अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नाममा इजरेल अधिनस्थ गोलन हाइट्समा 'ट्रम्प हाइट्स' नामको बस्ती बसाइने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गोलन क्षेत्रमा इजरेली सम्प्रभुतालाई मान्यता दिएकाले सो बस्तीको नाम नै उनको नाममा राखिएको हो ।
इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पको नाम तथा अमेरिकी र इजरेली झण्डा अङ्कित सङ्केतचिह्नको उद्घाटन गरेका छन् । ट्रम्पले अमेरिकाको गोलनसम्बन्धी पुरानो नीति उल्टाइदिएपछि गत एप्रिल महिनामा इजरेलका प्रधानमन्त्रीले ट्रम्पको सम्मानमा नयाँ बस्ती बनाउने घोषणा गरेका थिए।
बस्तीको साइनबोर्ड उद्घाटन गर्दै नेतान्याहुले ट्रम्पलाई इजरेलको मित्र भनेर प्रशंसा गरे । उनले यो दिनलाई ' ऐेतिहासिक दिन ' भएको पनि बताए ।
ट्रम्प हाइट्स सिरियाको राजधानी दमास्कसबाट ६० किलोमिटर दक्षिणपश्चिममामा उत्तरी गोलन हाइट्सको केलानजिकै बनाउन लागिएको छ ।
गोलन हाइट्स एक विवादास्पद भूमि हो । इजरेलले सन् १९६७ मा सिरियाबाट खोसेको गोलन क्षेत्रलाई सन् १९८१ मा आफ्नो देशमा गाभेको थियो। तर त्यो कदमले अन्तर्राष्ट्रिय मान्यता पाएको थिएन। गत मार्च महिनामा इजरेली घोषणालाई मान्यता दिएर गोलन हाइट्समा इजरेलको स्वामित्व स्वीकार्ने अमेरिका पहिलो राष्ट्र बनेको थियो ।