नेपाली पुरुष क्यानडामा नर्स : पैसा र प्रतिष्ठा सँगसँगै

क्यानडामा नर्सिङमा कार्यरत् नेपाली नर्सहरू । तस्बिर : बीएल ।

जीउमा उज्यालो रङको स्क्रब । घाँटीमा स्टेथेस्कोप । केश छोप्न शिरमा क्याप । हातमा कलमसँगै कहिले प्रेस्क्रिप्सन त कहिले औषधि । बेला–बेला डाक्टरसँग छलफल । बिरामीको अवस्था हेर्दै रेखदेख । अस्पतालभित्र यता र उता ओहोरदोहोर ।

यस्तो हुलिया कसको हुन्छ ?

नर्सको ।

अनि नर्स को हुन्छ ?

महिला ।

बहुसंख्यक मानिसले नर्स शब्द सुन्नासाथ यसैगरी महिला भन्छन् । अर्थात्, नर्स भनेकै महिला । नर्सिङको पर्याय महिला । नेपालमा मात्रै होइन लैंगिक विभेद खासै नभएका देशमा पनि धेरैजसोले नर्सको नाम लिनासाथ आँखामा एक महिलाकै चित्र उतारिरहेका हुन्छन् ।

तर, जमाना सधैं एक रहेन । चुनौतिपूर्ण हुनाले पुरुषले रुचाउँदै आएका उड्डयन, इञ्जिनियरिङ, मेडिकल आदि पेशामा महिला सहभागिता बढेजस्तै नर्सिङतर्फ पनि पुरुषको आकर्षण बढ्दै छ । ‘महिला मात्रै आवद्ध’ झैं लाग्ने नर्सिङ पेशा अहिले पुरुषको पनि रोजाई बन्ने क्रम बढ्दो छ ।

क्यानडामा हाल कार्यरत ४ लाख ३१ हजार नर्समध्ये पुरुषको संख्या ९ दशमलव ५ प्रतिशत अर्थात् ३७ हजार हाराहारी छ । स्कुल लेभलको पढाई पूरा गरेपछि नर्सिङ कलेज धाउने पुरुष बर्षेनि बढ्दैछन् । नबढुन् पनि किन र ?, पढाई सक्नासाथ जागिर पाइने भएकाले यहाँ नर्सिङ सुरक्षित पेशा मानिन्छ ।

सुरक्षा मात्रै होइन, नर्सिङमा नाम, दाम र सम्मान तीनै कुरा छन् । जसको प्रभाव क्यानडाको नेपाली डायस्पोरासम्म फैलिएको छ । नर्सिङमा करिअर बनाउन चाहने नेपाली पुरुष थपिँदैछन् । नेपालबाट आएको पहिलो पुस्ताकै झण्डै एक दर्जन पुरुष क्यानडामा नर्सका रुपमा कार्यरत छन् ।

चक्रघट्टी सुनसरीका लिलानाथ पाण्डे क्यानडाका नेपाली पुरुष नर्समध्ये पुराना एक हुन्, जो ‘सिटी अफ टोरन्टो’अन्तर्गत पब्लिक हेल्थ डिपार्टमेन्टमा क्षयरोग कार्यक्रम हेर्छन् । पाण्डे नेपालकै पढाईले यहाँ नर्सको लाइसेन्स लिन सफल भएका हुन् भन्दा कतिपयलाई अनौठो लाग्नसक्छ ।

अनौठो मान्न पर्दैन । किनकि, पुरुषले नर्सिङ पढ्ने सुविधा नेपालमा कुनैबेला नौलो होइन । २०४३ सालदेखि नेपालमा पुरुषले पनि नर्सिङ पढ्न पाउने व्यवस्था थियो । त्यसले गति लिन नपाई बीचमै बन्द हुने र फेरि खुल्ने हुँदा नेपाली पुरुष नर्सका रुपमा बढी नचिनिएका मात्र हुन् ।

पाण्डेका अनुसार, त्यसबेला नेपाली नर्सिङ कलेजले कूल सिटमध्ये १० प्रतिशत पुरुष भर्ना लिन्थे । तर, चौथो ब्याचलाई भर्ना लिन नपाउँदै ‘अव्यवारिक देखियो’ भनेर तत्काललाई पुरुष नर्सिङ बन्द गरियो । पछि फेरि १५ प्रतिशत अटाउने गरी नेपाली नर्सिङ कलेजले पुरुष भर्ना लिई पढाउँछन् ।

बिराटनगर नर्सिङ क्याम्पसबाट ०४५–०४८ को ब्याचमा पढाई पूरा गरेपछि पाण्डे नेपालमै पुरुष नर्सका रुपमा कार्यरत रहे । जनस्वास्थ्य कर्मचारीका रुपमा मातृशिशु कार्यक्रम हेर्ने गरी आठ बर्षसम्म ‘पहिलो र एक्लो पुरुष नर्स’का रुपमा आफूले पूर्वी नेपालमा काम गरेको पाण्डे सम्झन्छन् ।

