कति उखरमाउलो यो गर्मी , विराटनगर नै भयो काठमाण्डू पनि !

काठमाण्डूको गर्मीको उखरमाउलो छेल्न पौडी पोखरीमा अभिनेत्री पूजना प्रधान । तस्बिर : पूजना ।

असार लागिसकेको छ काठमाण्डूमा तर पानी पर्न सकेको छैन । गर्मी भने अचाक्ली बढेर उखरमाउलो भएको छ । 

जल तथा मौसम विभागले सार्वजनिक गरेका केही दिनयताका मौसम विवरण हेर्दा तराईका कतपिय शहर र काठमाण्डू उपत्यकामा तापक्रम उस्तैउस्तै पाइएको छ।

शनिवार काठाण्डूको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियसम्म हुँदा विराटनगरको तापक्रम ३४.५ डिग्री सेल्सियस मात्र थियो।

काठमाण्डूमा विगत केही वर्षदेखि हरेक वर्ष गर्मी बढेको महसुस उपत्यकाबासीले गर्न थालेका छन् । काठमाण्डू महाराजगञ्जकी पदमा पौडेल भन्छिन्-'गर्मी यति धेरै बढेको छ कि मलाई झापाको चन्द्रगढी जस्तै लाग्न थाल्यो काठमाडोैं पनि ।' पूर्वी पहाडको ताप्लेजुङमा जन्मेकी उनी चन्द्रगढी झापा हुँदै काठमाडोैं आएकी हुन् । उनी अगाडि थप्छिन्- 'काठमाडोैं बस्न थालेको १५ वर्ष भैसक्यो । यतिका गर्मी यसअघि कहिल्यै भएको थिएन ।'

काठमाण्डूको उखरमाउलो गर्मीबाट बच्न यहाँका स्विमिङ पुलमा मानिसको भीड देखिन थालेको छ । परिवारका सदस्यका साथ बानेश्वरको भीमसेनगोलास्थित वानेश्वर स्पा स्विमिङ पुलमा आएकी चन्दा श्रेष्ठ भन्छिन्- ' नानीहरू गर्मीले चिच्याउन थाले । त्यसैले स्विमिङ पुलमा आएको । हेर्नहोस् त स्विमिङ पुलमा खुट्टा राख्ने ठाउँ नै छैन ।' 

स्विमिङ पुलको क्षमताभन्दा धेरै मानिस पसाएको बताउँदै उनले भनिन्- ' स्विमिङ पुलका मानिसलाई पैसा भए भैहाल्छ । अनुगमन गर्ने सरकार नै छैन । जहाँ गए पनि ठगिनु नेपालीको नियति नै भैसक्यो ।'

'काठमाण्डूमा उखरमाउलो गर्मी बढ्नुको मुलकारण जलवायु परिवर्तन र बढ्दो शहरीकरण नै हो', वरिष्ठ  मौसमविज्ञ सन्तोष शर्मा भन्छन् । उनका अनुसार  विगत ४० वर्षयता काठमाण्डूमा मनसुनपूर्व र मनसुनका बेलामा अधिकतम तापक्रम बढ्दै गएको पाइन्छ । हरेक वर्ष ०.४५ डिग्री सेल्सियसको दरले तापक्रम बढेकै छ ।

'गत वर्षकै तुलनामा यसपटक गर्मी बढेको अनुभव गर्नुमा चाहिँ काठमाण्डू उपत्यकामा बढ्दो शहरीकरण नै हो', वरिष्ठ मौसमविज्ञ शर्मा भन्छन्- 'न हरियाली छ, न त भेन्टिलेसन राखेर हावा वारपार हुने गरि घर बनाइन्छ। बिनायोजना कंक्रिटको जंगल बनाएर काठमाण्डूलाई मानिस बस्न लायक नै नहुने बनाइसकिएको छ ।'

शर्माका अनुसार काठमाण्डूमा गएको ४० वर्षयता सबैभन्दा बढी अधितकतम तापक्रम सन् १९८९ मे ७ तारिखमा पुगेको छ । त्यो दिन दिन काठमाण्डूको तापक्रम ३६.६ डिग्री सेल्सियस रेकर्ड भएको छ । 

 

प्रकाशित मिति: : 2019-06-17 00:04:20

प्रतिकृया दिनुहोस्