जब सूचना सहज उपलव्ध हुदैन, अनि अनुमान सुरू हुन्छ। त्यसपछि सुरू हुने हो- हल्लाको खेती । जुन प्रकारान्तरमा सूचना लुकाउनेकै लागि प्रत्युत्पादक हुन्छ।
आखिर कि त समाचार बन्छ कि त बनाइन्छ। जब सूचना स्रोतले पुष्टि गर्दैन त्यसपछि समाचार बन्दैन, बनाइन्छ।बन्ने समाचार बनाउँनुपर्ने भएपछि त्यसमा केही न केही कृत्रिमता आउँछ।
नेकपा अध्यक्ष प्रचण्डको जारी अमेरिका भ्रमणमा पनि यही भएको छ। सामाजिक सञ्जालमा एकपछि अर्को गरेर नानाथिरका 'खबर' फैलिएका छन्। तर, ती खबर हुन् कि अफबाह हुन्- बोल्नुपर्नेहरू बोल्दैनन् ।
नबोलेपछि जिम्मेवार पत्रकारिता गर्न चाहनेलाई सकस भएको छ। गैरजिम्मेवार पत्रकारहरूले नानाभातिका समाचार लेखेर लाइक, सेयर र एलेक्जा रेटिङ बढाइरहेका छन्। यो अफबाहको खेतीले प्रचण्डको यो भ्रमणलाई मार्केटिङ प्लेटफर्म बनाउनेहरूका लागि भने यो 'दशैं' भएको छ।
प्रचण्डको भ्रमणका क्रममा अमेरिका विदेश विभागका केही उच्च अधिकारीसहित उपराष्ट्रपति माइक पेन्सलाई भेट्न लागेको 'खबर' ट्राइ बेलुनका रूपमा बाहिरियो।हामीले काठमाडोैंमा परराष्ट्र मन्त्रालयमा सोध्योै। नाम नबताउँने शर्तमा 'प्रयास जारी छ, हुन पनि सक्छ' भन्ने जवाफ आयो। यता, वासिङ्टन डीसीस्थित दूताबासमा प्रवक्तालाई सम्पर्क गर्न अनेक प्रयास गरियो, उनी सम्पर्कमा आएनन्। अर्का एक अधिकारी भेटिए, उनले पनि नाम नबताउँने शर्तमा 'प्रयास जारी छ, हुन पनि सक्छ' भन्ने जवाफ दिए ।
यसैबीच प्रचण्डले अमेरिकी विदेश विभागका केही उच्च अधिकारीलाई भेटेको खबर बाहिरियो। हामीले विभिन्न स्रोतबाट पुष्टि गराउँने क्रममा एक आधा कूटनीतिक व्यक्तित्वलाई सोध्यौं। उनले भने 'हुन त हो तर मेरो नाम उल्लेख नगरी दिनुहोला।' अमेरिकी उच्च अधिकारीको भेटघाटसँग सम्बन्धित यो 'खबर' हामीलाई यो खबर संवेदनशील लाग्यो र पुष्टि नभइ बनाउँन उचित ठानेनौं।
यसैगरी अर्को 'खबर' आयो- 'प्रचण्ड पत्नीलाई अर्को राज्यमा डक्टरले रिफर गरेको छ रे। सोमबार त्यता लगिदैछ रे।' हामीले त्यसको पुष्टि गर्न नेपालमा रहेकी छोरी रेनु दाहालदेखि भ्रमण दलमै प्रचण्डको पीएको हैसियतप्राप्त छोरीसँग पनि सम्पर्क गर्न खोज्यौ। तर, उनीहरू सम्पर्कमा आएनन्। हामीलाई लाग्यो, मंगलबार फर्कने भनिएको छ।सोमबार अर्को राज्यमा लैजाने कुरा सम्भव होला र ? हामीले यही 'कमन सेन्स' प्रयोग गरेर यसलाई पनि समाचारको आकार दिएनौं।
यस बीचमा एउटै पुष्टि भएको खबर आयो- प्रचण्ड र पूर्वअमेरिकी राज्दूत स्कट डेलेसीबीच भेट भएको खबर। त्यो पनि दूताबास वा प्रचण्डको तर्फबाट लुकाउँने प्रयास भए पनि डेलेसीले ट्विट गरेपछि सार्वजनिक भएको थियो।
आज फेरि अर्को समाचार आयो- दूताबासमै केही नेपाली वुद्धिजीवी र व्यापारीले प्रचण्डलाई भेटे रे।विभिन्न समूहमा गरेर २५ जना जतिले भेटेको कुरा बाहिरिएपछि भेट गरेको भनिएकामध्ये एकजनालाई सोध्यौं- 'आज भेटमा के भयो?' उनले उल्टै प्रश्न गरे- 'कसरी थाहा पाउँनुभयो?' हामीले 'थाहा भैहाल्छ नि' भनेपछि नाम नबताउने शर्तमा उनले भेटघाट भएको पुष्टि गरे।
