प्रधानमन्त्री केपी ओली स्वयं अरूलाई घोच्ने र बिझाउने गरी कटु वचन प्रहार गर्न रुचाउँछन् । उनका परिजन र पूरजनले त्यसको सिको गर्नु अस्वाभाविक हैन । तर, सत्तामा हुनेले ओँठे जबाफ लगाउनुभन्दा शालीनरूपमा स्पष्टीकरण दिनु बुद्धिमानी हुन्छ । हुनत, राजनीतिक नेतृत्व विश्वमै बढी अनुदार हुँदैगएको छ । अमेरिकादेखि रुसका राष्ट्रपतिसम्मको अभिव्यक्तिमा छुद्रताको मात्रा पूर्ववर्तिहरूका तुलनामा निकै बढेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि अपवाद बन्न सकेका छैनन् । यस्तो अवस्थामा नेपालका प्रधानमन्त्रीबाट शिष्टता र शालीनताको अपेक्षा पनि सायद उचित हुँदैन होला । तर, प्रधानमन्त्रीले घोचपेचको साटो शालीन र शिष्ट वचन प्रयोग गरे उनको साख र प्रभाव पक्कै घट्ने थिएन । प्रधानमन्त्री त भए नै उनका सल्लाहकार र सरकार प्रवक्ताले पनि पूरै उनैको शैली अपनाउने गरेका छन् । कुनै स्वतन्त्र व्यक्ति वा संस्थालाई सर्वेक्षण गराए हुन्छ उनीहरूको छुचो बोलीले सरकारको लोकप्रियता र साख गिराउने काममात्र गरेको देखिनेछ ।
सरकार गठन भए यता दर्जनौ निर्णयहरू सरकारले फिर्ता लिनु परेको छ । काम गर्दा गल्ती हुनु पटक्कै अस्वाभाविक हैन । गल्ती भएको थाहा पाएपछि सच्याउनु वा निर्णय फिर्ता लिनु पनि कमजोरी हुँदैन । तर, अगिल्लो दिनसम्म आफ्नो निर्णयको पक्षमा कुर्तक गर्ने र विरोध गर्नेहरूलाई कटु वचन प्रहार गरेर आक्रमण गरेपछि निर्णय सच्याउँदा पनि जस पाइँदैन । गुठी हरण विधेयक यसको जीवन्त उदाहरण हो भने अरू पनि थुप्रै घटनामा सरकार पहिले आक्रामक अनि तुरुन्तै प्रतिरक्षात्मक हुन पुगेको छ । सरकारको यस्तो कार्यशैली र राज्य सञ्चालकहरूको छुद्र वचनका कारण कालान्तरमा राज्यकै विश्वसनीयता खस्कन्छ । असल व्यक्ति सरकारमा पुगे पनि जनताले पत्याउन हिचकिचाउँछन् । यसैले प्रधानमन्त्री ओली र उनका परिजन तथा पूरजनहरूले विचार गरेर बोल्ने बानी बसाल्नु आवश्यक छ । व्यक्तिगत कुण्ठा र अहम् तुष्टिका लागि राज्यको साख गिराउनु उचित हुँदैन । प्रधानमन्त्रीले पालेको कागको कर्कश ध्वनिले अन्ततः उनैको निद्रा बिथोलिने हो ।