देशको राजनीतिमा हामी हाम्रो पार्टीको भूमिका खोजी गरिरहेको छौँ । पार्टीको भूमिका भन्दा पहिले हामी सबैले देशको राजनीतिक परिस्थितिलाई कसरी ठम्याइरहेका छौँ, कसरी ठम्याउँछौँ ?
एकातिर विप्लव समूहको नाममा भएका घटनाको साछी हामी आफै छौँ । अर्कोतिर हामी पूर्वराजाको गतिविधि पनि हेरिरहेका छौँ । नेपालभन्दा बाहिर छरछिमेकमा वा त्योभन्दा बाहिर पनि सुदूर छिमेकमा भएका घटनाक्रमहरुलाई पनि नजिकबाट नियालिरहेका छौँ ।
हामीले यो संविधानअनुसार भएको निर्वाचनबाट निर्वाचित सरकारले अधिनायकवादी चिन्तन, सोच, शैली र व्यवहार देखायो भनिरहेका छौँ । यो सबै कुराका आधारमा नेपालको राजनीतिक परिस्थिति ठ्याक्कै आफ्नो आँखाबाट हेर्दा कस्तो देख्छौँ त ? मलाई यसका निम्ति केही पछाडि फर्कनुपर्छ भन्ने लाग्छ ।
विगतबाट वर्तमानको मूल्याङ्कन
०५८–५९ सालतिर फर्कनुपर्ने हुन्छ । जतिखेर एकातर्फ माओवादी थियो, अर्कोतर्फ तत्कालीन अवस्थामा नयाँ राजा बन्नुभएका ज्ञानेन्द्र शाहाको निरङ्कुश शासनको लालसासहित भएको असोज १८ को कदम देखे भोगेका हौँ । दुवैतिरको मन र स्वभाव उस्तै थियो । प्रजातान्त्रिक सरकार, प्रजातान्त्रिक सत्ता, प्रजातान्त्रिक विचार र प्रजातान्त्रिक स्पेसलाई निलेर राजा पनि सत्ता निर्माण गर्न चाहन्थे । त्यस्तै माओवादी पनि आफ्नो सत्ता निर्माण गर्न चाहन्थे । त्यो बेला नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइराला हाम्रै बीचमा हुनुहुन्थ्यो । श्रद्धेय नेता कृष्णप्रसाद सिटौलालगायतका नेताहरुको साथ पनि थियो ।