कोमल वलीले संसदमै माफी मागिन्

तस्बिरः राष्ट्रिय सभा सचिवालय

अमेरिका भ्रमण लगत्तै नेपाल पुगेर एक टेलिभिजन कार्यक्रममा प्रयोग भएको उखान टुक्काका लागि राष्ट्रियसभा सदस्य कोमल वलीले संसद बैठकबाटै माफी मागेकी छन्।

बुधबारको राष्ट्रिय सभा बैठकमा सांसद ओलीले आफूले प्रयोग गरेको उखानको शब्दले कसैमाथि चोट पुगेको भए क्षमा याचना गर्ने बताइन्। ‘यो कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइनँ। मैले प्रयोग गरेको उखानको शब्दले दिने अभिधार्थका कारण कसैलाई चोट पुगेको भए म त्यसप्रति म क्षमा याचना गर्दछु,’ उनले भनेकी छन्।

उनले कान्तिपुर टेलिभिजनको इट्स माइ शो कार्यक्रममा ‘मरेपछि डुमै राजा’ भन्ने उखान भनेकी थिइन्। उखानबाट आफूहरु पीडित भएको भन्दै दलित समुदायले विरोध जनाउँदै आएका थिए।

देशका सबै जाति र समुदायप्रति आफ्नो उच्च सम्मान रहेको भन्दै कसैको मर्यादामा आँच पुर्‍याउनका लागि उखान प्रयोग नगरिएको पनि सांसद वलीले प्रष्ट्याएकी छन् ।

आफूले आकस्मिक रुपमा प्रयोग गरेको उखानको विषयलाई इस्यु बनाएर आफूमाथि झन् ठूलो प्रहार भएको पनि सभासद वलीले गुनासो गरिन् । ‘जसले मैले भनेको शब्दबाट आफ्नो मन दुखेको बताउनुभएको छ उहाँहरुबाटै म माथि त्यो भन्दा बढी असभ्य शब्द प्रयोग भएको सामाजिक सञ्जालमा भेटेकी छु’ उनले भनिन् ।

प्रकाशित मिति: : 2019-03-14 09:27:26

प्रतिकृया दिनुहोस्