हालसालै भारतबाट नेपाल भित्रिने तरकारीमा विषादीको प्रयोगबारे समाचार आएपछि यसका बारेमा जनचासो बढेको छ । नेपाल, भारत र चीनमध्ये प्रतिहेक्टर विषादीको प्रयोग नेपालमा तुलनात्मक रूपमा कम छ । तर, नेपालमा विषादी प्रयोग गरिएका तरकारी बजारमा ल्याउनुअघिको ‘वेटिङ पिरियड’ कम छ । विदेशमा यस्तो अवधि तुलनात्मक रूपमा लामो हुन्छ । त्यसैले नेपालमा विषादी प्रयोग गरिएका तरकारीको उपभोगमा अलिक बढी खतरा छ । नेपालले धेरै हानिकारक भनिएका विषादीको प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ, तर भारतलगायतका मुलुकमा अझै पनि त्यस्ता विषादी प्रयोगमा छन् ।
मानिसलाई विषादीका कारण लाग्ने कुन रोग कुन विषादीका कारण लागेको हो भनेर भन्न सकिन्छ । तरकारीमा धेरै प्रयोग हुने विषादीमा अग्र्यानो क्लोरिन, अग्र्यानो फोस्फेट, आइरेट्रिन नामक समूहका धेरै छन् । अग्र्यानो क्लोरिन हावापानी र शरीरमा धेरै समयसम्म रहन्छ । जस्तै, डिडिटी नेपालमा प्रतिबन्ध गरिएको छ, तर भारतमा त्यो प्रतिबन्ध नभएको हुनाले अझै उनीहरूले खेतिपातीमा प्रयोग गरिरहेका हुन्छन् ।
त्यस्तै, अग्र्यानो फस्फेट नामक अर्को समूहका विषादी छन् । यो समूहमा मिथाइल प्याराथियोन, डायमेटर, फोरेडजस्ता विषादी पर्छ् । यी तीनवटै विषादीले शरीरमा विभिन्न प्रकारका असर पार्छन् । तर, खासगरी कलेजो र मिर्गौलामा यिनीहरूको असर बढी हुन्छ । उच्च रक्तचाप, मधुमेह, जन्ममै देखिने विकलांगता र क्यान्सरसम्म पनि यी विषादीका कारण हुन सक्छ । यी विषादीको निरन्तर प्रयोगबाट यस्ता असर देखिन्छन् ।
तरकारीजन्य खानेकुरामा यी विषादीको प्रयोग उचित परीक्षण नगरेसम्म थाहा पाइँदैन । यो नबुझी यसका दीर्घकालीन प्रभावबारे भन्न सकिँदैन । नेपालमा कस्ता–कस्ता विषादी प्रयोग हुन्छन् भन्ने सन्दर्भमा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले प्रत्येक वर्ष कति मात्रामा आयात हुन्छ भन्ने बताउन सक्ला । यसले हाम्रो स्वास्थ्यमा कस्तो असर पार्छ भन्नेबारे समग्र देशको अध्ययनचाहिँ अब बल्ल सुरु हुनेवाला छ । नेपाल हेल्थ रिसर्च काउन्सिलले अब यो साउनदेखि त्यसको अध्ययन गर्दै छ । त्यसको समयावधि एक वर्षको छ । नेपालका तरकारी धेरै उत्पादन हुने धादिङ, चितवन, काभ्रेको तरकारी र फलफूलजन्य सामग्रीमा हामीले अध्ययन गर्दै छौँ ।
अहिलेसम्म हाम्रोमा भएको अध्ययन भनेको एकदमै सानो स्तरको र धेरै तथ्यमा आधारित नभएका हुन् । नेपालमा अहिलेसम्म प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले मोबाइल क्लिनिकजस्तै प्रयोगशाला (ल्याब) राखेको छ । त्यसले ‘क्वालिटेटिभ’ अध्ययन मात्रै गर्छ । कुन तरकारीमा कुन विषादी कति मात्रामा छ भनेर त्यसले भन्न सक्तैन । जबसम्म कुन खाद्यवस्तुमा कति विषादी छ भन्ने थाहा हुँदैन, त्यसले हामीलाई कति असर पार्छ भन्ने थाहा हुँदैन । २३–२४ वटा विषादीमध्ये त्यसले जम्मा दुईवटा मात्र परीक्षण गर्छ । त्यसले विषादीको मात्रा पनि भन्न सक्दैन । त्यो नभनुन्जेल हामीलाई त्यो विषादीले कति असर गर्छ भन्ने थाहा नै हुँदैन ।