थाइल्याण्डको राजनीतिमा ठूलो प्रभाव रहेको सिनावात्रा परिवारको पार्टीलाई अदालतले विघटन गरिदिएको छ।
देशका पूर्वप्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यीङ्लक सिनावात्राको थाई रक्षा चार्ट नामक पार्टीलाई अदालतले बिहीबार विघटन गरिदिएको अधिकारीहरुले बताएका छन्।
पूर्वनिर्धारित कार्यतालिका अनुसार आम निर्वाचनका लागि मतदान गर्ने दिन आउन एक साता बाँकी रहँदा अदालतले सो पार्टी विघटनको फैसला गरेको हो।
राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेर पार्टीले अवैध र गलत काम गरेको भन्दै अदालतले विघटन गरिदिएको बताइएको छ।
संवैधानिक अदालतका नौ सदस्यले सर्वसम्मत सो पार्टी विघटन गर्ने निर्णय गरेको समाचारमा जनाइएको छ।
थाइल्याण्डकी राजकुमारी उबोलरत्ना महिडोलले केही साता अगाडि रक्षा चार्टबाट उम्मेदवार बन्ने घोषणा गरेकी थिइन्।
प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गरेकी राजकुमारीलाई निर्वाचन आयोगले उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेको थियो।
उनले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उनका भाई तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीको घोषणाप्रति असन्तुष्टि जनाएपछि आयोगले उनलाई अयोग्य घोषणा गरेको हो।
राजपरिवारका सदस्य दलीय र सक्रिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाई अनुसार ६७ वर्षीया राजकुमारी महिडोललाई आयोगले अयोग्य घोषणा गरिदिएको थियो।
थाइल्याण्डमा राजसंस्थालाई उच्च सम्मानका साथ पवित्र संस्थाका रुपमा हेरिने भएकाले राजसंस्थाको आसयलाई पालना गरेको पाइन्छ।
राजाकै आसय र असन्तुष्टिलाई ध्यानमा राखेर निर्वाचन आयोगले राजकुमारी महिडोललाई निर्वाचनमा सहभागी नगराउन अयोग्य घोषणा गरेको अधिकारीहरुले बताएका छन्।
आफ्ना भाइको असन्तुष्टि र निर्वाचन आयोगले अयोग्य घोषणा गरेपछि राजकुमारी उबोलरत्नाले पनि क्षमा माग्दै आफू उम्मेदवार बन्ने बताएकी थिइन्।
यसरी राजपरिवारलाई विवादमा तानेको र गलत राजनीतिक चलखेल गरेको भन्दै रक्षा दललाई निर्वाचनमा भाग लिन नपाउने गरी बन्देज लागेको हो।
थाइल्याण्डमा यही मार्च २४ तारिखमा आम निर्वाचन हुन लागेको छ। अदालतले सिनावात्रा परिवारका दुई सदस्यसहित सो पार्टीका केही नेताहरुलाई एक दशक सम्म राजनीतिमा प्रतिबन्द पनि लगाएको छ।