भारतीय लोकसभामा पहिलोपटक गुञ्ज्यो 'जय गोर्खा' को नारा (भिडियोसहित)

मणिपुरे नेपाली राजु सिंह विष्ट जसले लोकसभा सदस्यको सपथ लिदै भने- जय गोर्खा, जय श्रीराम । फाइल तस्बिर

भारतीय लोकसभामा पहिलोपटक जय गोर्खाको नारा गुञ्जेको छ । लोकसभामा नेपाली भाषामा सपथ लिदै दार्जिलिङ क्षेत्रबाट विजयी मणिपुरे नेपाली राजु विष्टले सपथपछि जय गोर्खाको नारा गुज्जाएका हुन् । शिरमा नेपाली ढाका टोपी ढल्काएका विष्टले जय गोर्खासँगै जय श्रीरामको नारा पनि घन्काए । 

भारतको लोकसभामा धेरै वर्षपछि नेपाली भाषामा सपथ लिने क्रममा यस्तो नारा गुञ्जेको हो  ।  सांसद राजु विष्टले मात्र हैन, अर्का नेपालीभाषी सांसद इन्द्रहाङ सुब्बाले पनि नेपाली भाषामै सपथ लिए ।  विष्ट भारतीय जनता पार्टी (भाजपा) बाट र सुब्बा सिक्किम क्रान्तिकारी मोर्चाबाट लोकसभा सदस्यमा विजयी भएका हुन् ।

म राजु विष्ट लोकसभाको एकजना सदस्यका रूपमा निर्वाचित भएको हुनाले ईश्वरका नाममा सपथ लिन्छु कि विधिद्वारा स्थापित भारतको संविधान प्रति निष्ठापूर्वक दृढ विश्वास गर्नेछु । अनि भारतको प्रभुसत्ता अनि अख्णडताको रक्षा गर्नेछु । तथा जुन पदमा म प्रवेश गर्नेछु त्यसको कर्तव्यको म विश्वासपूर्ण पालन गर्नेछु । जय हिन्द, जय गोरखा , जय श्रीराम । 

यसपटक लोकसभा सदस्यमा विजयी तीन सांसदमध्ये भाजपाकी अर्की सांसद माला राज्यलक्ष्मी शाहले अंग्रेजीमा सपथ लिएकी हुन् । उनी भारतको नेपालीभाषी क्षेत्र देहरादुनसमेत रहेको उत्तराखण्डको तेहरी गढवाल क्षेत्रबाट लोकसभा सदस्यमा विजयी भएकी हुन् । 

मणिपुरे नेपाली सांसद विष्ट भने ढाकाटोपी र दौरासुरुवाल पहिरिएर संसद् पुगेका थिए। उनले संसदभित्रै पहिलोपटक ‘जय गोर्खा’ को नारासमेत लगाए । 

यसअघि सन् १९९६ मा दार्जिलिङबाटै सांसद बनेका आरबी राईले पहिलोपल्ट नेपाली भाषामा शपथ ग्रहण गरेका थिए। भारतमा सन् १९९२ अगष्ट २० मा नेपाली भाषाले भारतीय संविधानको आठौं अनुसूचीअन्तर्गत मान्यता प्राप्त भएको हो ।

 
प्रकाशित मिति: : 2019-06-20 09:35:22

प्रतिकृया दिनुहोस्