भारत र पाकिस्तानलाई अत्याधिक सम्वेदनशील बन्न इयूको आग्रह

एजेन्सी

भारतले पाकिस्तान अधिनस्थ काश्मिरी इलाकामा मङ्गलबार हवाई आक्रमण गरेपछि यूरोपेली संघ (इयू) ले दुबै एशियाली मुलुकलाई ‘अत्यधिक संयमता अपनाउन’ आग्रह गरेको छ ।

भारतीय युद्धक विमानले पाकिस्तानी क्षेत्रमा रहेको आश्रयस्थल बनाउँदै आएको बताइने मौलाना अजहरको नेतृत्वमा रहेको लडाकू समूह जैस ए–मोहम्मदको शिविरमा आक्रमण गरेपछि आणविक हतियार सम्पन्न नयाँ दिल्ली र इश्लामावादबीच तनाव चर्किने सम्भावनालाई मध्यनजर गर्दै इयूको उक्त भनाई आएको हो ।

केही दिन पहिले काश्मिरमा सङ्घर्षरत जैस ए–मोहम्मद समूहले भारतीय सैनिकमाथि आत्मघाति आक्रमण गरी यसको जिम्मेवारी लिएको थियो।

बदलामा भारतले मङ्गलबार बिहानै पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको भारतीय अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले बताएका छन्।

मौलाना पाकिस्तानमै रहेकाले भारतले उनलाई भारतसमक्ष सुपुर्दगी गर्न आग्रह गर्नुका साथै पाकिस्तान विरुद्ध अन्तर्राष्ट्रिय कुटनीतिक दबाब सिर्जना गरिरहेको छ ।

इयू प्रवक्ता माजा कोसिजान्सिकले सञ्चारकर्मीसँगको कुराकानीमा भनिन्, ‘हामी दुबै मुलुकसँग सम्पर्कमा रहेका छौँ । हामीले के विश्वास गरेका छौँ भने दुबै मुलुकले ‘अत्यधिक संयमता अपनाउन’ र स्थितिलाई थप तनावतिर जान नदिन जरूरि छ ।’

प्रकाशित मिति: : 2019-02-26 22:51:16

प्रतिकृया दिनुहोस्