सुर्खेत - कर्णाली प्रदेशसभाको बैठक असार ११ गतेसम्मका लागि स्थगित भएको छ ।
आइतबार बजेटको छलफलमा मुख्यमन्त्री उपस्थित नभएको भन्दै नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक ११ गते दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिएको हो । नेपाली कांग्रेसका सांसदहरुले मुख्यमन्त्री उपस्थित नभए बैठक बस्न नदिने अडान राखेपछि बैठक स्थगित भएको हो ।
बैठकको सुरुमै आर्थिक बर्ष २०७६-७७ को बजेटमाथि छलफलका लागि सभामुख राजबहादुर शाहीले नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई समय दिनुभएको थियो । नेता शाहीले बजेटजस्तो महत्वपूर्ण विषयमा मुख्यमन्त्री उपस्थित नभएसम्म छलफलमा सहभागी नहुने भन्दै विरोध गर्नुभएको थियो ।
लगत्तै नेपाली कांग्रेसका सबै सांसदहरुले उठेर विरोध जनाएका थिए । नेता शाहीले बजेटजस्तो महत्वपूर्ण बिषयको छलफलमा मुुुख्यमन्त्रीले ध्यान नदिएको आरोप लगाउनुभयो ।