कुनै बेला माओवादीका सुप्रिम कमाण्डर रहेका प्रचण्ड यसपटक त्यही रूपमा अमेरिका आएका हैनन् , न उनी सत्तारूढ नेकपाको अध्यक्ष वा पूर्वप्रधानमन्त्रीकै रूपमा आएका हुन्। उनीसँग पुरानो राजनीतिक हिसाव किताव गर्नुछ भने पनि अरू नै बेला गरौं। विरामी श्रीमतीको उपचारका लागि आएका उनीतिर यसपटक धारेहात तेर्स्याएर हैन, ठुलो मन पारेर मानवीय समवेदना देखाऔं।
पुष्पकमल दाहाल 'प्रचण्ड' यतिबेला अमेरिकाको व्यक्तिगत भ्रमणमा छन्। गम्भीर रोगबाट गुज्रिरहेकी श्रीमती सीताको उपचारका लागि उनी छोरी ज्वाईसहित उनी अमेरिकाको वासिङ्टनस्थित डलस अन्तरार्ष्ट्रिय विमानस्थलमा उत्रेका छन्। उनले अमेरिका उड्नुअघि काठमाडौंमा भनेका थिए- यो नितान्त व्यक्तिगत भ्रमण हो। उनले यसो पनि भनेे- आफू मुलुकको पूर्वप्रधानमन्त्री, सत्तारूढ दलको अध्यक्ष र सांसद पनि भएकाले चाहेर पनि यो भ्रमण पुरै व्यक्तिगत जस्तो नहुने रहेछ। अमेरिकी सरकारको पनि ध्यानाकृष्ट हुने रहेछ।'
इत्तिहाद एयरलाइन्सको विमानमा इकोनोमिक क्लासको सिटमा देखिएका उनी सरकारी पैसामा हैन, आफ्नै खर्चमा उडेको नेपाल सरकारका प्रवक्ताले बताएका छन्। उनी अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीको पाहुनाका रूपमा वासिङ्टन डीसीस्थित राजदूत निवासमा बस्छन् र नजिकै मेरिल्याण्डको बाल्टिमोरस्थित जन हप्किन्स युनिभर्सिटी हस्पिटलमा श्रीमतीको उपचार गराउन खटिन्छन्। सहयोगका लागि छोरी गंगा र ज्वाइँ जीवन पनि उनीहरूसँगै आएका छन्।
उनी अमेरिकामा सात दिनदेखि बढीमा १० दिनसम्म रहन्छन्।उपचारका लागि थप समय लाग्ने भयो भने श्रीमतीलाई छोरी ज्वाइँको साथमा छोडेर उनी नेपाल फर्कन्छन्।
यति हो कुरा । सामान्य छ, यसमा कुनै जटिलता छैन। अत्यन्त प्रतिकुल परिस्थितिमा बाँचिरहेकी श्रीमतीको अन्तिम ईच्छा पूरा गर्न प्रचण्ड नाम गरेको एकजना श्रीमान् छोरी ज्वाइँलाई सहयोगी लिएर अमेरिका आउँदैछन्। अमेरिका उड्नुअघि उनले भनेका छन्- कहीँ लैजादा र केही गर्दा पनि उपचार नभएपछि अमेरिकामा चाँहि होला कि भन्ने उनलाई लागेकाले लिएर जाँदैछु ।
यसरी हेर्दा कहीँ उपचार सम्भव नभएपछि जीवन मरणको प्रश्नचिन्ह मुन्तिर उभिइरहेकी श्रीमतीको उपचार गर्न अमेरिका आउँदैछन् प्रचण्ड। परिवारमा विरामी छ भने जो कोहीको परिवारमा पनि यस्तै हुन्छ।यो एक सामान्य प्रक्रिया मात्र हैन, पारिवारिक कर्तव्य र दायित्व पनि हो। प्रचण्ड पनि त्यही कर्तव्य र दायित्व पूरा गर्न आउँदैछन् । यसका लागि प्रचण्डलाई लक्षित गरेर सियोहरू तिखार्नुपर्ने कारण छैन।