सुरुका तीन ब्याच सक्ने नेपाली पुरुष नर्स करिव एक सय जति भएको उल्लेख गर्दै पाण्डेले तीमध्ये आधाजसो नेपालमै र आधाजसो विदेशमा कार्यरत रहेको सुनाए । नर्सिङ सकेर राम्रा अस्पतालमा जागिर पाउँदासमेत बहुसंख्यकले आफूलाई नर्स भनेर चिनाउन लजाएको उनी सम्झन्छन् ।

नर्सिङ पेशाकै श्रीमती सरिता सुवदी र छोरासहित क्यानडा आएका पाण्डे ‘नर्सिङ भनेको महिलाको मात्रै’ भन्ने सोचले नेपालमा पुरुष नर्सले लाज भोग्नुपरेको ठान्छन् । ‘अब चाहिँ त्यस्तो नहोला, नर्सिङ अब महिलाको मात्र पेशा रहेन’ उनी भन्छन्, ‘क्यानडामा महिला पुरुष दुबै नर्सको उत्तिकै माग छ ।’

जगतपुर चितवनका श्याम श्रेष्ठ पनि पाण्डे जस्तै नेपालदेखिकै नर्स हुन् । संयोगै भन्नुपर्छ, काम पनि एकै ठाउँ अर्थात् ‘सिटी अफ् टोरन्टो’को क्षयरोग कार्यक्रममै गर्छन् । पोखरा नर्सिङ क्याम्पस पढेर प्रहरी अस्पतालमा काम गरेका उनले पछि महाराजगञ्ज नर्सिङ क्याम्पसबाट ब्याचलर गरेका हुन् ।

सन् २०१० मा क्यानडा आएका श्रेष्ठले ६ बर्षपछि लाइसेन्स लिएर नर्सिङ पेशालाई निरन्तरता दिएका हुन् । उनकी श्रीमती संगीता श्रेष्ठ पनि क्यानडामा नर्सिङ पेशामै छलन् । क्यानडा सरेपछि अरु नै केही गर्ने कि भन्ने सोचेर नर्सको लाइसेन्स लिन ढिला गरेका श्रेष्ठ अहिले भने खुशी छन् ।

‘नेपालमा संख्या थोरै संख्या भएर पुरुष नर्सबारे खासै थाहा हुँदैन, विदेशमा भने बर्षेनी संख्या बढ्दैछ’ नर्सिङलाई अब सधैं निरन्तरता दिने उल्लेख गर्दै श्रेष्ठ भन्छन्, ‘यता कुनै काम पनि यसले र उसले गर्ने भन्ने हुँदैन, कसले के भन्ला भनेर लजाउनुपर्ने त कुरै भएन ।’

कावासोती नवलपरासीका अचुत काफ्ले क्यानडामा नर्स भएको तीन बर्ष भयो । त्रिचन्द्र क्याम्पसबाट बीएससी र शंकरदेवबाट मास्टर्स सकेर नेपाल छँदा स्वास्थ र औषधि क्षेत्रका विभिन्न संघ-संस्थाको जिम्मेवार निकायमा काम गरेका काफ्ले हाल टोरन्टोस्थित ‘दि रिकाई सेन्टर’मा कार्यरत छन् ।

सन् २०१२ मा परिवारसहित क्यानडा आएपछि स्थानीय हम्बर कलेजको एउटा कोर्ष पूरा गरेर काफ्लेले क्यानडाको सम्बन्धित निकायबाट नर्स लाइसेन्स लिएका हुन् । अहिले पढाइअनुसारको काम, नाम र सम्मान सन्तोषजनकै रहेपनि उनी ‘अझ केही गर्न’ माथिल्लो तहको ‘रजिष्टर्ड नर्स’ पढ्दैछन् ।

‘नेपालकै पढाइले यहाँ लाइसेन्स लिएर काम गर्नसक्दा सजिलो हुन्छ, तर मैले उता नर्सिङ पढेको थिइँन’ काफ्लेले क्यानडा अनुभव सुनाए, ‘सुरुवाती दिनमा सर्भाइवल जब गर्दै पढ्न संघर्ष गर्नुपर्छ, नर्सिङ पढिसकेपछि काम ढिलो/छिटो राम्रै काम र दाम पाइन्छ, त्यो खुशीको कुरा छ ।’

