भक्तपुरकी रामदेवी सिन्ताकल हातमा कु/तकुचा (कोदालो/कुटो) समाउँदै कालो माटोको ठूलो थुप्रोबाट अरु साना साना थुप्रा पार्दैछिन्। सँगै रहेकी तीर्थलक्ष्मी लागे साना थुप्रामा बाँडिएको कालो माटोलाई लाइनमा बसेका अरु महिलालाई पास दिँदैछिन्। लाइनमा बसेका महिलाहरु हात हातै कालो माटो एकले अर्कालाई दिन्छन्। लाइनको अन्तिममा रहेकी अष्टलक्ष्मी दुवाल कालो माटोलाई बालुवा बिछ्याइएको पोखरीमा मिलाउने काम गरिरहेकी छिन्।
२०७२ को भूकम्पपछि अस्तित्व नै मेटिने अवस्थामा पुगेको 'न्हू पुखु' अर्थात् रानी पोखरीको पुनर्निर्माणको दृश्य हो यो।
असारको मध्य बितिसक्दा पनि पानी पर्न सकेको छैन। घाम चर्केकै छ। तर चर्को घामले भक्तपुरे यी महिलालाई माटोसँग खेल्न रोक्न सकेको छैन।
सरकारले रानीपोखरीको पुनर्निर्माण कार्य काठमाडौं महानगरबाट खोसेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएपछि यसको निर्माणको शैली नै फेरिएको छ। महानगरले रानीपोखरीमा कंक्रिटको प्रयोग गरेर स्विमिङ पुल बनाउन लागेको भन्दै चर्को आलोचना भएपछि यसको जिम्मा प्राधिकरणलाई दिइएको थियो।
सम्बन्धि समाचार: रानीपोखरी पुनर्निर्माण: काठमाडौँ महानगरपालिका 'निकम्मा' साबित भएपछि भक्तपुरको हातमा आएको जिम्मेवारी
प्राधिकरणले गत फाल्गुनमा पोखरीलाई पहिलेकै अवस्थामा फर्काउन उपभोक्ता समिति गठन गर्यो र पानी अड्याउन भक्तपुरका दक्ष जनशक्तिलाई जिम्मेवारी दियो। भक्तपुरे महिलाले काम सुरु गरेपछि अहिले रानीपोखरी बन्ने लगभग निश्चित भएको छ।