तर, प्रचण्ड एक सामान्य श्रीमान् मात्र हैनन्, उनी नेपालको इतिहासका एक यस्ता पात्र पनि हुन् जहाँ उनलाई नायक मान्ने कि खलनायक मान्ने भन्ने मुद्दामा सिंगो नेपाल र नेपाली मत विभाजित छ। सैद्धान्तिक रूपमै धाजा फाटेकाले उनको सिद्धान्तभन्दा फरक कित्तामा रहेकाले उनलाई जीवनभर धारेहात लगाउन सक्छन्। मुद्दाको पछिभन्दा वादको पछि लागिरहेको नेपालको सनातनी राजनीतिमा यसो हुनु अस्वभाविक पनि हैन।
यही पृष्ठभूमिका कारण यो भ्रमणमा पनि सीता दाहालको श्रीमान् पुष्पकमल कम देख्ने र माओवादी अध्यक्ष प्रचण्ड बढी देख्ने आँखा अमेरिकी भूमिमा हुन सक्छन्। तर, के यो स्वभाविक हो? फरक समय र स्थानले बनाउँने सन्दर्भमा पनि हरेकपटक त्यही अप्रिय द्वन्दको सन्दर्भ ल्याइरहनु ठीक हो ? त्यसमा पनि घरदेश छोडेर परदेश लागेकाहरूले मुलुकमा खाटा बस्दै गएको द्वन्दको घाउ बिर्साउने कि त्यसलाई थप कोट्याएर अरू बढी द्वन्दको खेती गर्ने ? यी र यस्ता प्रश्नहरूको उत्तर खोज्न जरूरी छ ।
प्रचण्ड द्वन्दको खेती गर्ने पात्र मात्र हैन, त्यसको बाली भित्राउने पात्र पनि हुन्। हो, द्वन्दका क्रममा धरैको ज्यान गएको छ, त्यो अप्रिय छ। तर, त्यसले ल्याएको परिवर्तनका कारण उनीहरूको बलिदानको हिसाव गरिएको छ र उनीहरू शहीद भएका छन्। यो परिवर्तन केहीलाई मन नपरेको हुन सक्छ, केहीका लागि अधुरो भएको हुन सक्छ, केहीका लागि परिवर्तन नै नभएको पनि हुन सक्छ। त्यही आधारमा प्रचण्ड भन्ने पात्रलाई हेर्ने दृष्टिकोण बन्ने हो।
हामीले चाहे पनि नचाहे पनि त्यसको संवैधानिक छिनोफानो भैसकेको छ। र, त्यसैको आधारमा प्रचण्ड भन्ने पात्र पटक पटक मुलुकका प्रधानमन्त्री भएका छन्। उनीसँग सबैखाले राजनीतिक शक्ति र पार्टीले कुममा कुम जोडेर फाइदा लिएका छन् । अरू त कुरै छोडौं, अहिले अमेरिकामा एसाइलम लिएका अधिकांशले यही पात्रको 'आतंककारी' अनुहार बेचेर अमेरिकी भाषामा 'पेपर अप्लाई' गरेका छन्। विडम्बना भन्नुपर्छ, तिनैमध्ये धेरैले यसपटक पनि उनलाई सीताको श्रीमान् हुन नदिन फेसबुकका भित्ताहरू फोहोर पारिरहेका छन् ।
नेपालको पछिल्लो स्थिति बन्नमा प्रचण्ड दोषी छन् र संगै र त्यतिकै मात्रामा अरू दल र तिनीहरूका नेता पनि दोषी छन्। अब को बाँकि छन् र नेपालमा परीक्षण हुन ? भूमिका १९ /२० को होला, सबैले सत्ताको स्वाद चाखेकै छन् र वर्तमान नेपालको अवस्था सिर्जना गर्नमा केही न केही भूमिका निर्वाह गरेकै छन्।
