नेपाली बजारमा सुनको भाउले महंगीको नयाँ कीर्तिमान बनाएको छ । बिहिबार मात्र तोलाको ६४ हजार पुगेर बनेको कीर्तिमान आजै भंग भएको छ । हिजोभन्दा तोलमा एकहजार बढेर सुन तोलाको ६५ हजारमा कारोबार भैरहेको छ ।
यसअघि बुधबार तोलाको ६३ हजारमा कारोबार भएको सुन दुई दिनमै दुईहजार बढेर ६५ हजारमा पुगेको हो ।
नेपाल सुन चाँदी ब्यवसायी महासंघका अनुसार एक सातामा सुनको मूल्यमा पाँच हजारले वृद्धि भएको हो ।
आखिर नेपाली बजारमा सुनको भाउ किन यसरी आकासियो त ? ‘अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔस ३६ अमेरिकी डलरले बढेर एकहजार तीनसय ९० अमेरिकी डलर पुगेको छ । यसैको असर नेपालीमा बजारमा परेको हो, नेपाली सुनचाँदी ब्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरतन शाक्य भन्छन्
तर, नेपालको सुनचाँदी बजारका बारेमा जानकारी राख्ने एक अर्थविद भन्छन्- अन्तर्राष्ट्रिय बजारमा केही भाउ बढेर पनि नेपालमा सुनको भाउ बढेको हो । तर, त्योभन्दा पनि बढी नेपालमा तस्करीको सुनमा कडाइ हुने बित्तिकै दुई नम्बरी बजारमा सुनको अभाव हुँदा सुनको भाउ बढ्ने गर्छ । '
उनले सुनको दुई नम्बरी बजार भनेर नेपालबाट भारततिर हुने सुन तस्करीलाई इंगित गरेका हुन् । उनी भन्छन्- 'भारतमा नेपालमा भन्दा सुनको भाउन महंगो छ । जबसम्म नेपाल र भारतमा सुनको भाउ समान हुदैन तबसम्म यो दुई नम्बरी बजार चल्छ र नेपालमा अस्वभाविक रूपमा भाउ बढिरहन्छ ।'