अमेरिकी राष्ट्रपतिमा समलिंगी वुटिगिगको उम्मेदवारी

अमेरिकी राष्ट्रपति उम्मेद्वारका आकांक्षीमध्ये सबैभन्दा कान्छा हुन्- पिट बुटिगिग । गत अप्रिल १४ मा उनले राष्ट्रपतिको लागि आधिकारिक उम्मेदवारी घोषणा गरेका हुन् । अमेरिकाको मध्यपश्चिमी राज्य इण्डियानाको साउथ वेन्डका नगरप्रमुख बुटिगिगले २०११ देखि नगरप्रमुखको जिम्मेवारी सम्हालेका हुन् । यो उनको दोस्रो कार्यकाल हो । विशेष क्षमताका कारण ३० वर्ष नपुग्दै उनले यो जिम्मेवारी पाएका हुन्। हाल उनी ३७ वर्षका छन् । उनले साउथ वेन्डलाई एक सुन्दर सहरका रुपमा विकास गरेका छन्, जसले उनलाई राष्ट्रपतिको उम्मेदवार हुन प्रेरित गर्यो ।

अमेरिकी नाविक सेनाका लेफ्टिनेन्ट रहेर अफगानिस्तानमा काम गरेका वुटिगिगले त्यसो त केही वर्ष अघि डेमोक्रेटिक पार्टीको राष्ट्रिय कमिटीको अध्यक्षका लागि पनि उम्मेदवारी दिएका थिए तर उनले पछि सो दावी फिर्ता लिए । यसले पनि अमेरिकी राष्ट्रिय राजनीतिमा एक सशक्त नेताका रुपमा उनको गणना भएको देखिन्छ ।

बुटिगिग अमेरिकी राजनीतिमा अहिले चर्चाको केन्द्रमा छन् । उनी केन्द्रमा हुनुको मुख्य कारण चाहिँ के हो भने उनी लोग्नेमान्छे हुन् र उनले लोग्नेमान्छेसँगै विवाह गरेका छन् अर्थात् उनी समलिंगी हुन् । उनका श्रीमान् हुन् चास्टेन ग्लेजम्यान । ग्लेजम्यान माध्यमिक विद्यालयका शिक्षक हुन् । चुनाबी अभियानका क्रममा करिब एक महिनाअघि यी दुवै श्रीमान्-श्रीमती वोस्टन आएर मत मागेका थिए । त्यसो त अरु पनि थुप्रै स्थानमा यी दुवैको सक्रिय सहभागिता रहेको छ र अहिले डेमोक्रेटिक पार्टीको २० जना उम्मेदवारमध्ये उनी चौथो स्थानमा रहेको मत सर्वेक्षणले देखाएको छ । केही हप्ता अघि त उनी अझै योभन्दा पनि शीर्ष स्थानमा थिए ।

अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दिने उनी पहिलो डेमोक्रेटिक समलिंगी हुन् । यस अघि सन् २०१२ मा रिपब्लिकन पार्टीका तर्फबाट भलै फ्रेड कार्गेट उम्मेदवार बनेका थिए तर उनी वुटिगिग जति चर्चामा आएनन् । प्रत्येक दिनको जागरुकताले मात्र ठूलो सहर र देश पनि बन्छ भन्ने मान्यता बोकेका वुटिगिगले हालै मात्र एउटा पुस्तक पनि प्रकाशित गरेका छन् ।

एनी मोन्टेगोमेरी र जोसेफ बुटिगिगका सन्तान पिटको पूरा नाम पिटर पल मोन्टेगोमेरी बुटिगिग हो । एनी र जोसेफ माल्टाबाट अमेरिका आएका छिरेका हुन् । शिक्षित परिवारका सन्तान वुटिगिगकी आमा भाषाविज्ञ हुन् । उनले नोट्रे ड्याम कलेजमा करिब ३० वर्ष अध्यापन गरेकी थिइन् । हाडवर्ड विश्वविद्यालयबाट स्नातक र पेम्वर्क कलेज अक्सफोर्डबाट स्नातकोत्तर गरेका पिट सात-आठ भाषामा दखल राख्छन् । उनका समर्थकहरुले उनलाई एक शालीन युवाका रुपमा लिएका छन् र ट्रम्पभन्दा धेरै कुराले फरक भएको टिप्पणी गरेका छन् । अमेरिकी राष्ट्रपतिको लागि हुनुपर्ने सैनिक सेवाको अनुभव उनीसँग छ । २५ वर्ष यता कुनै पनि राष्ट्रपतिसँग यस किसिमको अनुभव नभएको उनीहरुको दाबी छ ।

ग्लेजम्यान र पिटको विवाह करिब एक वर्षअघि मात्र भएको हो । सन्् २०१५ देखि यी दुइबीच डेटिंग चल्दै आएको थियो । डेटिंग यापमा उनीहरुबीच भेट भएको हो । विवाह भएपछि उनका श्रीमान् ग्लेजम्यानले बुटिगिग थर नै प्रयोग गर्दै आएका छन् । अमेरिकाको सर्वोच्च अदालतले सन् २०१५ मा समलिंगी विवाहलाई मान्यता दिएको हो । त्यसै समय उनले आफू समलिंगी भएको जानकारी दिएका थिए । अमेरिकी समाजमा समलिंगीहरुको बढोत्तरी भएसँगसँगै सर्वोच्चले यो आदेश दिएको हो ।