अनि यी दललाई सत्तामा पुर्याउने र नेतालाई नेतृत्व दिने पनि हामी नेपाली जनता नै हौं । अमेरिकामा बसेका हामीले मतदान नगरे पनि हाम्रा आफन्तले मतदान गरेकै हुन्।अझ कतिपयलाई त फलाना र ढिस्कानालाई मत हाल्न भनेर हामीले यहाँबाट प्रभावित पनि पारेकै हौं।त्यति मात्र हैन, मुलुकमा भविष्य नदेखेर छट्पट्यारहेको बेला यो वा त्यो वहाना बनाएर अमेरिकाले भिसा पत्याउँने बित्तिकै मुलुक छोडेर हिड्ने पनि त हामी नै हौं ।
प्रचण्ड भ्रमणकै प्रसंगमा फर्कौ। नेपाल फेरि अर्को माओवादी द्वन्दको सन्निकट उभिएको छ। त्यसका लागि अहिलेको परिस्थिति सिर्जना गर्ने सबै दोषी छन्। हिजो तत्कालिन सत्ताले जे जे गल्ती गरेर माओवादी खेती गर्यो, अहिलेको सत्ता पनि त्यही त्यही गल्ती दोहोर्याएर त्यसै गरिरहेको छ। जनताले झण्डै दुईतिहाई बहुमत दिएको पार्टी सत्तामा रहेको बेला भएका प्रिय अप्रिय परिस्थितिको जिम्मेवार सत्तारूढ पार्टी नै हुन्छ। त्यस अर्थमा अहिलेको परिस्थिति सिर्जना हुन दिनमा प्रचण्ड पनि जिम्मेवार छन्।र, उनी अत्यन्त अलोकप्रिय स्थिति र नाजुक स्थितिमा अमेरिकाको व्यक्तिगत भ्रमणमा छन्।
यो भ्रमणको पूर्वसन्ध्यामा भएको रसाकस्सीहरूको आफ्नै पृष्ठभूमि छ। जीवन मरणको दोसाँधमा बाँचिरहेकी श्रीमतीको अन्तिम ईच्छा पूरा गर्न अमेरिका आउँन उनी दुईदुईपटक रोकिए। अमेरिकी राजदूत बेरी प्रचण्ड निबासमै पुगेर त्यो स्थितिको अन्त्य गरिदिए पछि उनी अमेरिकामा छन्। भ्रमणअघि नेपालको परराष्ट्र मन्त्रालयले अमेरिकी विदेश मन्त्रालयलाई विश्वासमा लिएर यो भ्रमण गराएको छ। अमेरिकास्थित नेपाली दूताबासले संयोजन गरेको छ र उनको बसोबास पनि नेपाली राजदूत निवासमा मिलाइएको छ। यी सबै कुरालाई जोडेर हेर्दा प्रचण्ड हुन सजिलो छैन।
प्रचण्डलाई माओवादी द्वन्द सुरू गरेकोमा चित्त नबुझ्नेहरूले जति पनि गाली गरौ । तर, योसँगै के पनि हेक्का राखौं भने त्यसको शान्तिपूर्ण हल पनि उनैले दिएका हुन्। त्यसका लागि उनले इतिहासमा धेरै मुल्य चुकाएका छन्।
उनी यसपटक श्रीमतीको उपचारका लागि अमेरिका आएका हुन्। सरकारी पैसा खर्च नगरी आफ्नै खर्चमा आएका छन्। हामी जुन देशको हरियो पासपोर्ट बोकेर यहाँ आयौं, त्यही पासपोर्ट दिलाउँने संविधानले नै पटकपटक प्रधानमन्त्री बनाएका संवैधानिक प्रोटोकल भएका व्यक्ति हुन्।अहिले पनि उनी प्रचण्ड बहुमत भएको सत्तारूढ पार्टीका शक्तिशाली अध्यक्ष र संघीय संसदका सदस्य हुन् । तर, यी सबैका बाबजुद पनि यसपटक उनी विरामी श्रीमतीको उपचार गराउन आएका एक श्रीमान् हुन् ।
यो मुद्दा लगाउँने, टाउको गनाउँनेजस्ता स्टाटसले फेसबुक रंगाउने बेला हैन, मानवीय सम्वेदना प्रदर्शन गर्ने बेला हो ।