बार्षिक ५० देखि ८० हजार डलरसम्म कमाई हुने क्यानडाको नर्सिङ क्षेत्रमा आफूलाई टिकाउन यहाँको सिस्टमबारे अपडेट भइराख्नु पर्छ । बिरामी र डाक्टरबीच सेतुका रुपमा भूमिका निर्वाह गर्नु त छँदैछ, नर्सिङको मर्म र महत्व बुझेर त्यसैअनुरुप आफूलाई अरुको सेवामा समर्पित गर्नु अर्को चुनौति छ ।

क्यानडामा नर्सिङ पढिसकेपछि अस्पताल, नर्सिङ होम वा केयर सेन्टरहरुमा बिरामीको उपचारमा खट्नै पर्छ भन्ने छैन । यो पेशाप्रति ईच्छुक विद्यार्थी धेरै भएकाले उनीहरुलाई ज्ञान र अनुभव दिन कलेज पढाउन सकिन्छ, स्वास्थ्यसम्बन्धी संघ- संस्थामा नीति नियम बनाउने गरी काम गर्न सकिन्छ ।

नवलपरासीमै जन्मेहुर्केका शिशिर पाण्डे त्यस्तै एक नर्स हुन् जो क्यानडा आएरै यो पेशामा लागे र अहिले यो पेशा अँगाल्न चाहनेलाई कलेज पढाइरहेका छन् । नेपालमै डिग्री गरेर आफैं कलेज सञ्चालन गरी अध्यापनसमेत गरेको अनुभव भए पनि क्यानडाको नर्सिङमा जम्न पाण्डेले कम्ती मेहनत गर्नुपरेन ।

सन् २०११ मा यता आएपछि किशोरवस्थामा झैं हाइस्कुल भर्ना भए उनी । गणित र विज्ञानमा अझ खारिने सोचेर र क्यानडाको शैक्षिक पद्धति के कसो हुँदोरहेछ भनेर प्रत्यक्ष अनुभव गर्न उनी त्यसरी हाइस्कुल भर्ना भएका थिए । जसको फाइदा अहिले नर्सिङ पढाउँदा प्रत्यक्ष/अप्रत्यक्ष अनुभव भइरहन्छ ।

‘घरमा एक जना नर्स भए परिवारका अरु सदस्यले काम नगर्दा पनि हुन्छ’ क्यानडामा नर्सको आम्दानीबारे पाण्डे उदाहरण दिँदै भन्छन्, ‘त्यसो भन्दैमा खालि बस्ने त कुरा हुँदैन, तर सामान्य कामको तुलनामा दोब्बरै आम्दानी हुन्छ ।’

पैसासँग मात्र तुलना गर्न नहुने पेशामध्ये नर्सिङ अगाडि आउने उल्लेख गर्दै पाण्डेले नर्समा सेवाको भाव हुनु जरुरी रहेको बताए । बिरामीको सेवामा २४ घण्टै पनि समर्पित हुनसक्ने, बिरामीका आफन्तलाई सान्तवना दिनेदेखि डाक्टरसँग बिरामीको कुरा बुझाउन जान्नु नर्ससँग नभई नहुने कुरा हुन् ।

स्कार्बरोस्थित ‘सिआइएमटी कलेज’ मा ‘पिएसडब्लु’ र नर्सिङ तयारी कक्षाका विद्यार्थी पढाउने पाण्डे टोरन्टोस्थित ‘दी ओनेइल सेन्टर लङ टर्म केयर’मा पनि कार्यरत छन् । सामाजिक काममा उत्तिकै रुचि राख्ने पाण्डे स्थानीय ‘स्पेक्ट्रम हेल्थ केयर’मा पनि बिरामीको रेखदेख गर्छन् ।

के रोगमा के औषधि दिने जस्ता यान्त्रिक कुरा मात्र होइन अवस्थाअनुसार नम्रता र कठोरता प्रदर्शन गर्नसक्नु नर्सका गुण हुन् । जीवनमरणको दोसाँधमा छटपटाइरहेका बिरामीद स्याहार्दा आफन्तजनबाट प्राप्त हुने आर्शिवचन अमूल्य भएजस्तै नर्सले सदैब पेशाको सम्मान गर्नुपर्ने पाण्डे सुझाउँछन् ।

नर्सिङमा महिलासँगै पुरुषको पनि रुचि बढ्नु क्यानडाको नेपाली डायस्पोराका लागि खुसीको कुरा हो । ‘नेपालीको संख्या थोरै हुँदा पेशामा विविधता थिएन, सीमित प्रगति गर्नेमात्र थिए’ एनआरएनए क्यानडाका पूर्वअध्यक्ष अनिल थापा भन्छन्, ‘अहिले त हरेक पेशामा थोरबहुत नेपाली छन्, नर्सिङ पनि महिलामा मात्र सीमित रहेन ।’

प्रकाशित मिति: : 2019-06-28 04:42:21

प्रतिकृया दिनुहोस्