यस अघिसम्म समलिंगी विवाहको कल्पना पनि गर्न नसकिने समाजमा एकाएक राष्ट्रपतिको उम्मेदवार नै समलिंगी देखापरेपछि अमेरिकी समाज खुल्लाबाट अझ खुल्लातर्फ अग्रसर भइरहेको देखिन्छ । अहिले अमेरिकी समाजमा उनको उम्मेदवारीलाई अरु उम्मेदवारसरह नै व्यवहार गरेको देखिन्छ न कि खिसीट्युरी । सन् २००६ सम्ममा सर्वेक्षणमा सहभागी आधाभन्दा बढी मानिसहरुले समलिंगी उम्मेदवारले देशलाई केही राम्रो गर्न नसक्ने प्रतिक्रिया दिएका थिए भने अहिले आएर यो प्रतिशत ७० मा पुगेको छ । यसले पनि अमेरिकी समाजमा समलिंगी होस् वा नहोस् त्यसले समग्र राजनीतिमा प्रभाव नपार्ने निष्कर्ष निकालेको छ । उनलाई खास समूहका मानिसको मत त पक्कै पनि जान्छ तर ठूलो जनमत भने जानसक्ने देखिन्न ।

वाइवल भन्छ समलिंगी विवाह पाप हो । अर्थात् समलिंगी विवाह वर्जित छ । उपराष्ट्रपति माइक पेन्सले सन् २०१६ को राष्ट्रपति निर्वाचनका क्रममा समलिंगीलाई अधिकार दिनुहुँदैन र यसले समाजमा विश्रृंखलता ल्याउँछ भनेर भाषण गरेको प्रति उनको तीव्र आक्रोश छ । उनलाई लक्ष्यित गर्दै बुटिगिग भन्छन्- 'म जे हुँ त्यसमा तिमीलाई समस्या छ भने त्यो मसँग होइन, सर, तिम्रो झगडा भगवानसँग हो ।' तर पेन्सले सो कुराको खण्डन गर्दै आएका छन् । उनको यो भनाइले के पुष्टि गर्छ भने भगवानले नै समलिंगी बनाउने हुन् मान्छे आफैले होइन । उनी क्रिस्चियन हुन् तथापि प्रारम्भिक चरणमा नै उनले पुरातनपन्थी क्रिस्चियनहरुकै आलोचना खेप्नुपर्ने मात्र होइन, चुनाबमा मत पाउनबाट पनि वञ्चित हुनुपर्नेछ ।

हालैका सर्वेक्षणमा अमेरिकी पूर्व उपराष्ट्रपति जो वाइडेन, समाजवादी नेता वर्नी स्यान्डर्स र म्यासाच्युसेट्सकी सिनेटर एलिजावेथ वारेन क्रमशः पहिलो दोस्रो र तेस्रो नंबरमा देखिएका र उनीहरुले अधिक रकम चन्दा संकलन गरिसकेका कारण पनि यी तीनमध्ये एकको पक्षमा जनमत आउने लगभग पक्का देखिन्छ । अमेरिकी समाज जतिसुकै खुल्ला भए पनि बाइवलको इथिक्सभन्दा बाहिर जानसक्ने देखिन्न । यो निर्वाचनमा त्यसो त एकजना बाहेक सबैजना क्रिस्चियन धर्ममा आस्था राख्ने व्यक्ति नै छन् ।
उनका चुनाबी एजेन्डा पनि अरुका जस्तै सामान्य नै छन् । सबैका लागि स्वास्थ सुरक्षा, असमान आम्दानीलाइ हटाउने, वातावरणलाई नीतिगत रुपमा सुधार गर्ने र पेस्तोल, बन्दुक तथा जघन्य किसिमका हातहतियार किन्नका लागि व्यक्तिको वैयक्तिक चरित्र असल हुनुपर्ने जस्ता एजेण्डाभित्र समलिंगी हक र अधिकारका कुरा पनि छन् । उनले स्वतन्त्रता, देशको सुरक्षा र प्रजातन्त्रको पनि सुधारका पक्षमा आफ्नो प्रयास रहने बताएका छन् ।

वुटिगग र ग्लेजम्यानबीच घरमा आआफ्नै किसिमको कार्य विभाजन छ । बुटिगिग भाडा वर्तन सफा गर्छन्, लन्ड्री गर्छन् र घरमा जम्मा भएको फोहोर बाहिर निकाल्छन् भने ग्लेजम्यानले बाँकि वक्यौता तिर्छन्, किनमेलका लागि बजार जान्छन् र खाना पकाउँछन् ।

अमेरिकी मतदाताहरुले उनलाई मत देलान् वा नदेलान् यो करिब दुइ वर्षपछि नै थाहा होला तर अहिलेको स्थितिमा भने उनले प्रारम्भिक चरणको स्थिति पार गर्न पनि कठिनाइ हुने लगभग पक्का छ ।

प्रकाशित मिति: : 2019-06-27 21:42:18

प्रतिकृया दिनुहोस्