बोधन गर्ने घोषणा सहित पहिलोपटक गोरखा उम्मेद्वार नै उठाएकाले पनि भाजपाको जित्ने सम्भावना बढेको हो।यस अतिरिक्त विमल गुरूङलाई मन पराउँने गोर्खा जनमुक्ति मोर्चा समर्थक र सुभाष घिसिङको पार्टीको पनि भाजपालाई समर्थन रहेको छ। 

भाजपासँग प्रतिस्पर्धामा तृणमुल कंग्रेस नै छ। यसका उम्मेद्वार राइ यहाँका पुराना नेता हुन् र यहाँको सत्तामा राखिएको विनय तामाङको पनि उनीहरूलाई समर्थन छ। यसले गर्दा राई प्रतिस्पर्धामा छन् तर गोरखाल्याण्डकी जानी दुश्मन ममता बनर्जीको उम्मेदवार भएकाले उनलाई जिताउने पक्षमा गोरखेहरू होलान् भन्न सकिन्न । 

उता, कांग्रेस एक्लै उठेको र उसको उम्मेद्वार पनि गोरखा मुलको नभएकोले ऊ प्रतिस्पर्धा बाहिर छ। यद्यपि कांग्रेसले आफ्नो परम्परागत केही मत सुरक्षित राख्ने छ। पशि्चम बंगालमा प्रभावशाली रहेको भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का उम्मेद्वार सुमन पाठकले पनि केही मत लिने छन्। 

राजनीतिक पण्डितहरूले कमल फुल्ने आँकलन गरे पनि चुनाव हो, यसै भन्न सकिन्न। तृणमुलका राईको पक्षमा पनि चुनावी पासा पल्टिन सक्छ।

 

प्रकाशित मिति: : 2019-04-19 09:12:43

प्रतिकृया दिनुहोस्