डा. हल्डरको प्रतापले नै यो जगतमा म जिउँदो छु

तस्बिरः बाह्रखरी

आज पनि वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी (७२) चार व्यक्तित्वप्रति सदैव नतमस्तक हुन्छिन् । उनको जीवनलाई आजसम्म सफलताका साथ डोर्याउनमा चार पुरुषहरूको प्रत्यक्ष प्रभाव रह्यो । 
ती चारै व्यक्तित्वका कारण आफू सुभद्रा अधिकारी भएको उनको तर्क छ । त्यसैले पनि उनका निमित्त यी चारै श्रद्धेय छन् । ती चार व्यक्तित्व हुन्, डा. सुशील हल्डर, उस्ताद बद्रीप्रसाद, ससुरा विष्णुप्रसाद अधिकारी र नाट्यकार बालकृष्ण सम ।

आज सुभद्रा अधिकारी जिवीत रहनुको मुख्य कारण हो, डाक्टर सुशील हल्डरकै सत्प्रयास ।

उनी जन्मिनु पाँच दिनअघि । गाइजात्राको दिन थियो । सुभद्राकी आमा गायिका नूरा देवी असनस्थित घरको बार्दलीमा उभिएर गाइजात्राको रौनक हेर्दै थिइन् । हठात् उनी बेहोस भइन् ।

त्यसबेला सुभद्रा नुरा देवीको पेटमै थिइन् । गाईजात्राका दिन बेहोस भएकी उनकी आमा चार पाँच दिनसम्म बेहोस नै रहिन् । उनलाई उपचारका लागि अस्पताल लाने वा डाक्टर बोलाउने काम गरिएन ।
पाँचौं दिनको दिन आमाको बेहोसीमै उनको जन्म भयो । उनी आफ्नै बलले जन्मिन् ।

तर आमाको पेटभित्र रहेको शिशु, आफ्नै बलले मात्रै जन्मिँदा शिशुको अवस्था नाजुक भयो । शिशुको शरीर निलो भइसकेको थियो । भर्खरै जन्मिएको शिशु अर्थात् उनलाई देखेर कसैले पनि उनी बाँचेको आशा गरेनन् । 

त्यहाँ रहेकाहरूमध्ये कसैले यो बच्ची मरी भनेर एउटा थाङ्नो कपडामा बेरेर छेउमा राखिदिए । र उनकी आमा नूरा देवीको उपचारमा लागे । बंगाली डाक्टर हल्डर महाबौद्धस्थित वीर अस्पताको क्वार्टरमा बस्थे । उनका पिताजीसँग डाक्टर हल्डरको राम्रो सम्बन्ध थियो । उनलाई बोलाइयो । केही बेरपछि डाक्टर हल्डर आए । उनले आएर नूरा देवीलाई जाँचेर औषधी दिए । 

अनि डा. हल्डरले ‘बच्चा खोइ ?’ भनेर सोधे । 

बच्चा त समय मिलेपछि गाड्न लैजाने भनेर छेउमा राखिएको थियो । बच्चालाई ल्याएर डा. हल्डरका अगाडि राखियो । हल्डरले स्टेथेस्कोप लगाएर जाँचे । अनि भने ‘कहाँ मर्नु यो बच्ची ! यिनको सास चलिरहेको छ । बच्ची जिउँदै छिन् ! लौ, तातो पानी ल्याउनुस् ।’ 

त्यसपछि डा. हल्डरले उनलाई मनतातो पानीमा डुबाए । खुट्टामा समाएर झुण्ड्याउँदै पिठ्युँमा थपथपाए । यो क्रम पटकपटक चल्यो रे । त्यसपछि उनी सामान्य अवस्थामा आइन् । उनकी आमा पनि बेहोसीबाट ब्यूँझिन् । अनि आमाको दूध खान थालेपछि उनी तङ्ग्रीदै गइन् ।

प्रकाशित मिति: : 2019-06-20 12:33:28

प्रतिकृया दिनुहोस्