साबिक विजेता चिलीले कोपा अमेरिका फुटबलमा उत्कृष्ट जितसहित शानदार सुरूवात गरेको छ।
दक्षिण अमेरिकी फुटबलको उत्सवका रुपमा लिइने कोपा अमेरिका अन्तर्गत समूह सी मा रहेको चिलेले आमन्त्रित एसियाली टिम जापानलाई ४-० को फराकिलो अन्तरमा हराउँदै प्रतियोगितामा शानदार सुरूवात गरेको हो।
चिलीको जितमा एडुएर्डो भार्गासले २ गोल गर्दा एरिक पुल्गर र एलेक्स सान्चेजले १-१ गोल गरेका थिए।
खेलको ४१ औं मिनेटमा पुल्गरले गोल गर्दै चिलीलाई सुरूवाती अग्रता दिलाएका थिए।
पहिलो हाफमा १–० ले अघि रहेको चिलीले दोस्रो हाफमा थप ३ गोल गर्दै शानदार जित निकाल्न सफल भयो।
खेलको ५४ औं मिनेटमा भार्गासले गोल गर्दै अग्रता दोब्बर पारे। ८२ औं मिनेटमा सान्चेजले गोल गर्दै अग्रता तेब्बर पार्दा त्यसको १ मिनेट पछि भार्गासले व्यक्तिगत दोस्रो गोल गर्दै चिलीलाई ४–० ले सहज जित दिलाए।
यो जितसागै चिली समूहको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल जितेको उरूग्वे पनि समान तीन अंकसहित दोस्रो स्थानमा छ। इक्वेडर र जापान भने सुरुका खेलमा पराजित हुँदै पुछारमा छन्।