उनका अनुसार फोनको स्वीच अफ गर्न लगाएर भेटका बारेमा केही पनि बाहिर नलैजान भनियो। प्रचण्डले भ्रमण नितान्त व्यक्तिगत भएकोले केही पनि बाहिर नल्याइएको बताउँदै अमेरिकी अधिकारीसँगको भेटको बारेमा चासो नदिइएको बताएका थिए।
सरकारले काम गरिरहेको भए पनि ब्युरोक्रेसीसँग तालमेल नमिलेकाले परिणाम बाहिर आइनसकेको बताउँदै प्रचण्डले भनेका थिए- सरकारले ग्राउण्डवर्क सकेको छ, अब बिस्तारै परिणाम आउला।
प्रचण्डले मुलुक अहिले पनि संक्रमणमा रहेको बताउँदै बिप्लवका कारण नयाँखाले समस्या थपिएको बताएका थिए। प्रचण्डलाई भेटेका ती ब्यापारीका अनुसार यसले पनि सरकार डिस्ट्रब्ड भएको प्रचण्डले बताएका थिए।
आखिर किन यसरी प्रचण्डको भ्रमणलाई रहस्यमयी बनाइदैछ? यसको जिम्मेवार को हो ? यसो गर्दा उनलाई र नेपाललाई के फाइदा भएको छ? यस्ता प्रश्नहरू उठेका छन्, यो स्वभाविक हो ।
भ्रमणका बारेमा अनेकथरि कुरा बाहिरिएपछि प्रेस वक्तव्य जारी गरेर वा पत्रकार सम्मेलन नै आयोजना गरेर यस बारेमा जानकारी दिनुपर्थ्यो। भ्रमण व्यक्तिगत भएकाले त्यसो नगरिएको तर्क गरिए पनि त्यसमा कुनै दम छैन।भ्रमणको चाँजोपाँजो दूताबासले मिलाउँने, सरकारी पाहुना बनेर राजदूतको सरकारी निबासमा बस्ने, दूताबासकै स्रोत र साधन प्रयोग गर्ने अनि भ्रमण पूरै निजी भनेर टार्न पाइन्छ र ?
निश्चय पनि पाइदैन। फेरि पत्नीको उपचार गर्न आएको भनिए पनि प्रचण्ड कुनै आयाराम गयाराम पति पनि हैनन्। त्यसैले एकजना पति पत्नीको उपचार गर्न आएको मात्र भनेर टार्न मिल्दैन। त्यो व्यक्ति एकजना पति मात्र नभएर नेपालको पूर्वप्रधानमन्त्री तथा सत्तारूढ दलको अध्यक्ष पनि हो।यो हैसियत आफैमा समाचारको स्रोत हो। भनाइ नै छ- समाचार व्यक्तित्वले निर्माण गर्छ।
यसरी प्रचण्डको भ्रमणलाई रहस्यमयी बनाउँदा उनीमाथि थप शंका गर्नुपर्ने अवस्था सिर्जना भयो। यो उनको व्यक्तित्वको लागि त राम्रो हैन नै, नेपाली राजदूत र दूताबासका लागि पनि राम्रो हैन। सूचना जनताको नैसर्गिक अधिकार हो। सूचना लुकाउनु भनेको जनताको त्यो नैसर्गिक अधिकारमाथि धावा बोल्नु हो। यो आफैमा एक मानव अधिकार विरोधी चरित्र पनि हो।
हुनु त के पर्थ्यो भने प्रचण्डको दैनिकीलाई लिएर हरेक दिन प्रेस विज्ञप्ती जारी गर्नुपर्थ्यो। त्यसलाई आधार मानेर समाचार बनाउन चाहनेले बनाउँथे, नचाहनेले बनाउँदैनथे। यसले गर्दा सूचना प्रवाह हुन्थ्यो र भ्रम निवारण हुन्थ्यो।
प्रचण्डको भ्रमणलाई लुकाइएकोमा अमेरिकामा रहेका सत्तारूढ नेकपाका शुभेच्छुकहरू पनि खुशी देखिएनन्। न्युयोर्कबाट प्रचण्डलाई भेट्न आएका एक शुभेच्छुकले भ्रमणका बारेमा आधिकारिक सूचना बाहिर नल्याइएकोमा असन्तुष्टि प्रकट गरे। उनले भने, 'यो सबै नेपाली राजदूतको खराब रबैयाको परिणति हो। यसले गर्दा प्रचण्डको भ्रमणलाई विवादास्पद बनाउन चाहनेहरूलाई नै बल पुग्यो।'