सुशीलाकुमारी यादवले २०७१ सालमा नेपालगञ्ज मेडिकल कलेजबाट एमबिबिएस गरिन्। त्यसपछि कामको खोजीमा काठमाडौं आइन्।
कामको खोजीसँगै एमडी गर्ने उनको उद्देश्य थियो। दुबै सम्भावना खोजेर राजधानी छिरेकी थिइन्, उनी।
सम्पन्न पारिवारिक पृष्ठभूमिकी यादवलाई एमडी गर्न पैसाको समस्या थिएन। एमबिबिएस सकेपछि चिकित्सकको व्यावहारिक अभ्याससँगै पेसाबाटै एमडी पढ्ने उनको चाहना थियो।
‘थप पढाइको दायित्व आफैं लिने उनको मनोकांक्षा थियो। यस मामलामा परिवारको आर्थिक सहयोग होइन, आफ्नै मेहनतलाई प्राथमिकतामा राखेकी थिइन्,’ यादवका बुवा दयानारायणले भने।
२८ वर्षीया यादवले चाहेजस्तै हुँदै पनि गइरहेको थियो। २०७२ सालमा सिभिल अस्पतालमा काम गरिरहेकी थिइन्।
यसैबेला लोकसेवा खुल्यो। सरकारी चिकित्सक हुन पाए झनै सहज हुने ठानेर यादवले जाँच दिइन्। नाम निस्कियो। सरकारी स्वास्थ्यकर्मीको रूपमा उनको सेवा प्रवेश भयो।
सरकारी नोकरी पाएको खुसी राम्ररी बाँड्न नपाउँदै सुशीलाको स्वास्थ्यमा उतारचढाव सुरू भयो।
२०७३ सालमा सरकारी सेवामा प्रवेशकै क्रममा उनी बिरामी पर्न थालिन्। आमाशयमा क्यान्सर रहेको पुष्टि भयो।