त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको बल्खुदेखि कीर्तिपुरसम्मको जग्गामा निजीदेखि धार्मिक संस्थासम्मले रजाइँ गरेका छन् । त्रिविको जग्गामा रजाइँ गर्ने यस्ता संस्था २० वटा छन् । कतिपय संस्थाको रेकर्ड त्रिविको सम्पत्ति विवरण राख्ने शाखामा समेत छैन । कुनैले केन्द्रीय सरकारको सिफारिस लिएर त कुनैले आफैँ हडपेर बसेका हुन् । त्रिविको जग्गा ओगट्नेमा कतिपय नाफामूलक संस्था पनि छन् । त्रिविका पदाधिकारीबाटै उनीहरूलाई संरक्षण मिलेको छ । केहीलाई हटाउने प्रयास भए पनि राजनीतिक संरक्षणमा जोगिएका छन् । कीर्तिपुर परिसरमा त्रिविसँग तीन हजार ६ सय १३ रोपनी जग्गाको लालपुर्जा छ । तर, एकतिहाइ जग्गा व्यक्ति र संस्थाले उपभोग गरिरहेका छन् । जब कि, त्रिविका केन्द्रीय विभागहरूले समेत आवश्यकताअनुसार जग्गा पाउन सकेका छैनन् ।
जग्गा कब्जा गर्ने ल्याबोरेटोरी स्कुलको ‘एडभाइजरी बोर्ड’मा त्रिविकै प्राध्यापक
शिक्षाशास्त्र संकाय अध्ययन गर्ने विद्यार्थीलाई शिक्षण अभ्यास गराउने उद्देश्यले ल्याबोरेटोरी स्कुल स्थापना भएको थियो । १३ साउन ०५७ मा शिक्षा तथा खेलकुद मन्त्रालय र गैरसरकारी संस्था शिक्षा समाजबीच १५ वर्षे सम्झौता भएअनुसार त्रिविले जग्गा उपलब्ध गराएको थियो । तर, अहिले ल्याबोरेटोरी त्रिविका विद्यार्थीलाई शिक्षण अभ्यास गराउने थलो नभई, केही व्यक्तिले माध्यमिक तहसम्म पढाइ हुने स्कुलका रूपमा सञ्चालन गरिरहेका छन् । सम्झौता अवधि १२ साउन ०७२ मा सकिएपछि पटक–पटक ताकेता गर्दा पनि स्कुलले जग्गा छाड्न मानेको छैन ।
जग्गा फिर्ता गर्न पटक–पटक पहल गरे पनि ल्याबोरेटोरी स्कुल व्यवस्थापनले अटेरी गरेको त्रिवि पदाधिकारीको गुनासो छ । राजनीतिक दलका नेता तथा केही स्थानीय नेताको आडमा जग्गा फिर्ता नभएको हो । स्रोतका अनुसार केही समयअघि जग्गा फिर्ता विषयमा छलफल गर्न गएका त्रिविका कर्मचारीमाथि नै आक्रमणको प्रयास भएको थियो । त्रिवि कर्मचारीका अनुसार दुई महिनाअघि छलफलका लागि पत्र पठाएकोमा त्यसको जवाफसमेत आएको छैन । अहिले सो स्कुल गुठीका रूपमा सञ्चालनमा छ । सो संस्थाको व्यवस्थापन समितिमा उमेश श्रेष्ठलगायत व्यक्ति छन् ।
त्रिविका प्राध्यापक स्कुलको सल्लाहकार बोर्डमा छन् । फिजिक्स केन्द्रीय विभाग प्रमुख प्रा.डा. लोकनारायण झा, जुलोजी प्रमुख प्रा.डा. वसन्तकुमार थापा, बोटनी प्रमुख प्रा.डा. सानुदेव जोशी, व्यवस्थापनका प्रमुख प्रा.डा. सन्तोषराज पौड्याल एडभाइजरी बोर्डमा रहेको स्कुलको वेबसाइटमै उल्लेख छ ।